गोरखा सांस्कृतिक समाजको आयोजनामा ‘बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम’ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०८३, शुक्रबार ००:५०

काठमाडौं । शुभदीपावली, छठ एवम् नेपाल सम्वतको अवसर पारेर गोरखा सांस्कृतिक समाजले ‘बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम’ सम्पन्न गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौं महाधिवेशनमा विजयी भएका गोर्खाली कलाकारहरुलाई बधाई पत्र प्रदान गर्दै समाजले शुभकामना आदान प्रदान गरेको हो । समाजका कार्यवाहक अध्यक्ष हरिराम परियारको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष वरिष्ठ गीतकार तथा पत्रकार सुमन पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पण्डितसँगै संस्थाका सल्लाहकार हरिमाया गुरुङ, प्रेम श्रेष्ठ र निवर्तमान अध्यक्ष सुनिल लामिछानेसँगै संयुक्त रुपमा विजयी कलाकारहरुलाई सम्मान गर्दै बधाईपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रथम उपाध्यक्ष मीरा गोर्खालीले शुभकामना मन्तव्य दिएकी थिइन् भने महासचिव टेक गुरुङले कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई महिला उपाध्यक्ष बेलीमाया पुलामी, महिला सचिव रेश्मा तामाङ, सदस्य भीमा गुरुङ लगायतले खादा मालाले स्वागत सत्कार गरेका थिए ।

प्रतिष्ठानमा समाजका पूर्व उपाध्यक्ष रविन लामिछानेले उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने समाजका सल्लाहकार प्रकाश भट्ट सचिव पदमा निर्वाचित भएका छन् । त्यस्तै समाजका द्वितीय उपाध्यक्ष सुमन परियार सर्वाधिक मत ल्याएर सदस्य पदमा निर्वाचित भएका छन् । त्यस्तै गोरखा जिल्लाकै लोकप्रिय गायिका मनमाया वाइबा सहसचिव पदमा निर्वाचित भएकी छन् भने ईश्वरी प्रसाद पन्त सदस्यमा निर्वाचित भएका थिए । उनीहरु पाँचै जनालाई गोरखा सांस्कृतिक समाजले कार्यक्रमको आयोजना गरी बधाई पत्र प्रदान गरेको हो ।

उक्त कार्यक्रममा बधाई तथा सम्मान ग्रहण पछि बोल्दै प्रतिष्ठानका उपाध्यक्ष रविन लामिछानेले गोरखालीहरुको एकता सदैव रहेको उल्लेख गरेका थिए । उनले प्रतिष्ठानमा रहेर नेपाली कला संस्कृतिलाई समाज सुहाउँदो बनाउने कार्यमा आफू सक्रिय रहने बताउँदै दीपावली तथा छठ पर्वको शुभकामना दिएका थिए । त्यस्तै प्रतिष्ठानका सचिव प्रकाश भट्टले गोर्खाली कलाकारहरु पछिल्लो समयमा सक्रिय रहेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दा खुशी लागेको बताउँदै लोकदोहोरी कलाकारको ठूलो छाता संगठनमा गोरखालीहरुले पनि नेतृत्व सम्हाल्नका लागि सक्रिय रहेको बताए ।

त्यस्तै समाजका सल्लाहकार हरिमाया गुरुङले दीपावली तथा छठ पर्वको शुभकामना दिँदै प्रतिष्ठानको विभिन्न पदमा विजयी हुनुभएका गोर्खाली कलाकारहरुलाई बधाई दिएकी थिइन् । उनले मौलिक कलासंस्कृति तथा दोहोरी कलाकारहरुको हक अधिकारका लागि सक्रियता देखाउन र प्रतिष्ठानभित्र हुनेगरेका कामकारवाहीमा सकारात्मक भूमिका खेल्नसमेत आग्रह गरिन् । प्रतिष्ठानमा आफू आजीवन सदस्य रहेको तर अहिलेसम्म आजीवन सदस्यताको प्रमाणपत्र नभएको बताउँदै अब विजयी भएका गोर्खालीहरुले पहल गरिदिनसमेत आग्रह गरिन् ।

त्यसैगरी समाजका सल्लाहकार प्रेम श्रेष्ठले गोर्खाली कलाकारहरु अरुभन्दा फरक सोच लिएर अगाडि बढेको बताउँदै संस्थाको सुरुवाती दिनदेखि अहिलेसम्म निरन्तर सक्रिय रुपमा आफूले साथ र सहयोग दिनपाएकोमा खुशी व्यक्त गरे । सल्लाहकार श्रेष्ठले सम्पूर्ण कलाकारहरुलाई दीपावली, छठ र नेपाल सम्वतको शुभकामना दिँदै प्रतिष्ठानमा विजयी हासिल गनुभएका कलाकारहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

त्यस्तै समाजका निवर्तमान अध्यक्ष सुनिल लामिछानले गोर्खालीहरु एक भएर अगाडि बढेको र आगामी दिनमा पनि एकढिक्का भएर कलाकारको हक, अधिकार र कला क्षेत्रको विकासमा सक्रिय रहनुपर्ने बताए । सम्पूर्ण कलाकारहरुलाई शुभकामना दिँदै प्रतिष्ठानमा विजयी भएका कलाकारहरुलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समाजका पूर्व अध्यक्ष गीतकार तथा पत्रकार सुमन पण्डितले शुभदीपावली, छठ र नेपाल सम्वतको शुभकामना दिँदै प्रतिष्ठानमा विजयी भएका कलाकारहरुले गोर्खालीहरुको प्रतिनिधित्व गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको बताए । उनले समाजको स्थापनाकालको इतिहास स्मरण गराउँदै हिजोको दिनमा गोर्खाली कलाकारको एकता नहुँदा प्रतिष्ठानमा भोग्नुपरेको कठिनाइले नेतृत्व तहमा पुग्न अप्ठ्यारो भएको सम्झना गरे । अग्रज कलाकारले देखाएको बाटोमा अबको पुस्ताले प्रतिनिधित्व गर्दै लोक कला संस्कृतिकको मौलिक हराउन नदिन र भड्किलो, अश्लिलता पस्किएका लोकसंगीतको खुलेर विरोध गर्न पनि विजयी भएका कलाकारहरुलाई अनुरोध गरे ।

कार्यक्रमको समापन गर्दै सभापति हरिराम परियारले समाजको गठनसँगै गोर्खाली कलाकारहरुको एकता अरु जिल्लाहरुमा नै नमूना बनेको बताउँदै सबैको मन जित्ने कार्य गर्नेमा सम्पूर्ण कार्यसमिति लागेको बताए । सम्पूर्ण कलाकारहरुलाई दीपावली, छठ र नेपाल सम्वतको शुभकामना दिँदै कार्यवाहक अध्यक्ष परियारले प्रतिष्ठानमा विजयी भएका कलाकारहरुलाई बधाई तथा उपस्थित सम्पूर्ण अतिथि, कार्यसमिति सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा चलचित्र कलाकार गरुडध्वज गुरुङ, मेडिकल व्यवसायी जीवन बल्कोटी, गायक शिशिर गुरुङ, गायिका सन्जु गुरुङ लगायतका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26