अनन्तकालसम्म सेक्सबिना जीवन चल्दैन: गीतकार एकनारायण भण्डारी

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७१, बुधबार

काठमाडौं, १० बैशाख । गीतकार एकनारायण भण्डारी आजभोलि चल्तीको नाम हो । स्याङ्जाको गेजामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका भण्डारीले धेरै गीत लेखे धेरै संगीत गरे र केही गीत आफैंले पनि गाए । आजभोलिको बजार अनुसार उनी पनि चल्न थालेका छन् अर्थात् प्रेम र सेक्सको कुरामा उनी अलि उदार देखिएझैं लाग्छ । त्यसो त उनी आफ्ना गीतहरु पनि पाइरेसी हुने गरुन् भन्ने उद्देश्य राख्छन् । उनीसँग म्यूजिक खबरका लागि नारायण ढकालले गरेको अन्तरर्वार्ता यस प्रकार रहेको छ :

तपाईंको परिचय कसरी दिनुहुन्छ ?
मेरो परिचय त म एउटा गीतकार हुँ । तर म आफूलाई एउटा संगीतकर्मी भन्न रुचाउँछु । व्यवसायिक रुपमा पनि र म संगीत व्यवसायबाट बाँच्ने व्यक्ति भएकाले पनि एउटा संगीतकर्मी हुँ ।
स्याङ्जाबाट काठमाडौं आएर संघर्ष गरेर कलाकारितामा स्थापित हुन कति गाह्रो रहेछ ?
मलाई गाह्रो परेन बरु दुःख सिकायो काठमाडौंले । गाउँमा म मेहनत गर्थें त्यो मेहनतले काठमाडौंमा संघर्ष गर्न सिकायो । काठमाडौं एउटा खाल्डो हो, यो खाल्डोमा लाखौं मान्छेहरु बस्ने गर्छन् । यहाँ टिक्न र बिक्न गाह्रो पर्छ भन्नेहरु धेरै छन् त्यो हिसाबमा मलाई गाह्रो भएको महसुस छैन । भोलिको दिनमा पनि यसरी नै निरन्तर लागेर सफलता चुमिरहन पाउनेछु भन्ने विश्वास छ ।
हाम्रो जस्तो देशमा संगीत क्षेत्रमा मात्र लागेर बाँच्न सकिन्छ ?
पहिला निकै गाह्रो थियो । हाम्रो देशमा संगीतलाई हावापानीका रुपमा लिइन्छ । जसरी हावापानी बिना हामी बाँच्न सक्दैनौं, तर हावा फ्रीमा पाइन्छ, पानीलाई किन्न पर्छ ।  त्यस्तै संगीत पनि फ्रीमा सुन्ने चिज बनिसकेको छ । पहिला किनेर सुन्न पाइन्थ्यो अहिले फ्रिमा सुन्ने बानी परेको छ । तर एक समयमा केही मान्छेहरु यसै पेशामा लागेर बाँच्ने दिन आउँदोरहेछ । हिजो म आफैंलाई बाँच्न गाह्रो थियो भने म अहिले आफैं संगीत क्षेत्रबाट बाँचिरहेको छु । धेरै स्रष्टाहरु हुनुहुन्छ कुनै बेलामा कोही बाँच्ने गर्छन् त कुनै बेला कोही । विशेषगरी पहिला रचनाकार बाँच्न गाह्रो थियो अहिलेचाहिँ रचनाकारलाई पनि केही हदसम्म सजिलो भएको छ ।
हाम्रो गीतसंगीतको बजार पाइरेसीले डुबायो भनिन्छ, यसको निराकरण कसरी गर्न सकिन्छ ?
चोरी पाइरेसीको बजार त छ तर म भन्छुकी मेरो गीत पनि सबै चोरी पाइरेसी होउन् । किनकी विकल्प नै छैन । एउटा स्रष्टाको गीत कसरी दर्शकले सुन्ने त ? यहाँ रोएर कराएर कुनै फाइदा नै छैन । हाम्रो देशमा गरिबी, प्राविधिक कमजोरी, इन्टरनेटको पहुँच सबैमा छैन । नत्र ठाउँठाउँमा डाउनलोड सर्भर राखेर पाइरेसीलाई कम गर्न सकिन्थ्यो । नेपालमा राजनीतिक खिचनातीले गर्दा त्यो विकास सम्भव नै छैन ।

eknarayan 1
सर्जकको मेहनत र लगानी त बालुवामा पानी हालेजस्तो भयो होइन र ?
कलाकार भनेको एउटा सर्जक हो । जसले सिर्जना गरेका गीतसंगीत दर्शक श्रोताले सुनिदिएन भने हामीलाई छटपटि हुन्छ । बिक्री गर्ने माध्यम छैन त किन जबर्जस्ती अडियो, भिडियो बजाउनुपर्छ भन्न सकिन्न । म भन्छु जसरी हुन्छ गीतसंगीत सुन्नुस् । हाम्रो मुलुकमा पनि विदेशी संस्कृतिको प्रभाव परेको छ, भोलि हाम्रो संस्कृति नै हराएर जाला भन्ने भइसकेको छ । त्यसैले पनि जसरी तपाईंले हाम्रो सिर्जना सुन्न सक्नुहुन्छ त्यसरी नै सुन्नुस् ।
अहिले मिडियाको सपोर्ट कत्तिको छ कलाकारितामा ?
यसमा दुईवटा पार्ट हुन्छ । सुरुमा सपोर्ट नगरी नहुने र स्थापित भइसकेपछि मिडिया पनि पछि लाग्ने । म त त्यतिधेरै मिडियाप्रेमी हुन पनि सकिनँ । हजारौं कलाकारको जन्म हुन्छ र मिडियाले को राम्रो नराम्रो छुट्याउन सक्दैनन । मिडिया पनि व्यवसायका लागि खोलिएको हुन्छ त्यसबाट धेरैले रोजगारी पाइरहेका छन् भने मिडियालाई पनि म दोष लगाउन चाहँदिनँ ।
एकनारायण भण्डारी रमाइलो मान्छे हुनुहुन्छ रे, केटी साथीहरु त धेरै नै होलान् नि ?
यस्तो मैले महसुस गर्न पाएको छैन । मान्छेको जीवन हो, सधैं एकनाश हुँदैन । मेरो पनि भावना छ, अरुको पनि भावना हुन्छ । कसैले के देख्छ मैले के देख्छु । केटी भनेको बाटोमा पैसा खसेछ भनेर एक दुई रुपैयाँ भेटिएजस्तो हो भन्ने गर्छन् तर मेरो खोजाइमा त्यो परेन । मैले त्यो देखेकै छैन । म तिमी बिना बाँच्न सक्दिनँ तिमी मेरो जीवन हौ भन्ने अनुभव गरेकै छैन ।
प्रेम विवाह की मागी विवाह ?
मेरो प्रेम विवाह तर लोक पप भनौं । सांस्कृतिक प्रेम विवाह गरियो । प्रेम पनि दुई किसिमका हुँदो रहेछ प्राकृतिक अनि सांस्कृतिक । प्राकृतिक भनेको नदेखेको को हो को हो मान्छेसँग प्रेम बस्नु, आफैंले नसोचेको हुनु हो र सांस्कृतिक भनेको समाजले एउटा लाइसेन्स दिन्छ तिमीहरु विहेपछि सँगै बस्नु भन्ने । मेरो चाहिँ सांस्कृतिक+प्राकृतिक प्रेम विवाह भयो ।

ek narayan

अहिलेको जेनेरेशन अनुसार प्रेमको परिभाषा ?
मेरो बुझाईमा प्राकृतिक प्रेमलाई नै महत्व दिनुपर्छ । प्रेमलाई जबर्जस्ती कसैले घरमा ल्याएर थुनिदिएर जे गरेनी प्रेम हुनुपर्छ भन्ने होइन । संस्कृतिलाई जोगाएर प्राकृतिक प्रेम गर्नुपर्छ । दुनियाँलाई देखाउने प्रेमभन्दा भावनात्मक प्रेम राम्रो हुन्छ । हृदयको भावलाई बुझेर गरेको प्रेमलाई मात्र राम्रो मान्न सकिन्छ ।
अहिलेको प्रेमको सुरुवात त सेक्सबाट हुन्छ भन्छन् नि ?
प्रेममा त्यस्तो हुँदैन । सेक्स भनेको कानुनी प्रेम पनि हुनसक्छ किनकी जहाँ हजुरबुबासँग नी प्रेम भइरहेको हुन्छ त्यहाँ सेक्सुअल एट्रयाक्सन पक्कै भएको हुनुपर्छ । यहाँ हजुरबुबाले छोड्दाको प्रेमको गीत र प्रेमिकाले छोड्दाको गीतमा बढी प्रेमिकाले छोडेकै गीत चल्ने गर्छ । प्रेम भावनामा हुन्छ जसलाई सेक्सले गहिराईमा पु¥याइदिन्छ । तर यथार्थमा जीवन्त प्रेममा सेक्स पनि आवश्यक हुन्छ । क्षणिक रुपमा सोच्नेहरुले प्रेम भनेको सेक्स भनेपनि अनन्तकालसम्म सेक्स बिना जीवन चल्दैन ।

ekk

नयाँ कलाकारको प्रवेश धेरै हुने गरेको छ, उनीहरुलाई के सुझाव दिनुहुन्छ ?
मान्छे नयाँ भएन भने विचार शैली पनि नयाँ हुँदैन । नयाँ नभइकन कसरी पुरानो हुने ? पुरानो फाट्दै गएपछि नयाँको आगमन हुँदै जान्छ । गर्लफ्रेन्ड पनि नयाँ बनाउन मन लाग्छ । नयाँ नयाँ शैलीको गीतसंगीत खोज्नुहुन्छ स्रोताहरुले पनि । नयाँले केही फरक पार्दैन, सिर्जना फरक हुनुप¥यो ।
जस्ता पनि गीतसंगीत बन्न थाले नि ?
हाम्रो देश विश्वको सबै कुरामा विकसित छ । कुनै क्राइटएरिया नभएर नै यस्तो विकृति फैलिएको हो । यहाँ पनि सेन्सर बोर्डको आवश्यकता छ । पैसाका आडम्बरमा गीत संगीत रेकर्ड हुन्छ । तर राम्रो मान्छेको गीत कलाभएको मान्छेको गीत सधैं चलिरहन्छ भने लहडै लहडमा आउनेहरुको गीत हराउँदै जान्छ ।
अन्त्यमा ?
नेपाली गीतसंगीत साहित्यहरु विदेशी प्रभावमा परेर राम्रो गीतसंगीत पनि मरिराखेका छन् । यसमा प्रमुख हात भने श्रोता नै हुनुहुन्छ । एउटा घरमा बच्चा जन्मियो भने उसको जीवन हिन्दी, अंग्रेजी गीतबाट सुरु हुन्छ र उसले कसरी नेपाली गीतसंगीत बुझ्दछन् । म अनुरोध गर्छु की सांगीतिक अभिभावज्यूहरु घरमा कमसेकम एक चोटी नेपाली गीतसंगीत आफ्ना बच्चाहरुलाई सुनाइदिनुस् । नेपाली च्यानल हेर्नोस् । नेपाली गीतसंगीतलाई नै माया गरिदिनुहोस् । आफ्नो कला संस्कृति बचाउनुहोस् ।
प्रस्तुति : नारायण ढकाल

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु