• माइतीको आश सार्वजनिक सँगै हरि विष्टले मनाए खुशीयाली

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार

    ८ भाद्र, काठमाडौं । गीतकार तथा संगीतकार हरि विष्टले आफ्नो तीजको गीत ‘माइतीको आश’ सार्वजनिकसँगै दुई वर्ष अगाडि सार्वजनिक गरेको गीत ‘माइतीको देश’ को २ मिलियन भ्यूअर्स पुगेको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाएका छन् ।
    नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष एवं गीतकार शान्तिप्रिय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी सचिव राधिका हमाल, नेपाल सांगीतिक संघका उपाध्यक्ष खर्क बहादुर बुढा, गायिका टीका पुन, मोडलद्वय दिपाशा बिसी र रश्मी तामाङ, निर्देशक कलाकार नन्दा बस्याल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेका हुन् ।


    गीतकार हरि विष्टले कार्यक्रमलाई स्वागत गर्दै माइती देशको सुरुका दिनको सम्झना गरे । उनले सबैले बाद्यवादक, कोरसमा नाच्ने कलाकारहरुलाई बिर्सने गरेको हुनाले आफूले ती कलाकार, प्राविधिकहरुलाई मायाको चिनो दिएर २ मिलियन भ्यूअर्स पुगेको उपलक्ष्यमा खुशीयाली मनाएको बताए । साथै सबै चेलीलाई माइतीको आश लाग्ने गरेको कारण तीजको अवसरमा ‘माइतीको आश’ लिएर आएको बताए । गीतसंगीतमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने स्रष्टा एवं कलाकारलाई आभार प्रकट गर्दै उनले मौलिक तीज गीतमा माइतीको देशले २० लाख भन्दा माथि माया गर्ने दर्शक पाएकोमा खुशी व्यक्त गरे ।


    कार्यक्रममा गायिका राधिका हमाल, टीका पुन, एरेन्जर झलक संगीतम्, निर्देशक नन्दा बस्याल, वाद्यवादक खर्क बहादुर बुढा लगायतले आफ्ना भावनाहरु साटेका थिए । तीज गीत भनेको हरि विष्टको जस्तो हुनुपर्छ भन्ने सबैमा छाप छोडेको बताएका थिए ।
    त्यस्तै चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीतको जगेर्ना गर्नमा हरि बिष्ट लागेको बताउँदै कुनै बेला खडेरी परेको मौलिक गीत आजभोलि सबै आकर्षित बनेको बताएका थिए । छायाँछवि तीज म्यूजिक अवार्डको बेलामा मौलिक गीतको संख्या न्यून हुने गरेकोमा यस वर्ष ९० प्रतिशत तीज गीत बजारमा आएकोमा खुशी व्यक्त गर्दै हरि विष्टका शब्द र संगीत सिर्जनाले वास्तविक तीज झल्काएको बताएका थिए ।
    त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले मौलिक कला संस्कृतिको क्षेत्रमा हरि विष्टले गरेको योगदान इतिहासले नबिर्सने बताएका थिए । कार्यक्रम पत्रकार सुमन बैरागीले संचालन गरेका थिए ।


    कार्यक्रममा माइतीको देश गीतमा सहभागी भएका छायाँकार राजु केसी, मोडलद्वय दिपासा बिसी, रश्मी तामाङ, गायिका टीका पुन, एरेन्ज झलक संगीतम् लगायतका कलाकार, प्राविधिकहरुलाई मायाको चिनो दिइएको थियो ।

    माइतीको आश गीतमा राधिका हमाल र देवी घर्तीको स्वर रहेको छ भने झलक संगीतमको एरेन्ज रहेको छ । हरि विष्टको शब्द र संगीतमा निर्माण भएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन नन्दा बस्यालले गरेकी हुन् भने करन चैसिरको छायाँकन रहेको छ । प्रविन भट्टको सम्पादन रहेको म्यूजिक भिडियोमा करिश्मा ढकाल र आरुषी मगरको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु