इतिहासमै पहिलो पटक ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगीता’ हुने

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०८१, शनिबार

काठमाडौं । ‘नारीको कला, नारीको सान’ भन्ने मूल नारा सहित ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगीता’ हुने भएको छ । कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौं नेपालको आयोजनामा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने उक्त कार्यक्रमको सन्दर्भमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनमा कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य प्राज्ञ तथा गायिका प्राज्ञ टिका पुनको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ मादल बादक खड्ग बुढा मगर, बरिष्ठ सञ्चारकर्मी राम अबिरल, सत्यवती कला केन्द्रका अध्यक्ष उदिराम खड्का लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा पत्रकार सबिता पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिईन् भने कर्णाली कलाकार प्रतिष्ठानका महासचिव धनराज चुनाराले स्वागत मन्तब्य राखेका थिए ।

‘राष्ट्रिय महिला मादल वादन प्रतियोगीता-२०८१’मा भाग लिन हाल सम्म ४२ जनाले फर्म भरेको र फर्म भर्ने कार्य पनि जारी रहेको कुरा पत्रकार सम्मेनमा जानकारी गराईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथीको चन्द्र शर्माले नेपाल मै यस्तो प्रकृतीको प्रतियोगीता महिलाहरुको हकमा प्रथम भएको र प्रतियोगीता गर्न आँट गरेकोमा टिका पुन लगायत आयोजक टिमलाई बधाई दिदै प्रतियोगीताको पुर्ण सफलताको लागी शुभकामना ब्यक्त गरेका थिए ।

पछिल्लो समय राज्यका विभिन्न निकायलाई नियाल्ने हो भने पुरुषलाई झैं महिलालाई पनि करिब–करिब समान अवसर प्रदान र प्राप्त हुँदै आइरहेको छ । सांगीतिक क्षेत्रमै हेर्ने हो भने पनि महिला सहभागिता बढेकै छ । तथापी नेपाली मौलिक बाजा ‘मादल वादक’ हरुलाई खोज्ने हो भने लगभग पुरुषको मात्रै सहभागिता भए जस्तो देखिन्छ । कहिं कतै भएका महिला मादल वादक पनि छायाँमा परेका छन् । मनोरन्जनका लागि आयोजना भएका सांगीतिक कार्यक्रममा त ‘महिला मादल वादक’ को रिक्तता भएको यथार्थ हो । यस किसिमको रिक्ततालाई परिपूर्ति गर्न ‘महिला मादल वादन प्रतियोगिता’ हुने भएको छ ।

‘नारीको कला, नारीको सान’ भन्ने मूल नारा सहित कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौं नेपालको आयोजनामा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगीता’ हुने भएको हो । कार्यक्रम राजधानी स्थित राष्ट्रिय नाचघर जमलमा बैशाख २७ गते बिहिबार सम्पन्न हुने छ । प्रतियोगीतामा भाग लिनका लागि महिला मादल वादकहरुलाई आव्हान गरिएसँगै टिम दर्ता गर्ने क्रम चलिरहेको छ । प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने हातहरु पनि बढिरहेका छन् । सहयोगी हातहरुलाई कार्यक्रम संयोजक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य प्राज्ञ तथा गायिका टिका पुनले धन्यवाद दिएकी छिन् ।

पछिल्लो पटक ओझेलमा पर्दै गएको लोकबाजा मादलको संरक्षण र प्रवद्र्धनका लागि राष्ट्रिय महिला मादल वादन प्रतियोगिताको आयोजना गर्न लागिएको टिकाले बताइन् । भाबुक हुँदै भनिन् “कुनै बेला हाम्रो गाँउ ठाँउमा महिलाहरुको कार्यक्रम होस् या तीज कार्यक्रम होस् या रत्यौलीमा पुरुषहरुलाई मादल बजाउन बोलाउनुपर्ने अनी बोलाउदा भाँउ खाने, कहिले नआएर धोका दिने जस्ता क्रियाकलापहरु समाजमा देखा परेपछि मेरी आमाले मादल किनेर आफै बजाउने प्रयास गर्दा बजाउन जान्नु भयो । त्यसपछि कसै सँगपनि झुक्न परेन । मेरी आमाको सपना पुरा गर्न अनी महिलाहरु पनि कमजोर छैनन् भन्ने उदेश्यका साथ महिलाहरुको प्रतिभालाई उजागर गर्न यो प्रतियोगीता आयोजना गर्ने सोंच गरेकी हुँ । सबैले आ आफ्नो तर्फबाट सहयोग गरिदिनुहुने छ भन्ने कुरामा बिश्वस्त रहेकी छु ।’

आगामी बैशाख २७ गते राष्ट्रिय नाँचघर, जमल, काठमाडौंको हलमा सम्पन्न हुँदै छ । प्रबेश निःशुक रहेकाले जो कोही पनि प्रतियोगीतालाई नियाल्न आउन सक्नु हुने छ । यही प्रतियोगीतमा भाग लिन चाहनेका लागि दर्ता शुल्क ५ सय रुपैया लाग्ने छ ।
काठमाडौं बाहिरबाट आउने प्रतियोगीका लागि आउने जाने, बस्ने खाने सम्पुर्ण ब्यवस्था आयोजक पक्षले ब्यहोर्ने छ । प्रतियोगीतामा भाग लिनका लागि बैशाख २५ गते भित्रमा दर्ता गरिसक्नु पर्नेछ ।

कार्यक्रमलाई सिजी ग्रुपको वाईवाई चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ । त्यस्तै भुगर्व सिमेन्ट, सांस्कृतिक तथा सहकारी मन्त्रालय बाग्मती प्रदेश र सम्राट सिमेन्टले सहप्रायोजन गर्ने छन् । कृषी विकास बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल टेलिकम, इन्द्रेणी समाज, बिजी बैंक्वट, इन्द्रेणी स्वीट होम, हिमाल डेन्टल हस्पिटल, ग्लोबल बैंक, सुर्खेती कल्याण समाज, शसस्त्र प्रहरी परिवार–महिला संघ, सैनिक श्रीमती संघ लगायतका संघ संस्थाले कार्यक्रमलाई प्रायोजन गर्ने भएका छन् ।
“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता – २०८१” मा प्रतियोगी संयोजक एबं निर्णायक संयोजकको रुपमा बरिष्ठ मादल बादक खड्ग बुढा मगर रहने छन् । त्यस्तै कार्यक्रमको संयोजकको रुपमा प्राज्ञ टिका पुन र मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु