• गीतकार संघ नेपालको स्थापना दिवस सम्पन्न, रसिकलाई ‘अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान’ अर्पण

    म्यूजिक खबर
    प्रकाशित: १६ जेष्ठ २०८२, बिहीबार १६:०४

    काठमाडौं । गीतकार सङ्घ नेपालले ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण-२०८१’ कार्यक्रम गर्दै १६औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । पिंगलास्थानस्थित होटेल बेस्ट वेस्टन प्लसमा हिजो (बुधबार) आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता रहेको थियो भने संघका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतीत्व रहेको थियो । नियमित रुपमा प्रदान गर्दै आएका सम्मान तथा पुरस्कार यस वर्ष पनि अर्पण गरियो । यस वर्ष प्रतिष्ठित गीतकार गणेश रसिक अमरभावना राष्ट्रिय स्रष्टा सम्मानद्वारा सम्माति भए । अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसकेका विशिष्ट गीतकार रसिकलाई निवासमा नै पुगेर नगद रु. १ लाख ५१ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो । भोजपुर जिल्लामा जन्मेका ७८बर्षीय रसिक कलिलो उमेरमै गीत सङ्गीतमा सक्रिय भएका हुन् । २०२४ सालमा रसिकको रचना एवम् संगीतमा रेडियो नेपालमा हिरण्य भोजपुरेसंगको युगल गायनमा गीत रेकर्ड भएपछि उहाँको नाम सांगीतिक आकाशमा गुन्जन थालेको हो ।

    रसिक गायक एवम् सङ्गीतकारका साथै मुलत: गीतकार हुन् । उनका दर्जनका हाराहारीमा पुस्तक प्रकाशन भएका छन् । “रसिकका गीतहरु २०४५” र स्वाधीनताको पीडा २०६८” गीतसंग्रह प्रकाशन भएका छन् । त्यस्तै, रसिकको शव्द र सङ्गीतमा तयार भएको अडियो क्यासेट “मेरो अतित्, अन्तराल भाग १, २ र “ओ सुन्यता” नामक सिडी प्रकाशन भएका छन् ।
    त्यस्तै, यस बर्षको ‘डायस्पोरा गीतकार सम्मान गीतकार संघ नेपाल २०८१’ बिदेशमा बसी नेपाली गीतलेखनमा योगदान पु¥याएकोमा अमेरिकामा बसोबास गर्ने गीतकार दिलिप योन्जन तामाङलाई नगद रु. १५,००० सहित सम्मान गरियो । यस बर्ष बिष्णुमन्सरा घले मातृभाषा गीतकार सम्मान २०८१ बाट मगर भाषाका गीतकार सन्जोग लाफा मगरलाई नगद रु. २५,२५२ सहित पुरस्कृत गरियो ।

    कार्यक्रममा संघमा आवद्ध सदस्यहरुमध्ये ८० बर्षभन्दा जेष्ठ गीतकार हरिभक्त बुढाथोकी (८६बर्ष) लाई नगद रु. ५, ५५१ सहितसम्मान–पत्र र दोसल्ला ओढाई सम्मान गरियो ।

    कार्यक्रममा यस बर्ष भैरवनाथरिमाल(कदम) बर्षगीत पुरस्कारबाट नगदसहित गीतकारद्वय डा. ओमकृष्णप्रसाईं र ध्रुब खनाल रु. ५७००० सहित पुरस्कृत भए भने जगतमर्दन थापा बर्षगीत पुस्तक पुरस्कार २०८१ गीतकारद्वय त्रिविक्रम पाण्डे र गीतकार हिमांशु रायलाई नगद रु. ५७,००० सहित सम्मान प्रदान गरियो ।

    त्यस्तै साहित्य एवम गीत सङ्गीत जस्ता वौद्धिक सम्पतिको संरक्षण गर्नकालागि प्रतिलिपि अधिकारलाई कार्यान्वयन गर्न उल्लेख्य भूमिका खेलेकाले गीतकार एवम् अतिरिक्त महानिरिक्षक टेक तामाङ्लाई बौद्धिक सम्पति संरक्षण सम्मान अर्पण गरियो । त्यस्तै संघको कार्यालय संचालनमा भौतिक सहयोग पुर्याए वापत एलेन ठूलेलाई पनि सम्मान प्रदान गरियो । सोहि समारोहमा यस बर्ष गीतकार संघ नेपालको आजीवन सदस्यता प्राप्त गीतकारहरुलाई प्रमाण–पत्रसमेत वितरण गरिएको थियो ।

    प्रमुख अतिथि कुलपति राईले गीतकार संघ नेपाल गीतकार संघका सदस्य गीतकारहरुको हकहितमा स्थापित पवित्र संस्था रहेको र नेपालको लोकतान्त्रिक व्यवस्थाको मर्मअनुसार बिभिन्न भाषाभाषिका गीतहरुले समेत गरिमामय स्थान पाएकोमा खुसि व्यक्त गरे ।

    संघले बिबिन्न शिर्षकमा प्रदान गर्दै आएका सम्मान एवम् पुरस्कारले नेपाली गीत लेखनमा श्रस्टा सर्जकको हौसला बढेकोमा बताउँदै कुलपति राईले जस्तो सुकैगीत–सङ्गीत सिर्जना भएता पनि एउटा सुन्दर महलको जगझै गीतकार पनि गीतको जग हो यसैले घरको जग अदृस्य रहेर पनि महत्वपूर्ण भएझैं गीतका लागि गीतकार महत्वपूर्ण अंग हुने उनले बताए । त्यस्तै राज्यका तर्फबाट गीतकारहरु उपेक्षित भएता पनि गीतकारहरुले पाउनु पर्ने हक–अधिकारका लागि गीतकार संघ नेपाल लडिरहन र संघका अध्यक्ष थापाले बताए ।

    देशका चर्चित गीतकार, संगीतकार, एवम् तीन सय अधिक लव्ध प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो । गीतकार दिनेश अधिकारी, सुबाश चन्द्रढुंगेल, प्रमोदढुंगाना, भुषणखरेल, लगायतका गीतकारको उपस्थिति रहेको कार्यक्रमलाई संघका उपाध्यक्ष रमेश कोइरालाले स्वागत मन्तब्य राखेका थिए भने संचारकर्मी एवम् संघका आजीवन सदस्य हेम सुबेदीले कार्यक्रम संचालन गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु