अनलाइन गायन तथा नृत्य प्रतियोगिताका विजयीलाई प्रमाणपत्र

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार
Inas Nepal

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२० का विजयीहरुलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरेको छ । इनास नेपाल च्याप्टरको समन्वयमा इनास ग्लोबलले शनिवार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा इनास ग्लोबलका अध्यक्ष कमला दाहाल, इनास नेपाल च्याप्टरका सल्लाहकार तथा चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारी, इनास ग्लोबलका उपाध्यक्ष अर्जुन काफ्ले, सल्लाहकार लक्ष्मण लम्साल र इनास नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डेले संयुक्त रुपमा विजयीहरुलाई बधाई तथा शुभकामनाका साथ ट्रफि र प्रमाणपत्र प्रदान गर्नुभयो ।
कोरोना महामारीकाबीच लकडाउनका कारण विश्व नै ठप्प रहेका बेला इनास ग्लोबलले आयोजना गरेको प्रतियोगितामा गायनतर्फ राजेश लामा प्रथम, शान्ति राई दोश्रो र डा. विजय गुरुङ तेश्रो हुनुभएको थियो ।

त्यसैगरी नृत्यतर्फ पूर्ण लामा प्रथम, शेखर घर्तिमगर दोश्रो र सविता मगरले तेश्रो स्थान हाँसिल गर्नुभएको थियो ।
कार्यक्रममा इनास ग्लोबलका अध्यक्ष कमला दाहालले नेपाली कला क्षेत्रका अग्रजहरुलाई सम्मान र नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न कुनै कन्जुस्याईँ नगर्ने अठोट व्यक्त गर्नुभयो । इनास सदैव नेपाली कला क्षेत्रको सम्बर्ध्दन र संरक्षणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । हराउन लागेका कला संस्कृति र ओझेलमा परेका कलाकारको खोज इनासको उद्देश्य रहेको उहाँले बताउनु भयो ।

निकट भविष्यमै काठमाडौँमा इनास भवनको निर्माण गरी कामलाई तिब्रता दिइने जानकारी दिनुभयो । इनास नेपाल च्याप्टरका सल्लाहकार तथा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले इनासले विदेशमा नेपाली चलचित्र प्रदर्शनका लागि खेलेको भुमिकाको प्रशंशा गर्नुभयो । गायन तथा नृत्य प्रतियोगितामार्फत नयाँ प्रतिभाहरुको खोजी गरेकोमा खुसी व्यक्त गर्दै उहाँले नेपाली चलचित्रलाई यस्ता प्रतिभाहरुको खाँचो रहेको उल्लेख गर्नुभयो । इनास ग्लोबलका उपाध्यक्ष अर्जुन काफ्लेले इनासले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

इनास ग्लोबलका सल्लाहकार लक्ष्मण लम्सालले महामारीकाबीच इनास आफ्नो उद्देश्यबाट विचलित नभएकोमा खुसी व्यक्त गर्नुभयो । इनास नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डेले कोरोना महामारीका कारण आँफुहरुले तय गरेका थुप्रै कार्यक्रम सम्पन्न हुन नसकेको बताउनुभयो । अबका दिनमा इनास नेपाल च्याप्टर सशक्त र सक्रिय भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक तथा प्रतियोगिताका नृत्य तर्फका निर्णायक राजु शाहले आगामी दिनमा यस्ता कार्यक्रमको प्रचारप्रसारमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । वरिष्ठ गायक तथा गायन तर्फका निर्णायक प्रदिप बम्जनले प्रतियोगिता मार्फत राम्रा कलाकार अगाडि आएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

प्रतियोगिताको गायनतर्फ मीरा राणा, मधु क्षेत्री, सुवास सुन्दास, प्रदिप बम्जन र शर्मिला बर्देवा निर्णायक हुनुहुन्थ्यो भने नृत्यतर्फ राजु शाह, कविराज गहतराज, सरिता हुमागाइँ, जगत खड्का, रामजी लामिछाने र पवित्रा आचार्यले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु