चेक बाउन्सको मुद्दामा मोडल खुश्बु ओलीलाई दुई वर्ष कैद

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७६, शनिबार
Khusbu Oli

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजायँ सुनाएको छ । मोडल ओलीलाई आर्थिक लेनदेनको परेको मुद्दाको सुनुवाइपछि न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलासले मोडल ओलीलाई दोषी ठहर गर्दै दुई वर्षको सजायँको फैसला गरेको हो ।
मोडल ओलीविरुद्ध पीडितले लिएको ३६ लाख रुपैयाँको चेक नसाटिएपछि मुद्दा दायर गरेका थिए । सप्तरी जिल्लाको राजविराज–८ का गोपाल कटुवालसँग घरजग्गा कारोवारका लागि भन्दै ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी फिर्ताका क्रममा खुस्बुले ३६ लाख रुपैयाँको चेक दिएकोमा कुमारी बैंक न्यूरोड शाखाबाट तीनपटक सम्म नसाटिएर ‘बाउन्स’ भएको थियो ।


गत वर्ष कटुवालले काठमाडौँ जिल्ला अदालतमा खुस्बुविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए । सो मुद्दामा अदालतले खुस्बुलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाका अतिरिक्त चेक काटेको मितिदेखिको साँवा, ब्याजसमेत तिर्नुपर्ने फैसला गत जेठमा गरेको थियो ।
यद्यपि अदालतको फैसला कार्यान्वयन भएन । त्यसपछि पीडित कटुवाल न्याय माग्दै पुनः अदालत समक्ष पुगेका थिए । अदालतले म्याद तामेली गर्दासमेत खुस्बु सम्पर्क आइनन् । त्यसपछि कटुवालले गत पुसमा जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही मुद्दाको फैसला गर्दै न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलासले खुस्बुलाई दुई वर्ष कैद सजाय तोकेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु