आजसम्म कसैलाई पनि फसाउन सकिएन : कृष्णा गुरुङ

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७१, बिहीबार

काठमाडौं, ८ जेठ । स्याङ्जामा जन्मिएर गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएकी गायिका कृष्णा गुरुङ स्याङजाली चलाख हुन्छन् भनेपछि आजसम्म कसैलाई फसाउन नसकेको बताउँछिन् । त्यसो त उनलाई फसाउन सक्ने पनि कोही आएनन् भनेर भन्न पनि भ्याइन् । प्रेम दुई आत्माको मिलन हो सेक्सबिना प्रेम चल्दैन भन्ने गायिका कृष्ण गुरुङसँग म्यूजिक खबरका लागि नारायण ढकालले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

के मा व्यस्त हुनुहुन्छ ?
म अहिले दोहोरी गीतहरु पनि बजारमा ल्याउने काममा नै व्यस्त भइरहेको छु भने प्रायजसो स्टेज कार्यक्रममा नै व्यस्त हुने गरेको छु । कहिले पोखरा कहिले काठमाडौंको बसाई भएको हुँदा झनै व्यस्त बन्न पुगेको छु ।
गायिका नै बन्नुको कारण ? श्रोत के त ?
म एउटी गाउँकी केटी, गाउँमै हुर्केको बाल्यकालमा पनि डोको नाम्लोमा बिताएको मान्छे म । मेलापातमा जथाभावी जहिले पनि गीत गाउने गर्थे, स्कुल स्तरीय कार्यक्रममा गीत गाउँथे र पुरस्कारहरु पनि जित्ने गर्थे अनि आफैंले आफैंलाई म साँच्चि नै राम्रो गीत गाउन सक्ने रहेछु जस्तो लाग्न थाल्यो । बिस्तारै गाविस स्तरीय तथा जिल्ला स्तरीय प्रतियोगीतामा पनि भाग लिन जान थालें । त्यहाँ पनि पुरस्कारहरु जित्न थाले पछि गायिका हुने रहर पनि पलाउन थाल्यो । प्रेरणाको श्रोत त मेरो घर परिवार, बुवा आमा, साथी संगी, नै हो त्यसमा पनि विशेष प्रेरणाको श्रोत मेरो आमालाई मान्दछु । मैले गीत गाउने एउटा कार्यक्रममा मेरो आमा हेर्न जानु भएको थियो जहाँ मेरोे गीत सुनेर आमा लगायत सम्पूर्ण दर्शकको समेत आँखा रसाएको थियो जसले मलाई गायिका बन्नमा झनै हौसला मिल्यो ।
पहिलो गीतिसंग्रह ?
गीत गर्न त मैले २०६३ सालमा साथीसँग मिलेर एउटा गीत गरेको थिएँ । तर मेरो आफ्नो पहिलो प्रस्तुती भने एकादशी बजारबाट दर्शक माझ आएको हो ।
तपाईं आफूलाई के भनेर चिनाउनुहुन्छ ?
गीत संगीतमा लोक, आधुनिक, पप, विभिन्न विधा हुन्छ जस्तो मलाई लाग्दैन किनकी सबै विधामा प्रयोग हुने सा,रे,ग,म,प,ध,नि,सा नै हो । म सबै प्रकारका गीत गाउन सक्छु मात्र यति फरक हो की म नेपालकी केटी भएको हुनाले मैले लोक गीत संगीत नै रोजेकी हुँ ।
दर्शक श्रोता माझ कति गीति संग्रहहरु पस्किुन भयो ?
संख्यात्मक हिसाबमा त ९÷१० वटा जति प्रस्तुत गरे तर कृष्णा भनेर चिनाउने त ५÷६ वटा जति छन् । जस्तै एकादशी बजार, निधारैमा लेखेसी, विमार म भएपछि आदि ।
लोक गीत गाउने त गाउँले मात्र हुन्छन् रे नी ? अनि लोक गीत गाएपछि पाखे भइन्छ रे नी त ?
जस जसले जे जे भने पनि यथार्थमा सबै देखावटी र बनावटी कुराहरु हुन् । सबै यहाँ शहरीया बन्ने र विदेशी प्रभाव परेको हो यो धेरै दिन टिक्दैन । उनीहरु लुकेर भएपनि लोक गीत नै सुन्ने गर्दछन् । वास्तवमा नेपालीको पहिचान नै लोक गीत संगीत हो ।
तपाईं राम्रो गीत गाउने मान्छे अरुको गीत गाउन अफर आउँदैन ?
अफर त जति पनि आउँछ, तर म अफरको पछि लाग्दिन । आफ्नो छुट्टै पहिचान बनाउँछु भन्ने कुरामा अडिग छु ।
खस्कँदो बजार छ कसरी सम्भव छ गीतिसंग्रह बजारमा ल्याउनलाई ?
खस्कँदो बजार भन्दा पनि हामी समय अनुसार चल्दै जाने हो । पहिला अलि सहज थियो सर्जकहरुलाई बाँच्नको लागि तर अहिले समयको कारण परिस्थितिले कोल्टे फेरेको छ । पहिला अडियो भिडियो बिक्री हुन्थ्यो अहिले इन्टरनेटको विकासले हो की समयको कारण हो कलाकारको अस्तित्व कम हुँदै गएको छ । अहिलेको अवस्थामा लाइभ प्रस्तुती हेर्न दर्शक बढिरहेको पनि अवस्था छ । स्टेज कार्यक्रमहरुले गर्दा बाँच्ने आधार भने बढिरहेको छ ।

krishna grg

गीत संगीत के हो त ?
गीत संगीत भनेको नै सुख र दुःखको साथी हो । खुसी हुँदा पनि गीत संगीतले मनमा आनन्द दिन्छ, दुःखी हुँदा पनि मनको भावनासँग बहने गर्छ गीत संगीत । मलाई लाग्छ हरेक मान्छेको आधारभुत आवश्यकता हो गीत संगीत । संगीत नै जीवन हो ।
गायिका भएपछि प्रेम प्रस्ताव धेरै आए होलान् नि ?
प्रेम प्रस्ताव धेरै नै आयो अनि प्रेम पनि गरियो नी । प्रेम बिना त जीवन कसरी चल्छ र ? सानो हुँदा परिवारसँग, स्कुल पढ्दा साथीसँग, अहिले दर्शक श्रोता र गीत संगीतसँग ।
आफूले खोजे जस्तो जीवन साथी भेटिएन ?
हा…हा… सहि कुरा । साँच्चै भन्ने हो भने मैले रोजेको जस्तो जीवनभर साथ दिने प्रेमी वा केटा भेटेको छैन ।
भनेपछि जीवनमा भ्याकेन्सी खुल्ल नै हो ?
भ्याकेन्सी खुल्ला छ तर म र मेरो विचारसँग मिल्ने हुनु प¥यो । मेरो दाजुभाइ नभएको कारण मैले नै मेरो बुवा आमालाई छोराको जिम्मेवारी पूरा गर्नु पर्ने छ । मिल्यो भने त घर ज्वाँई नै राख्नु पर्ला …. हा, हा ।
भनिन्छ नी स्याङजाली त धेरै चलाख हुन्छन् रे ?
खै आजसम्म कसैलाई फसाउन सकेको छैन । आफूले फसाउन सकेको भए थाहा हुन्थ्यो । कि मलाई फसाउन सक्ने पनि कोही आएनन् । अब कसरी चलाख भनुँ र ?
प्रेम के हो ?
प्रेम दुई आत्मा बिचको मिलन हो । प्रेम बिना कोहि पनि बाँच्न सक्दैन । जीउने आधार हो प्रेम । प्रेम बिना पागल पनि हुन सक्छ मान्छे ।
एउटा केटा र केटी बिचको प्रेममा सेक्स महत्वपूर्ण हुन्छ ?
प्रेम टिकाउन सेक्स महत्वपूर्ण हुन्छ । यो प्राकृतिक कुरा पनि हो र दुई आत्मा बिचको मिलन पनि ।
तपाँईलाई मिडियाको सपोर्ट कतिको छ ?
मिडियाले हामीलाई खोज्दैन हामी आफैं जानुपर्छ । तर पनि अहिलेका मिडियाहरु व्यवसायिक हिसाबमा कुरा गर्छन् । आफूले सोचे जस्तो त कहिं पनि हुँदैन । जे होस् राम्रो प्रतिभा भएको व्यक्तिलाई मिडियाले सपोर्ट गर्छ । एउटा दुःख लाग्दो कुरा के छ भने रड्ड पत्रकार मित्रहरुले लोक गीत संगीतका सर्जकहरुलाई सुुगम संगीतहरुको तुलनामा त्यति सपोर्ट गर्दैनन् जस्तो लाग्छ मलाई ।
कुनै दिन संगीतको बजार माथि आउला त ? तपाँईले के सोच्नु भएको छ त ?
अवश्य पनि यो डिजिटल बजारको जमाना छ । बढ्दो विकास सँगै यसको पनि विकास हुन सक्छ । केहि समय भने लाग्न सक्छ । यो एउटा समयको खेल नै हो हामी आशा गरौं ।
कुनै उपाय छ कि ?
जस्तो पनि गीत संगीत बजारमा आउन थाल्यो र अलिकति विकृति पनि फैलियो । गीत संगीत अहिले सुन्नेभन्दा हेर्नेमा दर्शक श्रोता पुगेका छन् । एउटा सेन्सर बोर्ड भए पनि केहि सुधार आउने थियो । र यहाँ दर्शकको देखासिकी नहुने हो भने नेपाली गीत संगीत माथी उठ्छ । एउटा बच्चा जन्मने बित्तिकै उसको कानमा हिन्दी र अंग्रेजी गीत गुन्जिन्छ र उसले नेपाली गीत संगीत सुन्ने अवस्था नै पाउँदैन । एउटा घरमा कमसेकम आमा बाबुले हिन्दी अंग्रेजीको साटो नेपाली गीत संगीत सुनाउनु भयो भने पनि उसले पछि नेपाली गीत खोजी खोजी सुन्ने अवस्था आउँछ ।
कार्यक्रमहरु लिएर देश विदेश कतिको घुम्नुभाको छ ?
म स्टेज कार्यक्रममा व्यस्त नै छु । बढि पश्चिम तिर नै व्यस्त हुन्छु । विदेशतिर पनि गइनै राखेको छु । बाँच्ने आधार नै यहि बनेको छ मेरो ।
स्टेज कार्यक्रमहरु पाउनको लागि आयोजकहरुको नजिक भएर काम गर्नु पर्छ रे नी त हो ?
मलाई त्यस्तो परेको छैन । मलाई मेरो कला हेरेर कार्यक्रममा बोलाउनुभएको छ । र मैले मेरो कला गला अनुसारको पारिश्रमिक पनि पाएकी छु ।
राम्रो गीत संगीत बजारमा पस्कँदै स्टेज कार्यक्रमममा दर्शकलाई तताउन नचाउन खप्पिस मान्छे अनि राम्री पनि उतिकै हुनुहुन्छ प्रेम प्रस्तावहरु कतिको आउँछन् त ?

krishna

हा, हा .. मलाई प्रेम प्रस्ताव आयो भने त अत्यन्तै रमाइलो लाग्छ । मलाई नजिकबाट चिन्ने साथी भेटें भनेर त्यो प्रेमलाई पोजेटिभ्ली लिन्छु अनि उसले पनि बुझ्नेछ । एउटा केटीलाई अलि अलि प्रेम प्रस्ताव आएन, केटाले जिस्काएन भने त केटी भाको के अर्थ भयो र ?
मिडियाको सपोर्ट नभए कलाकारहरुलाई सपोर्ट गर्ने कोहि हुुँदैन कसको साथ छ त ?
मिडियाको सपोर्ट पनि छ, त्यो भन्दा बढी दर्शक श्रोताले कृष्णा गुरुङलाई माया दिनु भएको छ । विगतका समयदेखि नै रामजी खाँणले मलाई अत्यन्तै सहयोग गरिराख्नु भएको छ । त्यस्र्त रमेश बि.सी. दाजु र प्रकाश भट्टको सहयोग र मायाले मलाई यो स्थानमा आउन सजिलो भएको छ ।
भोलीको उद्देश्य के छ ?
भोलीको मेरो जीवन यहि गीत संगीतमा विताउने हो । यो भन्दा पर रहेर बाँच्न त के सोच्न पनि सक्दिन । आफ्नै देशमा रमाएर देशका लागि केहि गरेर यहि देशमा मर्ने इच्छा छ । देशले पनि कलाकारहरुको कलाको सदुपयोग गर्ने वातावरण सिर्जना गरिदिए हुने थियो ।
अन्त्यमा केही भन्नु छ की ?
अन्त्यमा सम्पूर्ण नेपाली परिवारलाई नेपाली लोक संगीतलाई माया गरिदिनु होला । हाम्रो पहिचान भनेको नै नेपाली लोक संगीत हो । यसको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु