
काठमाडौं । सुभधुर स्वरका धनी गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य विशेष साङ्गीतिक कार्यक्रममा गुञ्जने भएका छन् । नेपाली सुगम सङ्गीत क्षेत्रका धरोहर, भजन शिरोमणि भक्तराज आचार्यको साङ्गीतिक विरासतलाई जीवन्त राख्न ‘हजार सपना वीथ सत्य–स्वरूप’ मा गायकद्वय प्रस्तुत हुने भएका हुन् । बुकहिल पब्लिकेसनको प्रतिष्ठित साङ्गीतिक शृङ्खला ‘बुकहिल ब्यालेड्स’ को दोस्रो संस्करण अन्तर्गत यो कार्यक्रम हुन लागेको हो।
कार्यक्रम आगामी भदौ ७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभेलियन हल’ मा आयोजना हुने छ । यस भव्य साँझमा ‘सुर–घराना’ का प्रख्यात गायक तथा सङ्गीतकार दाजुभाइ सत्य राज आचार्य र स्वरूप राज आचार्यले दर्शकलाई मन्त्रमुग्ध पार्नेछन्। कार्यक्रममा उनीहरूले आफ्ना पिता भजनशिरोमणि भक्तराज आचार्यलाई साक्षी राखेर पिताका कालजयी सिर्जनाहरूका साथै आफ्ना सदाबहार गीतहरू प्रस्तुत गर्नेछन्।
कथा र सङ्गीतको अनुपम त्रिवेणी
आयोजक बुकहिल पब्लिकेसनका अनुसार यो केवल सङ्गीत सङ्गालो मात्र नभई कथा र सङ्गीतको त्रिवेणी हुनेछ। कार्यक्रममा सत्य(स्वरूपले आफ्ना लोकप्रिय र बुबाका कालजयी गरी करिब २४ वटा गीतहरूको साङ्गीतिक कथा र पृष्ठभूमि समेत प्रस्तुत गर्नेछन्। गायकद्वयलाई स्टेजमा ८ जना व्यावसायिक वाद्यवादकहरूको टोलीले लाइभ सङ्गीतमा साथ दिनेछ।
सीमित दर्शक, भव्य प्रस्तुति
सुगम सङ्गीतका पारखीहरूका लागि यो एउटा विशेष कन्सर्ट हुनेछ। हलको क्षमता अनुसार जम्मा ६२० जना विशिष्ट दर्शकहरूका लागि मात्र सिट सुरक्षित गरिएको छ। कार्यक्रमको गेट दिउँसो ४ः४५ बजे खुल्ने आयोजकले जनाएका छन्।
टिकट बुकिङ डिजिटल माध्यमबाट
कार्यक्रमको आधिकारिक टिकेटिङ पार्टनर ‘थुप्रै डटकम’ मार्फत टिकट बुकिङ खुल्ला भइसकेको छ। दर्शकहरूले थुप्रैको आधिकारिक वेबसाइटमा गएर डिजिटल वालेटहरू ईसेवा, खल्ती वा मोबाइल बैंकिङमार्फत अनलाइन भुक्तानी गरी आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।
टिकटको दरहरू विद्यार्थीका लागि रु। ५००, अर्ली बर्डरबाल्कोनीका लागि रु.१,०००, रेगुलरका लागि रु. २,००० र प्रिमियमका लागि रु. ३,००० निर्धारण गरिएको छ। विद्यार्थी सहुलियततर्फका टिकटहरू भने छोटो समयमै ‘सोल्ड आउट’ भइसकेको र अन्य विधाका टिकटहरू पनि तीव्र गतिमा बुकिङ भइरहेको सञ्चार विभागले जनाएको छ। कार्यक्रम स्थलमा प्रवेशका लागि मोबाइलमा प्राप्त डिजिटल ‘क्यूआर’ कोड अनिवार्य गरिएको छ।