• बिकास बोर्डका अध्यक्षका निवेदकलाई अन्तरवार्ताका लागि मन्त्रालयले बोलायो

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०८१, मंगलवार

    काठमाडौं । साउन ८ गतेबाट रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका ६ जना आवेदकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको छ ।

    मन्त्रालयले औपचारिक रुपमा ६ जना फिल्मकर्मीले आवेदन दिएको जानकारी गराएको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको बताएको छ ।

    बुधबार बेलुका सवा ५ बजेपछि टोखा नगरपालिका–६, काठमाडौंका दिनेशराज दाहाल (डीसी), विदुर नगरपालिका–२, नुवाकोटका अर्जुनकुमार डंगोल र गोदावरी नगरपालिका–३, ललितपुरकी करिश्मा मानन्धरलाई मन्त्रालयमा बोलाइएको छ ।

    त्यसैगरी बिहीबार बिहान ७ बजेपछि चाँगुनारायण नगरपालिका–८, भक्तपुरकी दीपा पाण्डे बस्नेत, विराटनगर महानगरपालिका, मोरङका प्रकाश भट्टराई र महालक्ष्मी नगरपालिका–४, ललितपुरका राजेश थापालाई बोलाइएको छ ।

    बोर्डले दिएको १५ दिनको आवेदन समयभित्र यी ६ जना फिल्मकर्मीले मन्त्रालयमा आवेदन दिएका थिए । यी ६ जनाभित्र दर्बिलो दाबेदारका रुपमा भने निर्देशक दिनेश डिसी उभिएको देखिन्छ । चलचित्र क्षेत्रको योगदान, नेतृत्वदायी भूमिका, चलचित्र क्षेत्रको आगामी कार्यायोजना एवं संगठनका हिसाबले पनि सरकार निकट देखिएका दिनेश डसी नै अध्यक्ष बन्ने पक्कापक्की देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु