• गायिका मिरा राणाले गरिन् गीतकार कल्पना आङबुहाङको चार भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३१ असार २०८१, आईतवार

    काठमाडौं । गीतकार कल्पना आङबुहाङको चार वटा गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा सम्मानित गायिका मिरा राणाको प्रमुख आतिथ्यतामा उक्त चार भिडियोलाई सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्कृतिविद एवं सम्मानित संगीतकार बुलु मुकारुङ, नारायण गोपाल संगीत कोष एवम् तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दिपक केसी, सम्मानित गायिका कविता आले, गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

    गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइरालाले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै गीतकारहरुको लगानी कसरी सुरक्षित गर्ने भन्ने विषय प्रमुख रहेको बताए । उनले गीतकारहरुको हक, अधिकार र बौद्धिक सम्पत्तिको संरक्षण गर्नका लागि संघ सदैव क्रियाशील रहेको बताए ।

    कार्यक्रममा गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष शुभ मुकारुङले गीतकार कल्पना आङबुहाङको सिर्जना पूर्वेली लोकलय र भूगोल अनुसारको रहेको बताउँदै सफलताको शुभकामना समेत दिए । त्यस्तै नारायणगोपाल संगीत कोष एवं तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दिपक केसीले गीतसंगीतका लागि महाविद्यालय खोल्न लागेको बताउँदै सर्जकहरु धरापमा परिरहेको अवस्थामा स्थानीय निकायले आफ्ना क्षेत्रका सर्जकहरुको पहिचान गरी विशेष व्यवस्था निर्माण गर्नुपर्ने बताए ।

    संस्कृतिविद् एवं प्रतिष्ठित संगीतकार बुलु मुकारुङले गीतकार कल्पना आङबुहाङका सिर्जनाहरुले सबैको मन जित्ने विश्वास व्यक्त गर्दै शुभकामना दिए । मुकारुङले समग्र संगीत क्षेत्रको उत्थानमा समय खर्चिँदै आउँदा भोगिएका र देखिएका कुराहरुले पनि सुरक्षित गन्तव्यको खोजी गर्नुपर्ने समय आएकोसमेत बताए ।

    गीतकार कल्पना आङबुहाङले गीतिलेखनको अनुभव सुनाउँदै भनिन्– ‘घरबासमा छँदा देशको माया लागेजस्तो कहिल्यै भएन तर प्रवास लागेपछि देशको मायाले सताउन थालेपछि सिर्जनाहरु जन्मिन थालेको बताउँदै यो देशको भूगोल, कलासंस्कृति, साहित्य विश्वमा नै फरक प्रकृतिको रहेको पाएँ । त्यसैले जानी नजानी सिर्जनाहरु कोरेर बजारमा ल्याउने काम गरेको हुँ ।’ गीतका आङबुहाङले आगामी दिनमा पनि यहाँहरुको माया पाइरहँदा सिर्जनाहरु लिएर आउने प्रण गरिन् ।

    कार्यक्रमका प्रमुख अतिथि सम्मानित गायिका मिरा राणाले गीतकार कल्पना आङबुहाङलाई शुभकामना दिँदै गीतकार संघ नेपालले आफ्ना सर्जकहरुको सिर्जना शिल्पलाई बजारमा ल्याउने प्रोत्साहन गरिरहेको बताउँदै गायक गायिकालाई पनि गीतकार संघ नेपालका कार्यक्रमहरुमा जोड्दै लगेकोमा खुशी व्यक्त गरिन् । उनले २०५६ सालमा नेपालको गीतसंगीतको पहिलो संस्थाका रुपमा सांगीतिक संघ नेपाल स्थापना गरेका दिनहरु सम्झँदै गीतकार, संगीतकार र गायक गायिकाको साझा थलो बनाएकोमा आज आ–आफ्नै संस्था निर्माण हुनु झन् फराकिलो भएको बताइन् ।

    कार्यक्रमका सभापति गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले सभालाई समापन गर्दै गीतकार कल्पना आङबुहाङले आफ्नो संघलाई कार्यक्रम आयोजना गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । गीतकार आङबुहाङका सिर्जना र लगानीलाई सुरक्षित बनाउन र त्यसबाट प्रतिफल लिन अझै कठिनाइ भइरहेको बताउँदै बौद्धिक सम्पत्तिको अधिकार स्थापित गर्नका लागि गीतकार संघ अझै अभियानमा नै रहेको बताए । सरकारी क्षेत्रबाट नै नियम कानून नबन्नु र सरकार परिवर्तनसँगै हाम्रा मागहरु सम्बोधन नुहुनेले चुनौति यथावत रहेकोमा सबैको ध्यानाकर्षण समेत गराएका थिए । हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने बताउँदै गीतकार आङबुहाङका गीतहरुले समाज बोलेको बताए ।

    कार्यक्रमलाई यासेली योङहाङले संचालन गरेका थिए । कार्यक्रममा गीतकार कल्पना आङबुहाङका चार गीत पेलि फाक् सेवारो, परदेशी जीवन, पत्थर कोइला र हुलाकी दाईको भिडियो सार्वजनिक गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु