काठमाडौं । शास्त्रीय संगीतको माध्यमले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका अमर संगीतकार तथा गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा निधन भएको हो ।
संगीतकार तथा गायक गुरुदेव कामत लामो समयदेखि दुबै मृगौलामा समस्या देखिएपछि उपचार गरिरहेका थिए । हजारौंलाई संगीत सिकाएका उनी ४० वर्षदेखि विभिन्न संगीत विद्यालयमा रहेर संगीतको प्रशिक्षण दिँदै आएका थिए । काठमाडौंमा बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।
पछिल्लो समय उनलाई घरमा इायलासिस गराउने गरिएको थियो । उनका कान्छा छोरा समीरका अनुसार बिरामी भएर थलिएका कामतले चार दिनदेखि केही खानेकुरा खाएका थिएनन् । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि आजै अन्त्येष्टि गरिएने समीरले जानकारी दिए ।
संगीत गुरु गुरुदेव कामत वि.सं. २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्मिएका हुन्। शास्त्रीय गायक कामत नेपालमा जति प्रख्यात छन् भारतमा पनि उनको उत्तिकै प्रख्याति रहेको छ । उपचारमा रहँदामा डाक्टरले दुवै मृगौला प्रत्यारोपणका लागि जतिसक्दो चाँडो खर्च जुटाउन अनुरोध गरिरहेको थियो । करिब ३० लाख रुपैयाँ आवश्यक परेको परिवारले अनुरोध गरिरहँदा पनि आर्थिक संकलन हुन नसकेको हुँदा गुरुदेव कामत गाउँ फर्किनुपरेको थियो । उनले संगीत शिक्षा दिएका विद्यार्थीहरु हजारौं छन् । संगीतका संघसंस्थाहरु पनि सयौं छन् तर उनको उपचारको सहयोग जुटाउन खासै पहल भएको थिएन । अन्ततः उनले आर्थिक अभावमा ज्यान गुमाउनु प¥यो ।