छमछम नाच्ने गीत ‘तीजमै ब्रत बसी’

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७६, बुधबार

काठमाडौं। सञ्चारकर्मी गीता अधिकारीको दोस्रो गीत ‘तीजमै ब्रत बसी’ बजारमा आएको छ । मिलाप मासिक खबर पत्रिकाको प्रस्तुति रहेको उक्त गीतमा हिन्दू नारीको शिव शक्तिप्रतिको प्रभाव, बाबाले किनिदिएको फरिया र आमाले पकाएको दर खाएर बस्ने व्रतको संस्कृतिले घर–माइतीको सम्बन्धलाई निकट बनाउने सन्देश दर्शाइएको छ ।
नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र गीतालगायतका कलाकारको अभिनय रहेको छ । नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । रामसिंह भाटको उपसम्पादन रहेको भिडियोमा सञ्जु ढकालको श्रृङ्गार रहेको छ ।

पछिल्लो समय तीज पर्वका नाममा विभिन्न स्थानमा हुने जमघट तथा त्यहाँ प्रयोग हुने मदिरा, मासुुजस्ता विषयवस्तुले निम्ताएको विकृतिले तीजका महत्व घट्दै गएको विषयलाई समेटिएको छ ।

गीतकार अधिकारीले माइतीसँग मिलन हुने सांस्कृतिक पर्व तीजले विविधतामा एकता थप्ने बताउँदै महिला समुदायले स्थानीय माटोको स्मरण गर्ने हुँदा चेलीको बालापनलाई महत्व दिएर उक्त गीत रचना गरिएको बताएकी छिन् ।
यसअघि अधिकारीले ‘यतै घमाइलो उतै घमाइलो’ तीज गीत प्रकाशन गरेकी थिइन् । गीतकार अधिकारी चलचित्र पत्रकार सङ्घको उपाध्यक्षसमेत हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु