• सिरानचोकमा सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्दै गोरखा सांस्कृतिक समाज

    म्यूजिक खबर
    प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार

    गोरखा । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका स्थित श्रीनाथ कोटमा गोरखा सांस्कृतिक समाजले आफ्नो ७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समाजले ७ औं वार्षिक साधारणसभा तथा सांगीतिक कार्यशाला गत फागुन २६ गतेदेखि २८ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको हो । सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष सुमन पण्डितको अध्यक्षता रहेको थियो । कार्यक्रममा गोरखा जिल्लाको इतिहास, पर्यटन, कला साहित्यको विषयलाई लिएर प्रकाशनमा ल्याएको स्मारिका सार्वजनिक गरिएको थियो ।

    सिरानचोक गाउँपालिकाको सहकार्य एवं गोरखा सांस्कृतिक समाजको आयोजनामा भएको उक्त कार्यक्रममा फागुन २६ गते चित्रेपोखरीबाट क्होला आरुबोटसम्मको सांगीतिक यात्रा गरिएको थियो । सांस्कृतिक समाजको करिब १ सयजना समूहलाई चित्रेपोखरीमा २६ गते स्वागत गर्दै पञ्चेबाजाका साथमा टंकेश्वरी आमा समूहले खानासहितको स्वागत कार्यक्रम आयोजना गरेको थियो । त्यस्तै समाजको समूह र चित्रेपोखरीमा रहेको दौंतरी युवा क्लबको समूहबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको थियो । त्यसपछि गोरखा सांस्कृतिक समाजको टोली क्होला आरुबोटमा पुगेर सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

    फागुन २७ गते विहान क्होला आरुबोटबाट समाजका करिब दुई सय जना सांस्कृतिक टोली पैदल यात्रा गरी सिरानचोक गढी एवं श्रीनाथ मण्डली मन्दिरमा पुगेर पूजाआजा गरी कार्यक्रम आयोजना गरेको थियो । ७ औं वार्षिक साधारणसभा एवं सांगीतिक कार्यशालामा समाजका सल्लाहकार, स्थानीय निकायका प्रतिनिधिहरु, गीतसंगीतका विज्ञहरुको टोली लगायत सिरानचोक बासीको बाक्लो उपस्थिति रहेको थियो । सांस्कृतिक पर्यटन प्रबद्र्धन गोरखा सांस्कृतिक समाजको अभियान भन्ने मूला नारा लिएर आयोजना गरिएको उक्त कार्यक्रममा सिरानचोकको पर्यटन, कला संस्कृतिको सम्भावना, विकास र प्रबद्र्धनका बारेमा गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजु गुरुङले आफ्नो मन्तव्य राखेका थिए । तत्कालिन गोरखा राज्यको सुरक्षा किल्लाको रुपमा रहेको सिरानचोक गढी बाइसे र चौबिसे राज्यहरुलाई परास्त गर्दा अन्तिम युद्ध लडेको ठाउँ भएको बताउँदै गोर्खाली इतिहासको बारेमा प्रष्ट पारेका थिए ।

    त्यस्तै समाजको तर्फबाट अध्यक्ष समुन पण्डितले जिल्लाभरिको कला संस्कृतिको अवस्था र सिरानचोकको पर्यटन, कला संस्कृतिको महत्व, सम्भावना र विकासका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अध्यक्ष पण्डितले गोरखा जिल्ला कला, संस्कृति, साहित्यका हिसाबले राणाकालिन इतिहासदेखि अगाडि रहेको र सिरानचोकको ऐतिहासिक महत्वका बारेमा प्रष्ट पारेका थिए । गोरखा सांस्कृतिक समाजको जिल्ला केन्द्रित अभियान अन्तर्गत समाजले स्थानीय निकायहरुसँग मिलेर सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धन एवं प्रचार प्रसारमा भूमिका खेल्ने लक्ष्य लिएको अध्यक्ष पण्डितले बताए ।

    समाजको ७ औं वार्षिक साधारणसभामा महासचिव रविन लामिछानेले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुनिला गुरुङले काषोध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्थानीय कला संस्कृतिको अध्ययन र अनुसन्धानका बारेमा समेत बहस गरिएको थियो । त्यसैगरी सिरानचोकस्थित चित्रेपोखरीमा रहेको दौंतरी युवा क्लब र क्होला आरुबोट स्थित इलिमपोखरी युवा क्लबबीच मैत्रीपूर्ण फुटबलको समेत आयोजना गरिएको थियो । गोरखा सांस्कृतिक समाजको सांस्कृतिक टोली सिरानचोक हुँदै अजिरकोट गाउँपालिकास्थित सिरानडाँडासम्मको पर्यटकीय भ्रमण गरेर काठमाडौं फर्किएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु