• टुट्यो सारङ्गीको तार

    म्यूजिक खबर
    प्रकाशित: ११ मंसिर २०७०, मंगलवार

    सारङ्गी सम्राटका रुपमा परिचित गायक एवं कुशल सारङ्गीवादक जंगबहादुर गन्धर्वको मंगलबार निधन भएको छ । करिब एक महिना जति निमोनियाबाट थलिएका जंगबहादुर गन्धर्वको उपचारका क्रममा निधन भएको हो । काठमाडौंको पाटन, स्टार हुँदै केएमसी हस्पिटलमा अन्तिम उपचार भइरहेको उनको मंगलबार निधन हुन पुगेको परिवारस्रोतले जानकारी दिएका छन् । ६३ वर्षिय जंगबहादुरको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर मंगलबार नै अन्तिम संस्कार गरिने भएको छ ।
    हजारौं गीतमा सारङ्गीको धून दिँदै आएका गन्धर्व नेपालका कुशल सारङ्गीवादकका रुपमा चिनिन्थे । रेडियो नेपालमा लामो समयसम्म सारङ्गीवादकका रुपमा जागिरे रहेका गन्धर्वले पछिल्लो समयका उक्त जागिर छाडेर स्टुडियोहरुमा सारङ्गी बजाउन व्यस्त भएका थिए । उनका सारङ्गीको धून नामक एल्बम एवं केही फुटकर गीतहरु पनि रेकर्ड भएका छन् । सारङ्गी बजाउँदाबजाउँदै नेपाली लोकसंगीतको दुनियाँबाट विदा लिएका सारङ्गीवादक गन्धर्वले संगीत उद्योगमा ठूलो योगदान दिएका छन् । संगीत उद्योगले एक होनाहार स्रष्टा एवं सारङ्गीवादक गुमाउन पुगेको यस घडीमा म्यूजिक खबर परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु