
काठमाडौं । ‘गलबन्दी’ पछिल्लो समयको चर्चाको विषय बनेको छ । गायक तथा सर्जक प्रकाश सपुतको सिर्जनामा तयार भएर बजार आएको गीत थियो ‘गलबन्दी’ । जब बजारमा आयो गलबन्दीले धेरैको मन जित्यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभएर देशविदेशमा रहने नेपालीहरुले समेत गलबन्दीलाई माया गरिदिए । समाजिक सञ्जालमा यसको व्यापकता बढ्दै गयो । यूट्यूबमा सधैं ट्रेन्डिङको यात्रा कायम गरिरह्यो, त्यो पनि नम्बर १ लाई कब्जा गरिरह्यो ।
जब गलबन्दीले बजारमा माया पायो, चर्चा बटुल्यो तब मात्र यो गीत कहाँबाट प्रभावित छ भनेर पछि लाग्नेहरु पनि भेटिन थाले । प्रकाश सपुतको सिर्जनामा रमाउने एकातिर भ एभने अर्कातिर उनको सिर्जनालाई कसरी पछाडि पार्ने भन्नेहरुको पनि कमी भएन । त्यसै बेला एकाएक गायक शम्भू राईको देउसी भैलो गीत ‘आउ नाचौं संगी हो’ को लयसँग मिल्न गएको भन्दै सामाजिक सञ्जालमार्फत उत्रिन थाले । एकातिर प्रकाश सपुतले चोरेको हैन, सुनेको छैन भन्दै गर्दा शम्भू राई मेरै लय चोरी भयो भन्दै विभिन्न मिडिया तथा यूट्यूबरहरुसँग अन्तरवार्तामा व्यस्त हुन थाले । यो बखत प्रकाश सपुत मेला महोत्सवतिर नै व्यस्त भए, मिडियासँग कम देखिए । लामो समय हराए जस्तै भएका गायक शम्भू राईलाई डिजिटल जमानामा चर्चा मिल्यो तर प्रकाश सपुतको चर्चासँगै चोरीको आरोप लगाउन थालियो ।
गायक प्रकाश सपुत र शम्भू राईबीचको आरोप प्रत्यारोप अन्ततः मिलापत्र भयो । शम्भू राईले राख्दै आएको माग पुनः सिर्जना (रिक्रियशन) वा लाखौं रुपैयाँ क्षतिपूर्तिमध्ये प्रकाश सपुतले ‘रिक्रियशन’लाई नै रोज्न पुगे । वरिष्ठ गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, गीतकार रमेश बिजीको रोहबरमा गायक प्रकाश सपुत र गायक शम्भू राईबीचको सहमति भयो । गलबन्दी गीत आउ नाचौं संगी बोलबाट चोरी भएको कारण वास्तविक सर्जक बन्न पुगे शम्भू राई भने पुनः सिर्जना गर्ने सर्जक बने प्रकाश सपुत । सँगसँगै जातीय द्वन्द्व निम्त्याउने काम पनि सुरु भयो ।
प्रकाश सपुतले ‘गलबन्दी’ आफ्नै सिर्जना हो भनिरहे पनि अन्ततः चोरी भएकै प्रमाणित गराए शम्भू राईले । यसको साक्षी बने लोकदोहोरी क्षेत्रका कूलदेवता समान सम्मान पाएका वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझी । तर अझै पनि गायक प्रकाश सपुतले आउ नाचौं संगी बोलसँग मिलेको स्वीकार गरिसक्दा पनि स्रोताहरुले भने चोरी भएकै हैन भन्ने टिकाटिप्पणी गरिहेका छन् । यही बेला गायक जीवन शर्माको गीत ‘भरिया अघि लाई’ गीत र ‘आउ नाचौं संगी’ गीत पनि मिलेको भन्दै सामाजिक सञ्जालमा दाँजिन थालियो । गलबन्दीको काण्ड सेलाउन नपाउँदै अब जीवन शर्मा र शम्भू राईबीच पनि द्वन्द्व सुरु होला या नहोला ! यो सोचनीय विषय बनेको छ ।
गलबन्दी काण्डले मुक्ति पाइसकेपछि अहिले भरिया+आउ नाचौं+गलबन्दीको बीचमा केही संगीतकर्मीहरु यसको नोटेशन लेख्दै सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । सबैभन्दा पहिला गायक, संगीतकार तथा संगीत संयोजक आशिष अबिरलले नोटेशन लेखेर तीनवटा गीतलाई दाँज्दै फेसबुकमा हालेपछि अर्को रोइलो सुरु भएको छ । आशिषमाथि यत्तिको जान्ने मान्छे प्रकाश सपुत र शम्भू राईको सहमति हुँदै गर्दा कहाँ गएका थिए भनेर खनिन पनि थालेका छन् । आशिषेले नोटशन लेख्दै गलबन्दी कहिँ पनि मिल्न नगएको देखाएका छन् भने भरिया र आउ नाचौं धेरै मिलेको देखाएका छन् । उनले लोक संगीतमा भाका वा लयहरु धेरै मिलेजस्तो देखिए पनि नोटेशनमा मिल्न नसकेको प्रमाणित गराएका थिए । त्यसलगत्तै उनीमाथि धेरै खनिन थालेपछि पुनः उनले यस्तो स्टाटस लेखेर गीतसंगीतका विषयमा आफ्ना धारणा यसरी राखेका छन् ः
त्यसो त प्राय गीतसंगीतको समीक्षा गरिरहने दुर्गा पंगेनीले फेरी कडा रुपमा प्रस्तुत हुँदै आफ्ना कुराहरु लेख्दै आएका छन् । पंगेनीले आशिष अबिरलले लेखेको नोटेशनलाई व्यंग्य गर्दै गलबन्दीको विषयमा धेरै स्टाटस लेखेका छन् । उनले प्रकाश सपुतलाई दबाएर जिम्वाल मुखियाहरुले जबर्जस्ती सहमति गराए भनेर यसरी लेख्दै आएका छन् ।
अब लोक वा जनताको गीत ‘लोक गीत’ हो । लोक गीत कसैको पेवा हुँदैन भन्नेहरु पनि छन् । समाजको गीतमा संगीत होइन संकलन वा भाका लेख्नुपर्छ भन्नेहरुको पनि यहाँ विवाद चलिरहेको छ । गलबन्दी काण्डसँगै गीतसंगीतका पुरोहितहरु धेरै जन्मिएका छन् । संगीतका धुरन्धर विद्वानहरुको प्रयोग किन भएन सहमति हुने बेलामा ? नोटेशन लेख्दै गर्दा गायक तथा संगीतकार नारायण रायमाझी, शम्भू राई र प्रकाश सपुतबीचमा के नोटेशनको ज्ञान थिएन ? अहिले बजारमा नोटेशनको कुरा आइरहँदा सहजीकरण गर्ने वरिष्ठ सर्जक नारायण रायमाझीसँग त नोटेशन मात्र होइन गीतसंगीतको धेरै ज्ञान पक्कै थियो होला । यदि उहाँसँग थिएन भने अरु जान्नेहरुको सहयोग किन लिइएन र प्रकाश सपुतलाई ‘चोर सर्जक’ बनाइयो ?? यो पनि सोचनीय विषय भएको छ ।
प्रकाश सपुतले गल्ती स्वीकार गर्नु उनको लोकप्रियता नै प्रमुख कारक हो । यदि गलबन्दी चर्चा नभएको भए आज आउ नाचौं र भरिया अघि लाई पनि खोजिने थिएनन् । जे भए पनि नेपाली गीतसंगीतमा एउटा नयाँ आयामका साथ, नयाँ कन्सेप्टका साथ प्रकाश सपुत भित्रिएको भने पक्कै हो । आज प्रकाश सपुतले हार स्वीकार गर्दा लोक तथा दोहोरी गीत प्रतिष्ठानले नै हारिरहेको अवस्था सिर्जित भएको भने पक्कै हो ।
फेरी प्रकाश सपुत लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका कार्यसमितिका सचिव समेत हुन् । यति ठूलो गलबन्दी विवाद हुँदै गर्दा प्रतिष्ठानले आफ्नो सदस्यको बारेमा किन चासो देखाएन वा सहजीकरणको लागि किन पहल गरेन ?
पछिल्लो समय प्रकाशले शम्भू राईलाई वास्तविक सर्जक र आफूलाई पुनः सिर्जनाको नाम लेख्दै चुपचाप बस्नुले पनि उनले गल्ती स्वीकार गरेको हठर्छ । गल्ती थियो कि थिएन भन्दा पनि स्वीकार गरिसकेपछि अझै किन गलबन्दीको विवाद बल्झिँदैछ । के अब पुनः प्रकाश सपुतले न्याय पाउनेछन् त ? के अब गलबन्दी चोरिएको होइन भनेर प्रमाणि गर्न संगीतका विद्वानहरुले सक्लान् त ?