फ्लाई नेपा र गायिका लम्सालको बीच देखियो मतभेद, बाहिरियो आधिकारिक धारणा

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार ०१:०८

काठमाडौं । अमेरिकामा आयोजित ‘गाउँछ अमेरिका’ कार्यक्रमका लागि अमेरिका उडेकी गायिका कला लम्साल र आयोजक संस्था फ्लाई नेपाबीच मतभेद देखिएको छ । गायिका कला लम्सालसँगै गायक बद्री पंगेनी, प्रताप दास र गायिका एलिना चौहान पनि अमेरिका उडेका थिए । तर गायिका कला लम्सालको भने स्वास्थ्यमा समस्या आएपछि नेपाल फर्केकी छन् । नेपाल फर्किंदै गर्दा गायिका लम्सालले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफूलाई बिरामी पर्दा आयोजकले वेवास्ता गरेको, थर्काएको भन्ने आरोप लगाएकी थिइन् । तर आयोजक फ्लाई नेपाका तर्फबाट विनोद अधिकारीले भने गायिका लम्सालको बारेमा सामाजिक सञ्जालमार्फत नै सबैलाई प्रष्ट पारेका छन् । उनले गायिका हरिकला लम्साल (कला लम्साल)को बारेमा फ्लाई नेपाल ट्राभलको सचिवालय मार्फतको धारणा पोस्ट गर्दै गायिका लम्सालले भनेजस्तो आरोप केही पनि सत्य नभएको प्रष्ट पारेका छन् ।
गायिका लम्सालले आयोजकले विभिन्न तनाव दबाब दिएर नै भारी मन बनाउँदै नेपाल फर्किएको आरोप पोस्ट गरेपछि सोही विषयमा म्यूजिक खबरसँग कुराकानी गर्दै आयोजक विनोद अधिकारीले भने– ‘गायिका लम्साल नेपालबाट नै ढाडको नशामा समस्या आएर बिरामी अवस्थामा नै आउनुभएको रहेछ । हामीलाई बिरामी छु भनेर ढाँटेर आउनुभयो तर यहाँ आएपछि बिरामी पर्नुभएको हो । हामीले सकेको उपचार गरेका हौं र उहाँ आफ्नो खुशीले नेपाल फर्कनु भएको हो ।’ गायिका कला लम्साललाई अमेरिकामा कार्यक्रमका लागि ल्याएको र कार्यक्रम अवधिभरको पारिश्रमिक पनि दिएका छौं साथै टिकट गरेर पठाएका हौं, अधिकारीले म्यूजिक खबरलाई भने– औषधी ल्याउन बिर्सनुभएको रहेछ, कार्यक्रममा उपस्थित हुन उहाँलाई गाह्रो भएपछि उहाँकै सहमति अनुसार फर्किनुभयो तर यस्ता झुठा आरोप लगाउनुको कारण भने बुझ्न सकेको छैन ।’

सोही विषयमा सँगै अमेरिका पुगेकी गायिका एलिना चौहानले भनिन्– ‘गायिका लम्साल बिरामी पर्नुभएको हो, आयोजकको तर्फबाट त्यस्तो अप्mठ्यारो केही गरेजस्तो हामीलाई लागेको छैन किन उहाँले त्यो भन्नुभयो ? उहाँ नेपालबाट नै बिरामी अवस्थामा आउनुभएको रहेछ ।’ त्यस्तै सँगै अमेरिकामा कार्यक्रम गरिरहेका गायक बद्री पंगेनीका अनुसार आयोजक र कलाबीचमा आन्तरिक केही कुरा भए थाहा छैन तर आयोजकबाट त्यस्तो असहज परिस्थिति निर्माण भएको छैन । पंगेनीले भने– ‘कला बहिनी नेपालबाट नै बिरामी अवस्थामा आउनुभएको हो, आयोजकले उहाँलाई ससम्मान सुविधासहित राखेको हो तर उहाँले सामाजिक सञ्जालमा लेखेको देख्दा अचम्म परेको छु ।’
यो भन्दा अगाडि गाउँछ अमेरिका, नाच्छ अमेरिका, हाँस्ट अमेरिका र सुन्छ अमेरिका कार्यक्रम आयोजना गर्दै आएको आयोजक संस्था फ्लाई नेपाल ट्राभल र गायिका कला लम्सालको बीचमा देखिएको मतभेद पछिल्लो समय कला क्षेत्रमा चर्चाको विषय भने बनेको छ । यसरी दुबै पक्षको मतभेद बाहिर आउनु राम्रो कुरा भने पक्कै होइन ।

सोही विषयमा फ्लाई नेपाको तर्फबाट राखिएको आधिकारिक धारणा जस्ताको तस्तैः

कलाकार हरिकला लम्सालको बारेमा फ्लाई नेपा ट्राभलको आधिकारिक धारणा
फ्लाई नेपा ट्राभल अमेरिका, नेपाल र युएईमा शाखा भएको विश्वव्यापी कम्पनी हो । व्यवसाय प्रबद्र्धनको एक शैलीको रुपमा हामीले ‘अब गाउँछ अमेरिका’ शीर्षकमा, हामीले संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरूमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छौं।
गायिका कला लम्सालले नेपाल फर्केसँगै कार्यक्रम र आयोजकलाई बदनाम गर्ने मनसाय राखी सामाजिक सन्जालमा वक्तव्य दिएपछि हामी उनका कुरामा कुनै सत्यता नरहेको जानकारी गराउँदै उनले लगाएका आरोपका बारेमा स्पष्ट पार्न चाहन्छौं ।
१. सबै सहभागी कलाकारहरूलाई संयुक्त राज्य अमेरिकामा बसाइ अवधि भरका लागि ट्राभल इन्स्योरेन्स गर्नुपर्ने आवश्यकताको बारेमा अग्रिम जानकारी गराइएको थियो।
२. हामीले भिजा प्रक्रिया सुरु गर्दा नै कलाकारलाई कुनै रोग भए जानकारी गराउन अनुरोध गरेका थियौँ । त्यतिबेला सुश्री लम्सालले हामीलाई त्यस्तो कुनै स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको थिएन ।
३. भ्रमणको क्रममा, हामीलाई पछि थाहा भयो कि लम्साललाई अन्तर्राष्ट्रिय यात्रा गर्नु अघि चिकित्सा परामर्श लिन सुझाइएको थियो। दुर्भाग्यवश, उहाँले हामीलाई यो विषयमा कुनै जानकारी गराउनु भएन ।
४. नेपाल फर्कने निर्णय लम्सालको आफ्नो निर्णय थियो । आयोजक टोलीले उनलाई यो निर्णय लिन कत्ति पनि दबाब दिएको थिएन।
५. स्वास्थ्य समस्याको बाबजुद पनि उहाँले केही कार्यक्रममा प्रस्तुति दिनु भएको थियो । सो समयमा आयोजकको रुपमा गर्नुपर्ने सबै व्यवस्था गरेका थियौँ ।
६. लम्सालले आफ्नो पोस्टमा दाबी गरेझैं, संयुक्त राज्य अमेरिकामा उनको उपचारको लागि चार देखि पाँच महिना लाग्नेछ भनेर हामीले कुनै पनि समयमा भनेका थिएनौं।
७. गायिका लम्साललाई नेपाल फर्कने समयमा सम्झौता अनुसारको पूरा रकम र थप ४१,५०० डलर प्रदान गरिएको थियो र यो कुरामा उनले सहमति पनि जनाएकी थिइन् ।
८. साथीभाइ वा परिवारसँग सम्पर्क गर्न प्रतिबन्ध लगाइएको आरोपको सम्बन्धमा, हामी स्पष्ट पार्छौं कि उनको बसाइ साथी कलाकारहरूसँगै व्यवस्था गरिएको थियो बोल्न वा हिँड्डुल गर्नका लागि कुनै प्रतिबन्ध थिएन।
फ्लाई नेपा ट्राभलले यी मामिलाहरूसँग सम्बन्धित कागजातहरू आफूसँग जानकारी गराउन चाहान्छ। यदि गायिका लम्साललाई लाग्छ कि उनीमाथि अन्याय भएको छ र कानुनी उपचार लिन्छु, हामी उनले अपनाउने कानुनी प्रक्रियामा पारदर्शी रूपमा सहयोग गर्ने वाचा गर्दछौं।
अन्त्यमा, हामी हरिकला लम्सालको पूर्ण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ र भ्रमणमा उनको सहभागिताको लागि धन्यवाद प्रकट गर्दछौँ ।

सचिवालय
फ्लाई नेपा ट्राभल

आयोजकको वेवास्ताका कारण ‘गाउँछ अमेरिका छाडेर’ ह्विलचेयरमा फर्किइन् कला लम्साल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु