क्यान्सरसँग लडिरहेकी गायिका इन्दिरा गोलेको निधन

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०८२, बुधबार १२:१७

काठमाडौं । चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ। उनको गएराति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामोसमयदेखि क्यान्सर रोगसँग लड्दै आएकी थिइन्। क्यान्सरको उपचारकै क्रममा चलिरहेको थियो ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ भाषाका सेलो साथै देउडालगायत हजारौं गीतमा स्वर दिएकी छन् । २०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएपछि उनी केही समय अघिसम्म गीत संगीत क्षेत्रमा व्यस्त थिइन्।
उनको आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङले जानकारी दिए। उनका अनुसार श्रृद्धान्जलीका लागि राष्ट्रिय नाचघरमा राख्ने तयारी गरिएको छ। उनका पति गायक तथा एरेन्जर पूर्ण गुरुङको केही वर्षअघि मृगौलाको उपचारको क्रममा निधन भएको थियो । उनको दुई छोरी छन्।
उनको स्वरमा रहेको गीत चाँगुनारायण थान, हुक्का चिलिमले, सफा टेम्पोरी, डम्फूको तालैमा, जोवन मेरो अल्लारे,फूल्यो असारे लगायतका चर्चित गीतहरु रहेका छन् । तामाङ चलचित्रहरुमा समेत पाश्र्व गायन दिएकी गायिका गोलेले गीतसंगीत क्षेत्रमा अमूल्य योगदान दिन सफल भएकी छन् । म्युजिक खबर परिवार गायिका इन्दिरा गोलेप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु