• गोरखामा पहिलो पटक लोकदोहोरी प्रतिष्ठानले ‘बृहत लोकदोहोरी महोत्सव’ गर्दै

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०८०, सोमबार

    गोरखा । गोरखा जिल्लामा पहिलो पटक लोकदोहोरी प्रतिष्ठानले बृहत्त सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गोरखा शाखाको आयोजनामा आगामी असोज २३ गतेदेखि कात्तिक ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो ।

    महोत्सवका बारेमा जानकारी दिने उद्वेश्यका साथ आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मूलआयोजक समितिका संयोजक हरीराम परियारले उक्त कुराको जानकारी दिदै महोत्सवको तयारी थालिएको जानकारी दिए ।

    महोत्सव अवधीभर गोरखा तारा प्रतियोगिता, अन्तरपालिका स्तरीय दोहोरी गीत प्रतियोगिता तथा राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगिताको आयोजना गरिने महोत्सव व्यवस्थापन समितिका संयोजक शिव केसीले बताए । ‘प्रतिष्ठानको गोरखा शाखामा रही हाल प्रदेश वा केन्द्रमा रहेका सवै कलाकारहरु सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ, संयोजक केसीले भने, ‘त्यस वाहेक अन्य बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।’

    महोत्सवमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिताका विजेताले १ लाख ११ हजार १११ रुपैया र उपविजेताले ५५ हजार ५५५ रुपैया नगद पुरस्कार पाउने पनि उनले जानकारी दिए ।

    त्यस्तैगरी, गोरखा जिल्ला भित्रका स्थानीय पालिका स्तरीय दोहोरी प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैया नगरपुरस्कार बितरण गरिने छ भने उपविजेताले २० हजार ५५५ रुपैया प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

    उता गोरखा ताराका विजेतालाई ५० हजार ५५५ रुपैया प्रदान गरिने पनि आयोजक संस्थाले जनाएको छ ।

    सांस्कृतिक महोत्सव सम्पन्न गर्नका लागि प्रतिष्ठान अन्तरर्गत देश तथा विदेशमा रहेका ७७ वटै शाखासंग सहकार्य गर्ने र राजधानीमा रहेको गोरखा सांस्कृतिक समाज तथा पोखरामा रहेको पोखरा सांस्कृतिक समाजपनि कार्यक्रमको लागि सहयोग हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    मेला सम्पन्न गर्न झाँकी व्यववस्थापन, प्रचारप्रसार व्यवस्थापन, आवास, सम्र्पक समन्वय, प्रतियोगीहरुको संयोजन, स्वयसेवक व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई व्यवस्थापन लगायतका १३ वटा उपसमिति गठन गरिएको छ ।

    महोत्सवमा स्थानीय व्यवसायीहरुलाई सहज हुनेगरी स्टल व्यवस्थापन गर्ने र स्थानीय स्तरका संस्कृति झल्कने झाँकीहरुको प्रर्दशनीका साथै बालउद्यान लगायतको व्यवस्था गरिने भएको छ ।

    ‘महोत्सव स्थलमा करिव १५० वटा स्टल राखिने र स्थानीय तथा बाहिरका गरी करिब १ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

    महोत्सव अवधिभर ५१ लाख रुपैया भन्दाबढी कारोवार हुने अनुमान गरिएको आयोजकले नाफा रकमबाट प्रतिष्ठानको गोरखा शाखाको भवन निर्माण र कलाकार कल्याणकारीकोषमा रकम जम्मा गर्ने लक्ष्य राखेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु