चलचित्र ‘काँडेतार’का विषयमा नेपाल चलचित्र कलाकार संघको ध्यानाकर्षण

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०८०, शुक्रबार

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ तथा नेपाल चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै नेपाली चलचित्र ‘काँडेतार’ को विषयमा ध्यानाकर्षण भएको जनाएका छन् । ‘कलाकार, निर्देशक, निर्माता एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्कालाई उहाँले निर्माणरनिर्देशन गरेको चलचित्र ‘काँडेतार’ का विषयमा धम्कीपूर्ण अभिव्यक्ति आएकोप्रति नेपाल चलचित्र कलाकार संघ खेद व्यक्त गर्दछ,’ नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘चलचित्र निर्माण जस्तो कला, संस्कृति, साहित्यलाई उजागर गरी समाज रूपान्तरण, सामाजिक सन्देश प्रवाहित गर्ने क्षेत्रमा यस किसिमको निरुत्साहित पार्ने एवं राष्ट्र, राष्ट्रियताका विषयमा केन्द्रित रहेर निर्माण गरिएको काँडेतार र यसका निर्मातारनिर्देशक नवल खड्कालाई कुनै पनि क्षेत्रबाट यस किसिमको भौतिकरूपमा आक्रमण हुन सक्ने भनी आएको तुच्छ अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी चलचित्रले बोक्ने कला, साहित्य, संस्कृतिका क्षेत्रमा निरुत्साहित पार्ने कुनै पनि दुखद् अभिव्यक्तिप्रति सम्बन्धित निकायको पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा चलचित्र आफैंमा सामाजिक रूपान्तरण गर्ने माध्यम भएकाले मूलतः चलचित्र राष्ट्र र राष्ट्रियतामा केन्द्रित छ र यसले आमनागरिकलाई राष्ट्रियताप्रति सजग गराउने एवं झकझक्याउने काम गरेको छ, न कि यसले कसैलाई भड्काउने, सामाजिक सद्भाव बिगार्ने, जातीय द्वेष फैलाउने, आन्तरिक अन्तरदेशीय सम्बन्धलाई भड्काउने जस्ता काम नगरेको उल्लेख छ ।

‘अमुक व्यक्तिबाट खुला चुनौती दिँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु, अमुक समूहबाट सामाजिक सञ्जालमा खुला चुनौती दिनु निन्दनीय रहेको हामीले ठहर गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमका गतिविधि, प्रवृत्ति कोही कसैबाट नहोस् र सामाजिक सन्देशयुक्त चलचित्र निर्माणमा अवरोध कुनै पनि हालतमा नहोस् एवं आगामी दिनमा पनि चलचित्र निर्वाधरूपमा चल्ने वातावरण होस् भन्दै निन्दनीय कार्यको पुनः भत्र्सना गर्दछौँ ।’

यसैगरी नेपाल चलचित्र निर्माता संघ तथा नेपाल चलचित्र निर्देशक समाजले पनि बुधबार एक-एकवटा विज्ञप्ति प्रकाशित गर्दै यो विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल चलचित्र निर्देशक समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र काँडेतारका निर्माता, निर्देशक तथा यस संस्थाका सदस्य नवल खड्काज्यूलाई भौतिकरूपमा कारबाही गर्ने भन्ने धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र निर्देशक समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाजका महासचिव अरुणकुमार प्रधानद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘एउटा सर्जक आफ्नो सिर्जना र कृति बनाउनका लागि स्वतन्त्र हुन्छ । लोकतान्त्रिक मुलुकमा कुनै पनि सर्जक कसैको धम्की र दबाबमा पर्नुहुँदैन । त्यस अर्थमा यस संस्थाका सदस्य निर्देशक नवल खड्काप्रति चलचित्र काँडेतारको विषयलाई लिएर आएको धम्कीप्रति यस संस्थाको घोर आपत्ति छ ।’

नेपाल चलचित्र निर्माता संघले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली चलचित्र काँडेतारको विषयलाई लिएर अनलाइन मिडियामा कुनै अमुक व्यक्तिले उल्लेखित चलचित्रका नायक, निर्देशक एवं निर्माता तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्कालाई भौतिकरूपमा आक्रमण गर्ने तात्पर्यको अभिव्यक्ति दिइएको उपर यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘सिनेमा निर्माण जस्तो समाज रूपान्तरणको सशक्त माध्यमबाट सवल समाज निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने चलचित्रकर्मीमाथि यसरी खुलेआमरूपमा धम्कीपूर्ण अभिव्यक्ति मञ्चन हुनु विधिको शासनविपरीत, संविधानको खिलाप र स्रष्टाको सिर्जनाप्रति घोर अपमान हो,’ संघका वरिष्ठ उपाध्यक्ष उदयकुमार इङनामद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु