
काठमाडौं । नेपाली सुगम सङ्गीत तथा नेपाली पप गायन क्षेत्रकी चर्चित गायिका एलिना चौहान अब व्यावसायिक क्षेत्रमा पनि औपचारिक रूपमा प्रवेश गरेकी छन्। उनले काठमाडौँको मध्यबानेश्वरमा महिलाहरूलाई लक्षित गर्दै ‘रमणी बाइ एलिना’ नामक विशेष फेसन स्टोर सञ्चालनमा ल्याएकी हुन्।
करिब २ करोड रुपैयाँको कुल लगानीमा सुरु गरिएको यस फेसन आउटलेटको हालै एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा नेपाली सङ्गीत तथा कला क्षेत्रका प्रख्यात कलाकारहरू कमल खत्री, प्रताप दास लगायतको बाक्लो उपस्थिति रहेको थियो।
भविष्यको सुरक्षा र नयाँ सोच
कलाकारिता क्षेत्रमा भविष्यको अनिश्चितता रहने कुरालाई मध्यनजर गर्दै आफू र आफ्नो परिवारको दीर्घकालीन आर्थिक सुरक्षाका लागि व्यवसायमा हात हालेको एलिनाले बताएकी छन्। सुरुमा करिब १ करोड रुपैयाँको लागतमा कपडा व्यवसाय सुरु गर्ने योजना बनाएकी एलिनाको स्टोरको परिमार्जन र सामानको विविधता थप्दै जाँदा लगानी २ करोड पुगेको हो। यो लगानी उनले आफ्नो साङ्गीतिक कमाइको बचत, परिवार तथा नजिकका साथीभाइको सहयोगमा जुटाएकी हुन्।
परम्परागत नेपाली फेसनमा जोड
‘रमणी बाई एलिना’मा सामान्य फेन्सी कपडाभन्दा पनि नेपाली मौलिकता र परम्परालाई झल्काउने महिला फेसनका सामग्रीहरूलाई प्राथमिकता दिइएको छ। स्टोरमा साडी, कुर्ता, लेहेँगाका साथै महिलाहरूका लागि आवश्यक चप्पल, ब्याग, चुरा तथा विभिन्न डिजाइनका गरगहना र श्रृंगारका सामग्रीहरू उपलब्ध छन्।
ग्राहकहरूको सहजताका लागि आउटलेटमै गएर सामान किन्न सकिने सुविधाका साथै सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट पनि अर्डर गर्न सकिने व्यवस्था मिलाइएको छ।
नेपालमै रोजगारी सिर्जना
गायिका चौहानले आफ्नो व्यवसायमार्फत नाफा कमाउने मात्र नभई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य पनि राखेकी छन्। हाल यस स्टोरमा ५ देखि ७ जना स्थानीय युवाहरूले प्रत्यक्ष रोजगारी पाएका छन्।
सङ्गीत आकाशमा थुप्रै हिट गीतहरू दिएर दर्शक र स्रोताको मन जितेकी एलिना चौहानको यो नयाँ व्यावसायिक छलाङलाई उनका शुभचिन्तक तथा सङ्गीतकर्मीहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन्।