गलकोट : लोप हुन थालेको लोकभजन जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम भजन महोत्सवमा ४२ भजन समूहले लोक भजन प्रदर्शन गरेका छन् । बागलुङ नगरपालिका–४ कुडुँलेस्थित भूमिगतरूपमा निर्माण भएको शालग्राम सङ्ग्रहालयको आयोजनामा मङ्सिर २४ गतेदेखि २८ गतेसम्म भजन महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा गोरखा, कास्की, म्याग्दी, पर्वत र बागलुङका ४२ भजन समूह सहभागी रहेको भजन महोत्सव मूल आयोजक समितिका सहसंयोजक सङ्गम क्षेत्रीले जानकारी दिनुभयो ।
क्षेत्रीका अनुसार गोरखाबाट दुई भजन समूह, म्याग्दीबाट तीन भजन समूह, कास्कीबाट तीन भजन समूह, पर्वतबाट छ भजन समूह र बागलुङबाट २८ भजन समूहको सहभागिता रहेको थियो । पचास भजन समूहको भजन प्रदर्शन गर्ने लक्ष्य रहेको महोत्सवमा कोरोनाको नयाँ भेरियन्टको त्रासका कारण केही भजन समूह आउन नसके पनि भजन महोत्सव अत्यन्तै सफल भएको भजन महोत्सव आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिनुभयो ।
भजन महोत्सव अवधिभर भजन आयोजक समितिलाई रु १२ लाख ७० हजार दान प्राप्त भएको आयोजक समितिका सहसंयोजक क्षेत्रीले जानकारी दिनुभयो । भजन महोत्सवमा सहभागी ४२ भजन समूहलाई रु पाँच हजारका दरले यातयात खर्च उपलब्ध गराइएको छ । भजन समूहलाई यातयात खर्चस्वरुप रु दुई लाख १० हजार खर्च भएको छ ।
भजन महोत्सवमा सहभागी भजन समूह तथा भक्तजनलाई खाना र आवासको समेत व्यवस्था गरिएको थियो । भजन महोत्सव मुठ्ठी दानमा सञ्चालन गरिएको शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताउनुभयो । युवा पुस्ताको बेवास्ता र पुस्ता हस्तान्तरण हुन नसक्दा भजन गुन्जिन छोडेको थियो । प्रतियोगितामा प्रतिस्पर्धा हुने भएकाले खुलारूपमा भजन आयोजना गरिएको भजन महोत्सव आयोजक समितिले जनाएको छ ।