• प्रतिष्ठान गोरखाको संस्थागत खुल्ला फुटसल प्रतियोगितामा सुन्धारा समिति विजेता, केन्द्रीय समिति बन्यो उपविजेता

    म्यूजिक खबर
    प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति गोरखाको आयोजनामा भएको ‘संस्थागत खुल्ला फुटसल प्रतियोगिता तथा कलाकार सम्मान कार्यक्रम–२०८१’ मा सुन्धारा समिति विजेता बन्यो भने केन्द्रीय कार्यसमिति उपविजेता बन्न सफल भयो । प्रतियोगितामा प्रतिष्ठान उपत्यका समन्वय समिति अन्तर्गतको सुन्धारा समितिको टिम २ गोलको अन्तरमा विजेता बन्न सफल भएको थियो । सुन्धाराले ३ गोल हानेको थियो भने प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको टिमले १ गोलमा चित्त बुझाउँदै उपविजेता बन्न सफल भएको थियो ।
    सुन्धारा समितिका खेलाडीहरु पवन गुरुङ, युवराज गुरुङ, राजेन्द्र घर्ती, नरेश एमसी, राजु गुरुङ, सरिम मगर, सुदिप गुरुङ र सुजन सुर्खेती रहेको थिए । उनीहरुले २५०० नगद राशिसहित विजेताको ट्रफी उचाल्न सफल भएका थिए । त्यस्तै प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको टिममा पूर्व अध्यक्ष बद्री पंगेनी, पूर्वउपमहासचिव शंकर बिसी, उपाध्यक्ष कृष्ण रेउले, उपमहासचिव हरि डाँगी, आजीवन सदस्य इन्द्र आले, सदस्य रविन लामिछाने, मधु क्षेत्री, साइमनजंग कुँवर रहेका थिए । उनीहरुले १५००० नगद राशिसहित उपविजेता बन्न सफल भएका थिए । प्रथम पुरस्कार राशि नेकपा माओवादी केन्द्र गोरखा काठमाडौं जिल्ला समन्वय समितिले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार गायक शुक्र तामाङले प्रायोजन गरेका थिए ।
    प्रतियोगितामा उत्कृष्ट खेलाडीको ट्रफी साइमनजंग कुँवरले चुम्न सफल भए भने उत्कृष्ट किपर पवन गुरुङ बन्न सफल भए । त्यस्तै उत्कृष्ट डिफेन्स हरि डाँगी बन्न सफल भए भने उत्कृष्ट स्टाइकर सरिम मगर बन्न सफल भए ।

    राष्ट्रिय खेलकूद परिषद्का कार्यवाहक सदस्य सचिव एवं बोर्ड सदस्य अन्जन धमलाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा लोकगायन सम्राट राजु परियार, वरिष्ठ गायिका सुशीला थापा मगर र कथाबाचिका योगमाया शखीलाई सम्मान प्रदान गरिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गोरखाका अध्यक्ष हरिराम परियारको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रतिष्ठान गोरखाका पूर्व अध्यक्ष शिव केसी, सल्लाहकार सुमन पण्डित, सरिता अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गायक सागर गुरुङले गरेका थिए ।

    प्रतियोगितामा प्रतिष्ठानका केन्द्रीय कार्यसमिति, सुन्धारा कार्यसमिति, गोरखा जिल्ला कार्यसमिति, बसपार्क समिति टिमको प्रतिस्पर्धा भएको थियो । त्यस्तै उद्घाटन खेलमा भने गायिका भर्सेस मोडलको रोमान्चक खेल भएको थियो । सोही कार्यक्रमको अवसरमा गायक अमिस उपरकोटी र गायिका एलिना चौहानको स्वरमा रहेको ‘सुट हान्दिन्छु’ गीत सार्वजनिक गरिएको थियो । सोही अवसरमा प्रतिष्ठानको स्थापना दिवसको पूर्वसन्ध्या पारेर केक काटेर स्थापना दिवस मनाइएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्र, शाखा र उपत्यका समन्वय समितिका पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु