
काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले स्थापना गरेको ‘लोक सञ्चारकर्मी कल्याणकारी कोष’मा २५ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । फागुन १७ गते आफ्नो जन्मदिनको अवसरमा गिरीले सहयोग रकमको चेक कल्याणकारी कोषका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपाललाई हस्तान्तरण गरेका हुन् ।
गिरीले जन्मदिनको अवसरमा कल्याणकारी कोषमा सानो रकम सहयोग गर्न पाउँदा खुसीको भएको बताए । उनले भने, ‘जुन उद्देश्यसहित कल्याणकारी कोषको स्थापना भएको छ । त्यस उद्देश्य प्राप्तिको लागि सहयोग गर्नेछ भन्ने लाग्छ ।’ उनले जन्मदिन या आफ्नो विशेष दिनमा कोषमा रकम जम्मा गर्ने विषय संस्थागत रूपमै अभ्यासको रूपमा अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गरे । कल्याणकारी कोषका अध्यक्ष हरिबल्लभ नेपालले कोष बढवाका लागि अभियानकै रूपमा अघि बढाउने र दुखमा परेका लोक सञ्चारकर्मीलाई मलम लगाउने काम गर्ने विश्वास व्यक्त गरे ।
‘संस्थापक अध्यक्षबाट सुखद कामको सुरुवात भएको छ, यसकै आडमा यसअघि प्रतिबद्धता जनाएका तर रकम नआएका साथीहरूलाई पनि प्रतिबद्धता स्मरण गराउने र शुभचिन्तक कलाकार माझ पनि कोष बढवाका लागि अभियान चलाइने छ ।’
उनले भने । पत्रकार डिबि खड्काले लोक सञ्चारकर्मीले लोक कलाकारलाई सफल बनाउन अहम् भूमिका खेल्ने गरेको बताए । लोक सङ्गीत नै मूलधारको सङ्गीत भएको दाबी गर्दै उनले लोक गीतको सर्वव्यापी हुनुमा सञ्चारकर्मीको भूमिका मुख्य रहेको बताए । साथै उनले कल्याणकारी कोषमा आफू पनि जोडिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले गोविन्द गिरीको सहयोगले कल्याणकारी कोषलाई अझ गति दिने विश्वास व्यक्त गरे । आफ्नो विशेष दिनमा कोषमा सकेको रकम जम्मा गर्ने परिपाटीलाई अभ्यासकै रूपमा सञ्चालन गर्ने गरी सम्पूर्ण लोक सञ्चारकर्मीलाई आव्हान समेत गरे । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कल्याणकारी कोषमा ५ लाख मौज्दात रहेको छ । निकट भविष्यमै कोषको रकमलाई १० लाख पु¥याउने लक्ष्य राखिएको छ ।
अनामनगर स्थित संस्थाकै कार्यालयमा भएको जन्मदिन विशेष कार्यक्रममा संस्थापक अध्यक्ष गिरीका धर्मपत्नी अस्मिता न्यौपाने, संस्थाका उपाध्यक्ष हरि प्रसाद दुलाल, प्रवक्ता शिखर गजरकोटे, केन्द्रीय सदस्य करिस्मा केसी, बागमती सफाइ अभियन्ता दुर्गा प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।