• कविशिरोमणि लेखनाथ पौडेलको रचनामा सन्तोष श्रेष्ठले गाए ‘हे मातृभूमि’

    म्यूजिक खबर
    प्रकाशित: १० चैत्र २०८०, शनिबार
    Lekhnath Poudel

    काठमाडौं । कविशिरोमणि लेखनाथ पौडेलको रचनामा रहेको गजल ‘हे मातृभूमि’लाई गायक तथा संगीतकार सन्तोष श्रेष्ठले स्वरबद्ध गरेका छन् । उक्त गीतको भिडियोसहित आज लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा एक कार्यक्रमको आयोजना गरी गायक श्रेष्ठले ‘हे मातृभूमि’को श्रव्यदृश्य सार्वजनिक गरेका हुन् । नेपाली शिक्षा परिषद्की अध्यक्ष प्रा.रमा शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा गीतकार, गजलकार प्रा.डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा उक्त गजल ‘हे मातृभूमि’को सार्वजनिक गरिएको थियो । कार्यक्रममा त्रि.वि. संगीत विभागीय पूर्व प्रमुख वरिष्ठ गायिका संगीता राना प्रधानको विशिष्ठ आतिथ्यता रहेको थियो ।

    उक्त कार्यक्रममा नेपाली शिक्षा परिषद्का कोषाध्यक्ष शंकरप्रसाद पाण्डेले उपस्थिति अतिथिहरुलाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा ‘हे मातृभूमि’ को भिडियोका निर्देशक हेमप्रभासले लेखनाथ पौडेलको सम्झना गर्दै भिडियोको बारेमा आफ्ना भनाई प्रस्तुत गरेका थिए । त्यस्तै सन्तोष श्रेष्ठले गायन तथा संगीतका बारेमा बताउँदै लेखनाथ पौडेलको सिर्जनामा स्वरबद्ध गर्नु एउटा ऐतिहािसक कार्य भएको बताएका थिए । उनले कविशिरोमणि लेखनाथ पौडेलको गजल रेकर्ड गर्दाका अनुभवहरु सुनाउँदै उक्त गजललाई भिडियो निर्माण गरी अर्काइभ गर्नु एक चुनौतिपूर्ण कार्य भएको बताएका थिए ।

    त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार, गीतकार प्रा.डा. कृष्णहरि बरालले गजल लेखन नेपालमा कसरी प्रवेश भयो भन्नेदेखिका कविशिरोमणिको लेखनयात्रासम्मका कुराहरुलाई प्रष्ट पारेका थिए । बरालले गायक तथा सन्तोष श्रेष्ठ एक उदाहरणीय कार्य गर्ने व्यक्तित्व भएको बताउँदै ऐतिहासिक कार्य गरी कविशिरोमणिको रचनालाई पनि विश्वभरि रहेका नेपालीसामु पु¥याउन सफल भएको बताए । कार्यक्रमलाई ज्ञानु विद्रोहीले संचालन गरेका थिए ।
    ‘हे मातृभूमि’को संगीत संयोजक तथा ध्वनि मुद्रण राजु कार्कीले गरेका थिए भने रेकर्डिङको कार्य भने सुरेश राई र मनोज साम्सोहाङ राईले गरेका थिए । त्यस्तै भिडियोको छायाँकन राज पोखरेलले गरेका हुन् भने वीरेन्द्र भाट विपिनले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने हेमप्रभास अधिकारीले गरेका छन् । ‘हे मातृभूमि’को स्वस्तिवाचन रुपक अलंकारले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु