
काठमाडौं । साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । आइतबार चलचित्र विकास बोर्ड परिसरमा आयोजित साहित्यिक तथा सांगीतिक वातावरणले भरिएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको सभापतित्व स्वयं लेखिका कादम्बरी दाना श्रेष्ठले गरेकी थिइन् । त्यसैगरी विशिष्ट अतिथिमा इजरायली राजदुत इस्मुलीक एल्विस र श्रीमती मिरा परेडयारका साथै गीतकार संघ नेपाल का अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपाल का उपाध्यक्ष शंकर थापा ‘स्माइल’, गीतकार अम्बिका गुरुङ, गायिकाहरू मिलन नेवा, सरिता शाही, सुवर्णकेशरी महतलगायत सुन्दर योजन तामाङ, सुगन्धा माझी, पेमा डोल्मा डेल्मु, यूवराज लामा, तेजिङ शेर्पा, डिजे विपिन तामाङसहित साहित्य, संगीत र सामाजिक क्षेत्रसँग आबद्ध थुप्रै व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा ‘इमा’ कृतिको लोकार्पण गरिएको थियो । मन्तव्य सबै अतिथिहरूले लेखिकाको सिर्जनात्मक यात्राको खुलेर प्रशंसा गरेका थिए ।
स्वागत मन्तव्य राख्दै पेमा डोल्मा डेल्मुले वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा केयर गिभरको रूपमा कार्यरत रहँदै साहित्य सिर्जना गर्नु सामान्य कुरा नभएको उल्लेख गरे। उहाँले कठिन परिस्थितिबीच पनि लेखिकाले आफ्नो संवेदनशील अनुभवलाई पुस्तकको रूप दिन सफल भएको भन्दै त्यसलाई प्रेरणादायी उदाहरणका रूपमा चित्रण गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै लेखिका कादम्बरी दाना श्रेष्ठ भावुक बनेकी थिइन् । उनले इजरायलमा रोजगारीका क्रममा आफूले जीवनका अनेक अनुभव, संघर्ष, पीडा र आत्मीयता नजिकबाट महसुस गरेको बताइन् । पुस्तक प्रकाशनमा आफ्नो दाजुको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उहाँले नेपालमा जन्म दिने आमासँगै इजरायलमा आफूले धर्म दिने आमाजस्तै ममतामयी व्यक्तित्व पाएको स्मरण गरिन् ।
लेखिकाका अनुसार ‘इमा’ इजरायली शब्द हो, जसको नेपाली अर्थ ‘आमा’ हुन्छ । पुस्तकमा आमाप्रतिको माया, आत्मीय सम्बन्ध, वैदेशिक भूमिमा नेपाली कामदारले भोग्ने भावनात्मक संघर्ष, संस्कृतिको अन्तरसम्बन्ध तथा मानवीय संवेदनाका विविध आयामलाई समेटिएको छ । यसअघि उक्त कृतिको विमोचन इजरायलमै सम्पन्न भइसकेको जानकारी पनि कार्यक्रममा दिइएको थियो । ‘इमा’ दिवंगत इम्प्लोयर माया वाइनको शोक स्मृतिको रूपमा आएको हो । दानाले इजरायलमा आफ्नी रोजगारदाताको रूपमा रहेनुभएकी माया वाइनको सम्झनामा लामो समयसँगै रहेर बिताएका पलहरू, उहाँको जीवन, योगदान, सङ्घर्ष, प्रेम र सम्झनालाई लेखिकाले शब्दमा बाँध्ने प्रयास गरेकी छिन् ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै इजरायली राजदूत इस्मुलीक एल्विसले नेपाल र इजरायलबीचको सांस्कृतिक तथा मानवीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता साहित्यिक कृतिले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपाली समुदायले इजरायलमा पुर्याएको योगदानको प्रशंसा गर्दै कृतिको सफलताको शुभकामना व्यक्त गरिन् ।