संगीतकर्मीहरुमा टिकटकको क्रेज

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७७, शनिबार
lock down

सबिता पोखरेल

काठमाडौं । पछिल्लो समय ‘टिकटक’ निकै लोकप्रिय बन्दै गएको छ । यसले बच्चा बुढादेखि युवाको मन जितेको छ । विशेषगरी युवा पुस्तामा लोकप्रिय बन्दै गएको छ । घरैमा बसेर मोबाइल मार्फत आफ्नो अभिनय क्षमता र गायन प्रस्तुत गर्न सहज भएकाले यसले व्यापकता लिँदै गएको हो । टिकटकले कला क्षेत्रमा लाग्न चाहनेलाई घरमै मोबाइल मार्फत अभ्यास गराई रहेको छ । जुन मनोरञ्जनको एक माध्यम पनि बनेको छ ।

टिकटक रमाइलो त हुन्छ नै, साथै कलात्मक पनि हुन्छ । जुन भिडियो हेर्दा अन्य साथीभाइ, आफन्तलाई पनि रमाइलो लाग्छ । सेलिब्रेटी हुन् वा सर्वसाधारण मानिस, सबैको कला उजागर गर्ने एउटा राम्रो माध्यम भएकाले अहिले टिकटकको आकर्षण बढेको हुन सक्छ ।
विश्वभर महामारीको रुपमा फैलिएको नोबल कोराना (कोभिड–१९) का कारण नेपाल पनि लकडाउनमा छ । जसकारण अहिले आमदर्शक, स्रोता तथा पाठकले रुचाएका सेलिब्रेटी पनि क्वारेन्टाइन अर्थात् घरभित्रै बसिरहेका छन् । ‘लकडाउन’को समयमा घरभित्रै बसेर दिक्दार भएका सर्वसाधरणदेखि सेलीब्रेटीलाई ‘टिकटक कला’ सहज बनेको छ । आफ्नै मोबाइलबाट टिकटकको सहयोगमा रमाइला भिडियो तयार पारेर अपलोड गर्ने चलन हिजोआज उत्कर्षमा छ ।
फरक नपर्ला अब त सबै कलाकारको टिकटकमा एउटा खाता छ भन्दा पनि । कलाकारहरुलाई समेत यसले आकर्षण गरेको छ । दशकौंदेखि कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाएर राज गरिरहेका स्टारहरु समेत अहिले टिकटकमा रमाइरहेका छन् ।
‘यहि बाँकी थियो यो पनि गरियो । गिज्याउन्न पाइन्न ल !’ भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका लोकप्रिय गीतकार रमेश बिजीले एउटा १५ सेकेण्डको भिडियो पोष्ट गरे । उनले धेरै म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका बिजीमा पनि अभिनयको अझै भोक रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । उक्त टिकटक भिडियोमा प्रायले कमेन्ट गरेका छन्– ‘व्यक्तित्वको प्रशंसक त थिएँ नै अभिनयको पनि प्रशंसक रहेको प्रतिक्रिया दिएका छन् ।’

यस्तै केहि दिन अघि चल्तीका गायिका मन्जु पौडेलले छोरी स्नेहासँग अभिनय गरिएको एउटा टिकटक भिडियो फेसबुकमा पोष्ट्याइन् । दुरुस्त लाग्ने उक्त भिडियो हेर्ने धेरैले विशेषतः स्नेहाको अभिनय कलाको खुलेर तारिफ गरे । भिडियो गर्दा निकै रमाइलो भएको गायिका मन्जु पौडेलले फोन संवादमा बताइन् । ‘अहिले लक डाउनमा रहेकाले दैनिक क्रियाकलापमा प्रभाव नपर्ने गरि फुर्सदको समयलाई उपयोग गर्न अनि आनन्दित बनाउन टिकटकले मद्दत गरिरहेको छ । तर म चाहिं टिकटक एडिक्ट होइन’, उनले भनिन् ।

लोकप्रिय गायिकाहरु अन्जु पन्त, इन्दिरा जोशी, प्राश्ना शाक्य, देबी घर्ती, जुना श्रीष, जानकी तारमी मगर, कला लम्साल, लक्ष्मी मल्ल, सरु गौतमलगायतका गायिकाहरु टिकटकमा इन्गेज भइरहेका छन् । यस्तै गायनमा राम्रो फ्यान तथा फलोअर्स कमाउन सफल गायकहरुले पनि टिकटकलाई अभिनयको भोक मेटाउने माध्यम बनाइरहेका छन् । पछिल्लो समयका लोकप्रिय गायक, संगीतकार वसन्त थापा पनि टिकटकमा रमाइरहेका हुन्छन् । श्रीकृष्ण बममल्ल, रमेशराज भट्टराई हुन् या रामकृष्ण ढकाल, प्रकाश सपुत, रबिन लामिछाने लगायतका कलाकार पनि टिकटकमा रमाइररहेका छन् ।

विभिन्न गीत, संगीत, समसामयिक विषय तथा फिल्मका डायलगहरूमा अभिनय गरेका भिडियो टिकटकमा अपलोड गर्दागर्दै गायिका देबी घर्तीलाई भने टिकटकको लत नै बसेको छ । देवी भन्छिन् – ‘समय र दैनिक कामको व्यवस्थापन गर्दै भरपुर मनोरन्जन लिइरहेकी छु ।’

टिकटकलाई आफ्नो साथी जस्तै ठान्छिन् गायिका सन्जु न्यौपाने । कामको चापका बीच पनि टिकटकमा इन्गेज भइहाल्ने गरेको उनले सुनाइन् । उनले उत्साहित हुँदै भनिन्, ‘टिकटक भएपछि त एक्लै भएको नि थाहा हुँदैन, टिकटक मेरो लागि मेरो प्रिय साथी बनेको छ ।’

अभिनयकै पेशा गर्नेहरुको उपस्थिति पनि कम छैन टिकटकमा । मोडलहरु करिष्मा ढकाल, अन्जली अधिकारी पनि कहिले ठुम्का लगाएका त कहिले डायलगको नक्कल गरेका टिकटक भिडियो पोष्ट गर्ने गरेका छन् । मोडल नितु कोइरालाले पनि टिकटकमा रमाइरहेको बताउँछिन् ।

कलाकार त कलाकार भै गए, जसलाई कहिं न कहिं कुनै न कुनै माध्यमले कलाको भूत सवार भइरहेको हुन्छ । यतिबेला त के पत्रकार, के व्यवसायी, के गृहिणी, वृद्धवद्धासमेत टिकटकबाट अछुतो रहन सकेका छैनन् । सबैलाई टिकटक चलाउने लहड नै चलेको छ यतिबेला ।

यी त उदाहरणका पात्र मात्र बनेका हुन् । यतिबेला कोही गाउँमा पुगेर खेतबारीमा रमाइरहेको टिकटक अपलोड गरिरहेका छन् भने कोही प्रकृतिसँग मितेरी गाँसिरहेको देखाइरहेका छन् । जे होस् टिकटिक मार्फत् नै कलाकार बन्नेहरु पनि यहाँ धेरै भइसकेका छन् भने कलाकारहरुले पनि टिकटकको उत्तिकै सदुपयोग गरेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु