श्रेष्ठ, मल्ल र ढुंगानालाई हरितारा चलचित्र पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७७, बुधबार
Haritara Chalachitra puraskar

काठमाडौं । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र कृष्ण मल्ललाई हरितारा चलचित्र पुरस्कार–२०७६ र वरिष्ठ गीतकार सहदेव ढुंगानालाई हरितारा चलचित्र पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । २०५२ सालमा स्थापित यो पुरस्कार जनही नगद पच्चिस हजार राशिसहित सम्मानपत्र प्रदान गरिँदै आइएको छ ।
परिवर्तन नेपालले आज राजधानीमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । हरितारा चलचित्र पुरस्कारका संरक्षक सदस्य मालिका राणाको सभापतित्व रहेको यस कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, इन्जिनियरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौला, वरिष्ठ निर्देशक लय संग्रौला, वरिष्ठ पत्रकार शान्तिप्रिय र गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठको आतिथ्यता रहेको थियो ।
सोही कार्यक्रममा २०७६ र २०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र चरित्र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरियो । २०७३ साल देखि प्रदान गर्न थालिएको यो पुरस्कारको राशी जनही दश हजार रहेको छ ।
परिवर्तन नेपालले बर्षेनी प्रदान गर्दै आएको बिशेष परिवर्तन सम्मान लेखक, निर्देशक, अभिनेताद्वय विश्वदीप घिमिरे, माधवराज खरेल र संचारकर्मी मोहन पन्तलाई प्रदान गरियो ।
कार्यक्रमको सहजीकरण तथा पुरस्कारको बिषयमा परिवर्तन नेपालका अध्यक्ष तथा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव मोहन निरौलाले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए भने सम्मानित व्यक्तित्वहरुले समेत आफ्ना अनुभवहरु साटेका थिए ।

हरितारा चलचित्र पुरस्कारबाट २०५२ सालमा मह जोडी एवं स्व. शान्ति मास्के, २०५३ सालमा भुवन चन्द एवं गोपाल भुटानी, २०५४ सालमा जयनेन्द्र चन्द एवं रविन्द्र खड्का, २०५५ सालमा विश्व बस्नेत एवं मिनाक्षी आनन्द, २०५८ सालमा सुशिला रायमाझी एवं श्रीकृष्ण श्रेष्ठ, २०५९ सालमा सुभद्रा अधिकारी एवं शर्मिला मल्ल, २०६० सालमा सकुन्तला शर्मा, २०६३ सालमा शिव श्रेष्ठ एवं गोपालराज मैनाली, २०६५ सालमा बसुन्धरा भूषाल एवं हरिहर शर्मा, २०६६ सालमा रमेश बुढाथोकी, दिपकराज गिरी एवं दिपाश्री निरौला पुरस्कृत भइसकेका छन् । त्यस्तै २०६९ सालको हरितारा चलचित्र पुरस्कार चलचित्रका सक्रिय अभिनेता सुनिल थापा, सञ्चारकर्मी तथा चलचित्रकर्मी दिनेश डिसीलाई प्रदान गरिएको थियो । २०७२ सालको .हरितारा चलचित्र पुरस्कार अभिनेत्री करिष्मा मानन्धर एवं ०७३ सालको हरितारा चलचित्र पुरस्कार संचारकर्मी शान्तिप्रिय तथा डिजाइनर सुन्दर श्रेष्ठलाई अर्पण गरिएको थियो भने २०७४ को हरितारा चलचित्र पुरस्कार बरिष्ट अभिनेता लय संग्रौला एवं २०७५ को हरितारा चलचित्र पुरस्कार अभिनेत्री रेखा थापालाई अर्पण गरिएको थियो ।

श्रीदुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार वर्ष २०७३ बाट स्थापना गरिएको हो । नगद १०,०००।– दशहजारको थैली एवं लिखत पत्र सहित यो पुरस्कार प्रदान गरिँदै आइएको छ । २०७३ सालमा पुराना रंगकर्मी, टेलिचलचित्र तथा चलचित्रका निर्देशक कलाकार शुभाष गजुरेललाई यो पुरस्कार प्रदान गरिएको थियो भने यस बर्ष आयोजित समारोहमा २०७४ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार कलाकार उत्तम केसी तथा २०७५ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी बिजयरत्न तुलाधरलाई अर्पण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु