लोक संचारकर्मी नेपालको १५औं स्थापना दिवसमा कँडेललाई सम्मान, लोकसंगीतको विषयमा अन्तरक्रिया (फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०८०, आईतवार

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको स्थापनाको १५ वर्ष पुगेको अवसरमा एक कार्यक्रम आयोजना गरी गायक कृष्ण कँडेललाई पत्रकारिता पुरस्कार प्रदान गरियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कँडेललाई गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट ५ हजार ५ सय ५५ नगद राशिसहित सम्मान गरिएको हो । संस्थाका सहसचिव समेत रहेका शर्मा सडक दुर्घटनामा परी निधन हुन पुगेका थिए । उनको नाममा स्थापना गरिएको पुरस्कार पहिलोपटक कँडेललाई प्रदान गरिएको थियो ।

सम्मानपछि प्रमुख अतिथि शर्माले नेपाली लोकसंगीतको खोज अनुसन्धानको लार्गि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान लागिरहेको बताउँदै आगामी दिनमा कला क्षेत्रको लागि विशेष योजनासहित अघि बढ्न लागेको बताइन् । उनले कला क्षेत्र भनेको संस्कार र संस्कृतिको क्षेत्र भएको हुँदा विशेष रुपमा यसलाई महत्वमा राखेको समेत बताइन् ।

त्यसैगरी सम्मान ग्रहणपछि सञ्चारकर्मी कँडेलले लोक गीत र सम्बन्धित कलाकारको दुःखको सारथी भएको बताउँदै लोक संस्कृतिको क्षेत्रमा क्रियाशील सम्पूर्णका लागि आफूले सकेको सहयोग गर्ने बताए । उनले आफूले समाजसेवा गरिरहँदा यूट्यूबमा कपिराइट लगाएर अगाडि बढ्न नदिएको गुनासो व्यक्त गर्दै समाजसेवा गर्दा पनि संगीत उत्पादन गर्ने कम्पनी तगारो बनेको बताए । अबका दिनमा आफैंले भाका सिर्जना गरेर रोयल्टी व्यवस्थापन गर्ने योजना गरेको बताउँदै लोक संगीत, संस्कृतिको जगेर्ना र समाजसेवामा आफू सदैव लागिरहने बताए ।

लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा वरिष्ठ गायक, संगीतकार, निर्देशक नारायण रायमाझी, वरिष्ठ गायक नन्दकृष्ण जोशी, वरिष्ठ गायक बमबहादुर कार्की, वरिष्ठ गीतकार तथा संचारकर्मी डा.नवराज लम्साल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, लोक सांस्कृतिक संघका अध्यक्ष नमराज ढुंगाना, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्ष गुणराज खनाल, लोकदोहोरी व्यवसायी संघ नेपालका अध्यक्ष विनोद श्रेष्ठ, लोक संचारकर्मी नेपालका संस्थापक सदस्य श्री थापा, लोकप्रिय गीतकार एकनारायण भण्डारी लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

१५ स्थापना दिवसको अवसरमा ‘लोकसंगीत, लोकसंस्कृति हिजो र आज’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, वरिष्ठ गीतकार, साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्साल, देउडा गीतका ज्ञाता वरिष्ठ गायक नन्दकृष्ण जोशी, काठक्षेत्रका वरिष्ठ सर्जक तथा गायक ध्रुवराज खड्का र लोकप्रिय गीतकार तथा संगीतकार एकनारायण भण्डारी रहेका थिए ।

कार्यक्रममा वरिष्ठ गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीले समय अनुसार लोकगीत, र लोक संस्कृतिको वर्गीकरण गर्नुपर्ने बताए । हिजोका गीत र आजका गीतका विषयमा गम्भीर भएर बहस, विचार विमर्श गरी लोकगीत र लोकसंस्कृतिको क्षेत्रमा अध्ययन गर्नुपर्ने बताए ।

त्यस्तै वरिष्ठ गीतकार, साहित्यकार डा.नवराज लम्सालले लोकगीतलाई जसले जसरी प्रयोग गरे यही देशका लागि गरे भन्दै नदीमा छाल आउँछ किनारा लाग्छ भन्दै विकृति आउँछन् जान्छन् त्यसलाई बिर्सिदिन आग्रह गरे । लोकसंगीतलाई प्रयोग गरेर केही राम्रोमा ठहरिए, केहि नराम्रो ठहरिए तर यही देशमा लगानी गरे, विदेश जानबाट रोकिए भन्दै डा.लम्सालले उनीहरुको पछि नलागी आफू सकारात्मक भएर लाग्न अनुरोध गरे ।

त्यस्तै गीतकार तथा संगीतकार एकनारायण भण्डारीले बौद्धिक, आर्थिक र नैतिक अधिकारको विषयमा सजग रहनुपर्ने बताए । उनले स्रष्टाको सिर्जनाको हकदार को, किन र कसरी भन्ने विषयलाई बहस गरी स्थापित गर्दै रोयल्टीको विषयमा सबैलाई चेतनशील बनाएर अगाडि बढ्नुपर्ने बताए । स्रष्टाको मौलिक अधिकारलाई राज्यले नीतिगत रुपमा कार्यान्वयन गर्नुपने बताए ।

त्यस्तै गायक ध्रुवराज खड्का र गायक नन्द कृष्ण जोशीले हिजोका दिनमा आफूले भोगेका विषयलाई कार्यक्रममा प्रस्तुत गरेका थिए । उनीहरुले आफूले गरेका र भोगेका कुराहरुलाई व्यक्त गरिरहँदा वर्तमान समयमाको कुरामा भने अन्यौल रहेको जस्तो देखियो । समग्रमा लोकगीत, लोकसंस्कृतिको विषयमा हिजोका कुरा आइरहँदा आजको डिजिटल समयले भोगेका चुनौतिका विषयमा भने खास निचोड अन्तरक्रियामा आउन सकेन । जे होस् सकारात्मक रुपमा बहस छेडिनु राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको लागि भने महत्वपूर्ण नै देखियो । यस्ता बहस, अन्तरक्रियाले भोलिका दिनमा नयाँ बाटो पहिल्याउन प्रेरित गर्नेमा सबैले आशा व्यक्त गरेका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु