गीत संगीतमा फक्रँदै कोपिला

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । गायिका कोपिला गौतमको नयाँ तिज गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक भएको छ । म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीत तिजको अवसरमा नयाँ शैलीमा प्रस्तुत भएको छ । गायक पशुपति शर्मासँग गाएको गीत ‘पोखरा फेवाताल’को चर्चासँगै गायिका कोपिला गौतमलाई पनि चर्चा मिल्यो । त्यो गीत आज पनि उत्तिकै बजिरहने गर्छ ।

त्यस्तै गत वर्ष मात्र बजारमा आएको गायक चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत ‘चौतारी ताकेर’ पनि उनका लागि एउटा इँटा थप्ने काम भयो भने यसपालीको तिज गीत ‘आमाले पकाएको दर’ ले पनि उनीप्रति सफलताको विश्वास बोकेको छ । लोकराज अधिकारीको शब्द एवं गोविन्द मधुर आचार्यको संगीत तथा संगीत संयोजनमा तयार भएको गीत आमाले पकाएको दर पनि धेरैले रुचाउने क्रम जारी छ ।

यस गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने गीतमा कोपिला गौतम आफैं देखिएकी छन् भने चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो ।


गायिका कोपिला गौतमको पनि मौलिक तीज गीत सार्वजनिक भएको छ । गौतमको नयाँ तीज गीतको बोल हो ‘आमाले पकाएको दर राम्रो’ । वास्तवमा चेलीलाई तीजमा माईती नै प्यारो हुन्छ । भनिन्छ ‘चेलीलाई माईतीको कुकुर पनि प्यारो लाग्छ ।’ त्यसै अनुसार तयार परिएको गीत ‘आमाले पकाएको दर राम्रो’ हो । पछिल्लो समय पुरानी गायिका कोपिला गौतमको गीतहरु त्यती बजारमा आएका छैनन् । तर तीज गीत भने उनले प्रत्यक बर्ष बजारमा ल्याईरहेकी छन् ।

पूर्वेली भाकाहरुदेखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी कोपिला गौतमले करिब दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । गायनको यात्रामा प्रत्यक्ष दोहोरी गायनतर्फ हिंडेकी कोपिला गौतमले ६० को दशकमा नै पूर्वेली लोक गीत रेकर्ड गराएकी छन् । आफ्ना बुबा देवीप्रसाद गौतमसँग स्वर भरेको ‘जाउँ है चेली’ बोलको पूर्वेली गीतले उनलाई गायनमा पाइला टेकाएको हो । गाउँको एसएलसीसम्मको अध्ययनपछि काठमाडौं प्रवेश गरेकी गायिका गौतमले गीतसंगीतमा राम्रै सफलता हात पारेकी हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापनासँगै पूर्वाञ्चल उपाध्यक्ष जस्तो पदमा जिम्मेवारी सम्हालिसकेकी छन् ।

गायिका गौतमको स्वरमा रहेको अर्को गीत ‘कस्तो आयो जमाना’ ले पनि राम्रै चर्चा बटुलेको छ । यसै वर्ष सार्वजनिक भएको यो गीत गायक नवीन पौडेलसँगको सहकार्यमा बजारमा आएको उक्त गीतका सर्जक पनि नवीन पौडेल नै हुन् । यो गीतले पनि जमाना अनुसारको व्यंग्य व्यक्त गरेको छ । त्यस्तै गायक पौडेलसँगै गाएको अर्को गीत पनि बजारमा आउने तयारीमा छ । त्यस्तै गायक कृष्ण रेउलेसँग गाएको गीत पनि बजारमा आउने तयारीमा रहेको छ ।

पूर्वको ईलाममा जन्मिएकी गौतमलाई पश्चिम गीत गाउन त्यति सजिलो त थिएन । तर यनले त्यसलाई सामना गरि लाईभ दोहोरी गाउँछिन् । पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी छन् । ६० कै दशकमा देशभित्र हुने विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुति दिँदै आएकी गायिका कोपिला गौतमले लामो समय गीतसंगीतको क्षेत्रमा अनुभव बटुलिसकेकी छन् । थोरै गीत भए पनि गुणात्मकतामा ध्यान दिने उनको बानी छ । संख्यामा विश्वास लाग्दैन उनी भन्छिन् – कमसे कम आफूले गीत गाइसकेपछि आत्मसन्तुष्टि मिल्नुपर्छ । आफ्ना बुबा देवीप्रसाद गौतमसँग नै संगीतका आरोह अवरोह सिकेकी उनले देश विदेशका स्टेज शोहरुमा पनि आफूलाई उभ्याइसकेकी छन् । संगतले नै संगीतमा उचाइ मिल्दो रहेछ उनी भन्छिन्– ‘घरमा बुबाले गाउनु भएका गीतहरुकै कारण म पनि संगीतको क्षेत्रमा लाग्न थालें, मनमा गायिका बन्ने रहरहरु बढे त्यसपछि यही क्षेत्रलाई आत्मसात गर्न थालें ।’ ललितकला क्याम्पसमा संगीत विषयमा नै अध्ययन गरेकी गायिका कोपिला गौतमले अध्ययन सँगसँगै गायनमा पनि निरन्तरता दिएकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु