• सिड्नीमा नेपथ्यको ऐतिहासिक कन्सर्ट, झुमे पाँच हजार बढी दर्शक

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७९, आईतवार

    सिड्नी । पाँच हजारभन्दा बढी दर्शकले भरिभराउ ‘होडर्न पभिलियन’मा शुक्रबार नेपथ्यले ऐतिहासिक कन्सर्ट गरेको छ । ‘तीन वर्षअघि सिड्नी कन्सर्टका बेला सम्पूर्ण टिकट इन्टरनेटबाटै बिक्रीभएको देखेर मैले नेपाली संगीतमा नयाँ युग उदाएको महशुस गरेको थिएँ,’ नेपथ्यलाई ब्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपाला अघिल्लो दिन नै हाउसफूलको सूचना आइसकेको सिड्नी कन्सर्टमा हेर्न आउने दर्शकको आतुरताले ठ्याक्कै समयमा कन्सर्ट सुरुगर्ने हाम्रो नीतिको पनि उच्च सम्मान गरेको देख्दा थप खुशी लाग्यो ।’

    हरेकपटक एउटा नयाँ मानक उभ्याउने सिड्नीका नेपथ्यप्रेमीहरुले सँधैजस्तै शुक्रबार पनि आफू मात्र रमाएनन्, माथि मञ्चमा प्रस्तुती दिइरहेको कलाकारहरुलाई पनि ब्यापक उर्जा प्रदान गरिरहे । कतिपय गीतमा त मञ्चमा गाएको आवाजभन्दा तल श्रोताहरुले गाएको आवाजको मात्रा चर्को सुनिन्थ्यो । ‘रेशम’ गाउँदा साथमा नगाएको कोहि देखिँदैन थिए भने ‘तालको पानी’ र ‘मै नाचेँ छमछमी’ गाउँदा नहल्लिएर बसेको कोहि देखिँदैन थिए ।

    मञ्चमा कलाकार उपस्थित हुनासाथ चर्को आवाज र उफ्राइले कार्यक्रममा दर्शक उत्तेजनाको पारो झल्काइसकेको थियो । यस्तैमा ब्याण्डले उसको स्थापनाकै पहिलो सिर्जना ‘आँगनै भरि’ बाट आफुलाई अघि बढायो । त्यो गीतमा दर्शकहरुको एकाकार आवाजले भब्य ‘कोरस’को सिर्जना गरेको देखिन्थ्यो । यो क्रमले ‘छेक्यो छेक्यो’हुँदै अन्तिमको ‘रातो र चन्द्रसूर्जे’सम्मै नयाँ पुराना सबै गीतमा निरन्तरता पाएको थियो ।

    प्रस्तुतीलाई विशेष बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबबाट पनि अझ जोड दिइएको थियो । अष्ट्रेलियामा १३ सदस्यीय कलाकार, प्राविधिज्ञ र व्यवस्थापकको नेपथ्य टोलीले यात्रा गरिरहेको छ ।

    यो कन्सर्टका साथ नेपथ्यले अष्ट्रेलियाकै यस ब्यापारिक राजधानीमा छैठौंपटक सफलताका साथ आफूलाई उभ्याएको छ ।
    अष्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक प्रस्तुत गरेको थियो । त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए । त्यसयता ब्याण्डले यो विशाल टापुरुपी मुलुकमा पाँचपटक यात्रा गरिसकेको छ । त्यसमध्ये सन् २०१२ विशेष उल्लेखनीय थियो, जतिबेला २२ सय क्षमताको सिड्नी टाउनहलमा दर्शक नअटाएर बाहिर रहनपुगेका भीँडले निकै बेरसम्म ट्राफिक अस्तब्यस्त पारिदिएको थियो । त्यसपछि सन् २०१५यता लुनापार्कको अडिटोरियममा बारंबार प्रस्तुतभएको नेपथ्यले यसपाला पाँच हजारभन्दा बढी दर्शक अटाउने ‘होडर्न पभिलियन’मा फड्को मारेको हो ।

    ‘नेपालकै पनि सर्वाधिक प्रस्तुत भएको ठाउँहरुका हाराहारीमा उभिने सिड्नी मेरोनिम्ति घरजस्तै आत्मीय सहर भइसकेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘विश्वभर यसरी नेपाली समुदायको उपस्थिती बाक्लिँदै गइरहेकोमा खुशी लाग्छ । तर, स्वदेशमा अवसरको अभाव भएकैले यसरी नेपालीहरु बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा चाहिँ तितो लाग्दोरहेछ ।’
    अमृतले शुक्रबार कन्सर्टकै बेला पनि यसरी ‘ब्रेन’ र तन्नेरीहरुको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैँमा अवसरहरुले भरिएको एक समृद्ध मुलुक बन्ने विश्वास प्रकट गरे ।

    सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै नेपथ्य अष्ट्रेलिया श्रृंखला अब मेलबर्नतर्फ लम्किएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु