काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तीजका लागि लक्षित गरेर ल्याइने तीज गीतमा मौलिकता समेट्न आग्रह गरेको छ । पछिल्लो समय तीज गीतका नाममा जथाभावी शब्द प्रयोग गरेर अपाच्य खालका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेको भन्दै प्रतिष्ठानले यस्तो आग्रह गरेको हो ।
अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालको संयुक्त हस्ताक्षर रहेको एक अपीलमा भनिएको छ– ‘तीज गीतको नाममा विकृति बिसङ्गति भित्रिएको भनेर बर्षेनी धेरै गुनासो आउने गरेकोले प्रतिष्ठानले यस्ता गीतमा यो वर्ष विषेश ध्यान दिएको छ ।’
प्रतिष्ठानले श्रष्ठा, सर्जक, गायक, गायिका लगायत सबैलाई सामाजिक मर्यादामा खलल पुर्याउने, अपाच्य शब्द, सामाग्री प्रयोग गरेर संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न अनुरोध समेत अपील गरेको छ ।
स्मरण रहोस् गत वर्षहरुमा पनि प्रतिष्ठानले यसरी नै विज्ञप्ति जारी गरेको थियो । तर धेरै कलाकारले यसको उल्लंघन गरेर गीत निर्माण गर्नेहरु पनि थिए । कतिपय प्रतिष्ठानकै समितिमा रहेकाहरुले पनि उल्लंघन गरेका घटनाहरु धेरै छन् । यसपाली भने के गर्लान् र कस्तो कारवाहीको प्रक्रिया बनेको होला ? किनकी अपिल गर्नु प्रतिष्ठानको कर्तव्य हो यदि गरेमा कारवाही गर्ने निकाय चाहिँ कुन हो त ?