अग्रज संगीतकार कमल क्षेत्रीको निधन, अस्ताए ‘रागहरुको साँचो’

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७५, मंगलवार

काठमाडौं । अग्रज संगीतकार कमल क्षेत्रीको ७७ वर्षको उमेरमा निधन भएको छ । शास्त्रीय संगीतमा निपूर्ण ज्ञान हासिल गरेका संगीतविज्ञ क्षेत्री लामो समयदेखि विरामी अवस्थामा नै हुनुहुन्थ्यो । उहाँको गए राति १२ बजे निधन भएको बताइएको छ ।
बि.स. १९९८ सालमा काठमाडौँमा जन्मनु भएको हो । उहाँले शास्त्रीय रागहरू बारे पुस्तक ‘रागहरुको साँचो’ समेत लेखि सक्नु भएको छ । पछिल्लो समय आफ्ना शिष्यहरुलाई सङ्गीत प्रशिक्षण दिंदै आउनु भएको थियो।
२०२७ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत रहनुभएका संगीतकार क्षेत्री एक होनाहार शास्त्रीय संगीतका गुरु हुनुहुन्थ्यो सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी दिनुभयो । उहाँको संगीतमा तयार भएका धेरै गीति नाटक नाचघरमा रहेका छन् जो प्रदर्शनको क्रममा रहेका छन्, थापाले भन्नुभयो ।

क्षत्रीले मुनामनदमा सहायक संगीत निर्देशन र स्वरसमेत प्रदान गर्नुभएको छ । शिव ताण्डव नृत्य नाटिकासमेत संगीत भर्नुभएका क्षत्रीले प्रयाग संगीतका लागि इलाहवादबाट प्ररीक्षा दिनेहरुका लागि महत्वपूर्ण योगदान खेल्दै आउनुभएको कुरा कलाकार एवं सांस्कृतिक संस्थानका कार्यक्रम महाशाखा प्रमुख प्रभाकर देव शर्माले जानकारी दिनुभयो ।

रेडियो नेपालमा छँदा धेरै सहकार्य गर्नपाएको दिन सम्झँदै संगीतकार टीका भण्डारी भन्नुहुन्छ– उहाँ शास्त्रीय संगीतको रथी हुनुहुन्थ्यो । उहाँका संगीत र स्वरमा रेडियो नेपालमा धेरै गीतहरु रेकर्ड भएका छन् भण्डारी सम्झँदै भन्नुहुन्छ उहाँ त आजीवन प्रशिक्षक भएर संगीतकै सेवामा दिन बिताउनुभयो ।


संगीतविज्ञ क्षत्रीको स्वरमा रहेको र रामशरण नेपालीको संकलनमा रहेको गीत ‘माया कसले नेप्टीलाई लाइटर’ कुनै बेला निकै चर्चामा थियो । गायक कमल क्षेत्रीको यो गीत २०२६ सालतिर पहिलो रेकर्ड भएको थियो । पछि उत्कृष्ट नेपाली लोकगीतहरुको संलनमा परेको यो गीत २०५८ सालतिर पुनः रेकर्ड गरिएको गीत हो । रेडियो नेपालबाट बज्ने यो गीतले क्षत्रीलाई चर्चा दिलाए पनि उहाँ चर्चामा भन्दा प्रशिक्षण दिएर रागहरुका पुस्तहरु लेख्न, अध्ययन गर्न रुचाउनुहुन्थ्यो । गायक विज्ञान श्रेष्ठको स्वरमा रहेको कमल क्षेत्रीको संगीत रहेको गीत ‘गगनभरिको ताराको टिलपिल टिपेर’ पनि उहाँको सम्झनयोग्य गीतमा पर्छ । त्यस्तै सुख खोजेर भेटिने भए चुपचाप मरिदिन्थे गीत पनि संगीतकार क्षत्रीको संगीतमा रहेको अमर सिर्जना हो ।

अमर स्रष्टा क्षेत्रीप्रति म्यूजिक खबर परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु