
काठमाडौं । रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन २’ को देशव्यापी अडिसन अभियान सुरू हुने भएको छ।
असार २७ गते इटहरीबाट अडिसनको सुरूआत हुने भएको हो।
नेपाली लोक संगीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक-गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ शो आयोजना गरिएको आयोजक एभेन्टोज स्टुडियोले जनाएको छ।
आयोजकका अनुसार शोका लागि देशका विभिन्न जिल्लामा रहेका मौलिक लोक प्रतिभालाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ। पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको पनि आयोजकको भनाइ छ।
शोको निर्णायकमा कोमल वली, राजु परियार र चन्द्र शर्मा रहनेछन्।
आयोजकका अनुसार अडिसन अभियान सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन गरिनेछ। कार्यक्रमअनुसार असार २७ गते इटहरीबाट सुरूआत हुने अडिसन असार २९ गते भरतपुर, असार ३१ गते बुटवल, साउन १ गते नेपालगञ्ज, ४ गते पोखरा तथा साउन ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ।
यस्तो छ देशव्यापी अडिसन तालिका:
इटहरी (कोशी प्रदेश): असार २७ गते
चितवन (बागमती प्रदेश): असार २९ गते
बुटवल (लुम्बिनी प्रदेश): असार ३१ गते
नेपालगञ्ज (लुम्बिनी/कर्णाली/सुदूरपश्चिम क्षेत्र): साउन १ गते
पोखरा (गण्डकी प्रदेश): साउन ४ गते
काठमाडौँ (उपत्यका तथा राष्ट्रिय अडिसन): साउन ८ र ९ गते
अडिसनका लागि इटहरीस्थित क्लब के, चितवनस्थित चितवन गार्डेन रिसोर्ट, बुटवलस्थित ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जस्थित होटल बाटिका, पोखरास्थित साइमन पार्टी प्यालेस तथा काठमाडौंस्थित न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई अडिसन स्थलका रूपमा चयन गरिएको छ।
प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। महिला तथा पुरूष दुवैका लागि प्रतियोगिता खुला रहनेछ।
आयोजकका अनुसार नेपाली लोक संगीतप्रति रूचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न-उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइनेछ।
रियालिटी शो एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ।