टिकटकमा स्थायीसँगै सबै अन्तरा रुचाइयो–‘किन झस्कियौ’

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७८, बुधबार

काठमाडौं । पछिल्लो समय टिकटकमा म्यूजिक भिडियोका स्थायी या अन्तराको एक टुक्रामाथि मोडलिङ गर्ने या भिडियो बनाउने प्रचलन बढेको छ । यसर्थ टिकटक नेपाली गीतको प्रमोसनको महत्वपूर्ण माध्यम बन्न पुगेको छ । टिकटकमा जति धेरै भिडियो बन्छन्, त्यही हिसाबमा गीतको सफलताको निर्क्यौल हुन थालेको छ ।
यस्तै पछिल्लो समयमा पुरुष टिकटक प्रयोगकर्ता बिच ‘एकछिन तिम्रो मोबाइल फोन मागेको, किन तिमीलाई अप्ठ्यारो लागेको किन झस्कियौ म त तिम्रै हुँ सान्नानी तिमी कसकी हौ’ भन्ने टुक्का निकै लोकप्रिय बनेको छ । यस्तै महिला टिकटक प्रयोगकर्ताहरुमा पनि माग्यौ भने म तिमीलाई ज्यान दिने, तिमी मेरो मोबाइलमै ध्यान दिने किन झस्क्यायौ म त तिम्रै हुँ सान्बाबु तिमी कसका हौ’ र अर्को टुक्का ‘तिमीले सोचे जस्तो म परिनँ, मन लाग्दैन दश तिर झरिनँ किन झस्कायौ म त तिमै हुँ सान्बानु तिमी कसका हौ’ पनि उतिकै प्रिय बनेको छ ।

टिकटकमा रुचाइएका टुक्काहरु गायिका कला लम्सालको नयाँ गीत ‘तिमीले सोचे जस्तो म परिनँ’ (किन झस्कियौ) का हुन् । उसो त गीतको स्थायी र सबै अन्तराहरु उतिकै रुचाइएका छन् ।

गीतमा गायिका कला लम्साल र गायक हेमन्त शर्माको स्वर रहेको छ ।
गायिका लम्सालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द रमेश बिजीको रहेको छ भने संगीत दीपक शर्माले दिएका छन् ।

सुधीर श्रेष्ठ र जुना सुन्दासको प्रमुख अभिनय रहेको गीति भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् । लोक भाकामा निर्माण गरिएको गीत मुख्यतः युवा पुस्तालाई लक्षित पाइएको छ । प्रेमीप्रेमिकाले एकअर्कामाथि गर्ने शंकालाई गीतको मुख्य विषयवस्तु बनाइएको छ ।
टिकटकमा मात्र लोकप्रिय नभई गीतले युट्युवमा पनि उतिकै तारिफ कमाएको छ । गीतको शब्द संगीत स्वरसँगै भिडियोको सम्पूर्ण पाटोको राम्रो तारिफ गरिएका कमेन्ट प्राप्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु