काठमाडौं । नेपाली चलचित्र दुई बेजोड कलाकार एउटै म्युजिक भिडियोमा देखा परेका छन्। साहिल खानको निर्देशनमा निर्माण भएको ‘एक्लै हुँदा परदेशमा’ बोलको भिडियोमा अभिनेत्री गौरी मल्ल र अभिनेता पल शाह आमाछोराको भूमिकामा देखिएका हुन्।
यो बिदेसिएका युवाको कथामा निर्माण भएको भिडियो हो। भिडियोले गरिबीका कारण विदेश जानुपर्ने बाध्यता र त्यसले परिवारसँग भएको बिछोडको कथा बोकेको छ।
कोरियामा कर्म गरिरहेका चलचित्रकर्मी सरोज सुब्बाले भिडियोको कन्सेप्ट बनाएका हुन्। गीतमा शब्द तथा स्वर कमल राईको छ। गीतको संगीत तारा प्रकाश लिम्बूले गरेका हुन्। गौरीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेको बताएकी छन्। भिडियोमा बालकलाकार मुमिन कायस्थलाई पनि देख्न सकिन्छ। भिडियो सुमी राईले निर्माण गरेकी हुन्। अर्जुन तिवारीले खिचेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन्।