दोस्रो सन्तानको आमा–बुबा बने जानकी र भगवान, छायो खुशीयाली ! बधाई दिनेहरूको सोचप्रति चित्तदुखाइ

म्यूजिक खबर
प्रकाशित: २८ श्रावण २०८३, बिहीबार १६:१२

काठमाडौं । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रकी सुप्रसिद्ध एवं व्यस्त गायिका जानकी तारमी मगर र उहाँका श्रीमान समाजसेवी एवं व्यवसायी भगवान थापाको घरमा नयाँ खुसीयाली छाएको छ । यो लोकप्रिय जोडीले यहि २०८३ साल साउन २६ गतेका दिन आफ्नो परिवारमा दोस्रो सन्तानको रूपमा प्यारी छोरीलाई स्वागत गर्दै दोस्रो पटक आमा–बुबा बन्ने सौभाग्य प्राप्त गर्नुभएको हो ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा गायिका मगरले स्वस्थ छोरीलाई जन्म दिनुभएको पारिवारिक स्रोतले जनाएको छ । हाल नवशिशु र आमा दुवैको स्वास्थ्य अवस्था एकदमै सामान्य र राम्रो रहेको छ ।

छोरीको जन्ममा उत्सव र मनछुने आशीर्वाद, समाजको पुरातन सोचप्रति टिकटकमा पोखिन् चित्तदुखाइ

यसअघि सन् २०१८ मा पहिलो पटक मातृत्वको सुख भोगिसक्नुभएकी गायिका मगरले दोस्रो सन्तानको रूपमा पनि छोरी नै प्राप्त गर्दा अत्यन्तै खुसी व्यक्त गर्नुभएको छ । उहाँको घरमा अहिले उत्सवको माहोल छ। उहाँले आफ्नी नवजात छोरीलाई ‘ब्रम्हाण्डकै खुसी मिलोस्, छोरा–छोरी सबैले गर्ने काम तिमीले गर्न सक्नु’ भन्दै सामाजिक सञ्जाल टिकटकमा मनछुने आशीर्वाद समेत दिनुभएको छ ।

आर्शीवादसँगै उहाँले यो पटककको गर्भावस्थालाई भरपुर ‘इन्ज्योय’ गरेको बताउनु भएको छ । तथापी यो जर्नीमा प्राप्त भएका कतिपय शुभेच्छा र आर्शीवादले भने आफ्नो मन दुखेको उल्लेख गर्नु भएको छ । दोस्रो पटक पनि छोरी नै जन्मिँदा परिवारमा उत्सवको माहोल भए तापनि समाजको केही संकुचित सोचप्रति भने गायिका मगरले चित्त दुखाउनुभएको छ । धेरैजसो शुभचिन्तकहरूले सामाजिक सञ्जालमा बधाई दिने क्रममा पहिलो सन्तान छोरी जिविका भएकाले पक्का पनि यसपालि छोरै हुनुपर्छ, होस् वा जेठी छोरी जिविकाले भाइ पाओस् जस्ता शुभेच्छा दिइरहेका थिए ।

प्रशंसकहरूका यस्ता टिप्पणीले आफ्नो मन दुखेको गुनासो गायिका जानकीले आफ्नो आधिकारिक टिकटक अकाउन्टमार्फत व्यक्त गर्नुभएको छ । छोरा र छोरीमा कुनै फरक नहुने र दुवै सन्तान भगवानका उत्तिकै प्यारा उपहार भएको भन्दै उहाँले बधाई दिँदा छोरा वा छोरीको विभेद नगर्न र संकुचित सोच नराख्न आग्रह गर्नुभएको छ ।

‘ढाड दुखेर मार्‍यो’, ‘मेयरनीको पोई’, ‘साइकल किन्न जाम’, ‘करीम जस्ता सयौँ चर्चित मौलिक लोक गीतहरू दिएर नेपाली संगीत क्षेत्रमा बलियो पहिचान बनाउनुभएकी जानकी र समाजसेवी भगवान थापाको यो सुखद खबर बाहिरिएसँगै संगीत उद्योगका सहकर्मी कलाकारहरू, आफन्त र हजारौँ शुभचिन्तकहरूले सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका छन् ।

समाजसेवी श्रीमान् भगवान थापा र गायिका जानकी तारमी मगरको यो सुखद पारिवारिक पलका लागि सम्पूर्ण सांगीतिक क्षेत्रका तर्फबाट नवशिशु छोरी र आमाको सुस्वास्थ्य तथा उज्ज्वल भविष्यको कामना गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु