बसन्तको ‘बसौं हजुर’ मा हाँस्य कलाकार ‘जोगिन्दर’ र सेजलको रोमान्स

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०८३, मंगलवार १७:४४

काठमाडौं । चर्चित हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ को अभिनय रहेको म्युजिक भिडियो ‘बसौं हजुर’ सार्वजनिक भएको छ ।

बसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल काफ्लेसँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

हाँस्य भूमिकामार्फत दर्शकलाई हँसाउँदै आएका जोगिन्दर र मोडल सेजलको केमेस्ट्री भिडियोमा सुहाउँदो देखिएको छ । भिडियोमा लामो समयको विदेश वा बाहिरी बसाइबाट आफ्नो गाउँ फर्किंदाको खुसी, बाल्यकालका साथीभाइसँगको आत्मीय मिलन र आफ्नी प्रियसीसँगको सामीप्यतालाई मुख्य विषयवस्तु बनाइएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ग्रामीण परिवेश, हरियाली खेतबारी, नदी किनार र परम्परागत नेपाली गाउँघरका दृश्यहरूले भिडियोलाई थप आकर्षक र जीवन्त बनाएका छन् । रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाको छायांकन रहेको यस भिडियोलाई शौखिन तिमल्सिनाले नै सम्पादन गरेका हुन् । पछिल्लो समयका चर्चित र व्यस्त निर्देशक समन अधिकारी निर्देशित भिडियो ‘रेस्क्यु क्रियशन’ को ब्यानरमा निर्माण भएको हो ।

भिडियोले नेपाली गाउँघरको मौलिकता, प्रेम र पुरानो यादलाई ताजा गराउने प्रयास गरेको छ । हास्य विधाभन्दा फरक भूमिकामा प्रस्तुत भएका कलाकार जोगिन्दरको यो नयाँ शैलीलाई दर्शक तथा श्रोताले सकारात्मक रूपमा लिने अपेक्षा निर्माण पक्षको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु