किन हटाइयो त यूट्यूबबाट पशुपतिको ‘लुट्नसके लुट कान्छा’

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७५, शनिबार

काठमाडौं । गायक पशुपति शर्माको पछिल्लो गीत ‘लुट्नसके लुट कान्छा लुट् अरु देशमा पाइँदैन नेपालमै हो छुट’ गीत यूट्यूबमा सार्वजनिक हुने वित्तिकै खैलाबैला मच्चिन थाल्यो । देशमा भएका गतिविधिका बारेमा व्यंग्यात्मक रुपमा प्रस्तुति गरिएको यो गीतमा राष्ट्रपति विद्यादेवी भण्डारीले चढेको डेढ अर्बको हेलिकप्टरदेखि प्रधानमन्त्री केपी ओली हुँदै बाइडबडी प्रकरण, ३३ किलो सुनका कुरालाई प्रस्तुत गरिएको छ । राजा हटेपछि देशमा यमराजको शासन चलेको जस्ता शब्द प्रयोग भएपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)भित्र छलफल भएको स्रोतले बतायो । सरकारमा ठूलै खैलाबैला मच्चियो र गीत प्रतिबन्ध लगाउने भन्दै बालुवाटारमा हल्लीचल्ली मच्चिएको स्रोतको दाबी छ ।

गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य हानिएको छ । प्रधानमन्त्री ओलीले सरकारको जिम्मेवारी सम्हालेको १ बर्ष पुगेकै आसपासमा गायक शर्माले ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरेका थिए ।
गीतको सुरुमै गायक शर्माले भनेका छन् –‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोही‘त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट ।’
पछिल्लो समय सुशासन कायम गर्ने मुलुकको संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै घुस आतंक मच्चिनु, मातपोत, भन्सार लगायतका जनताले दैनिक सेवा लिने सरकारी निकायहरुमा हुने घुस र भ्रष्टाचार आंतक फैलनु जस्ता विषयसँग शर्माको गीतको भाव मेल खान्छ ।

अपलोड गरेको दुई दिनमै  गीत शनिबार आइपुग्दा ट्रेन्डिङ ५ बाट अगाडि बढिरहेको थियो तर सरकारी तबरबाट आएको दबाबकै कारण यूट्यूबबाट हटाइएको स्रोतले बतायो । समाजमा व्याप्त विसंगती र सरकारले गरेको विभिन्न घटनाक्रमलाई औंल्याएकै कारण उनको गीत हटाउने दबाब आएको पक्कै हुनसक्छ । तर गायक पशुपति शर्माले भने फेसबुकमा स्टाटस लेख्दै गीतलाई परिमार्जनसहित पुनः सार्वजनिक गर्ने भन्दै यूट्यूबबाट हटाइएको जानकारी यसरी दिएका छन् ।

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्युहरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतमा यहाँहरुले देखाउनु भएको सहभागीताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु की म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हँुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतीलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो ।

मैले कुनै राजनैतिक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु ।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्वहरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद ।
पशुपती शर्मा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु