राष्ट्रकविलाई मदन–शिला स्रष्टा सम्मान चन्द्रकुमार र अच्युतलाई पत्रकारिता पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । साहित्यिक संस्था मदन–शिला प्रतिष्ठानले २०७५ सालको मदन–शीला स्रष्टा सम्मानबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई एक लाख राशिको स्रष्टा सम्मान अर्पण गरेको छ । राष्ट्रकवि घिमिरे निवासमा कार्यक्रमको आयोजना गरी उक्त सम्मान अर्पण गरेको हो । बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा उक्त सम्मान अर्पण गरिएको थियो । विगत ८४ वर्षका बीचका अथक साधनाबाट नेपाली साहित्यमा कविता, गीत र गीतिनाटक, बालकविता, निबन्ध आदि मौलिक सिर्जनाका लागि राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई मदन–शिला सम्मान अर्पण गरिएको हो ।

त्यसैगरी साहित्यिक पत्रकारिता उन्नयन र सम्बद्र्धनमा उन्नयन त्रैमासिकका अच्युतरमण अधिकारी र नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशित दियालोका लागि चन्द्रकुमार राईलाई जनही ५० हजार नगद राशिसहित मदन–शीला पत्रकारिता पुरस्कार अर्पण गरिएको हो । समालोचना प्रधान र अनुसन्धानपरक उन्नयन त्रैमासिकले नेपाली भाषा र साहित्यको समुन्नतिका लागि पु¥याएको योगदानका लागि मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार अच्युतरमण अधिकारीलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष बासुदेव त्रिपाठीले बताए । त्यस्तै नेपाली भाषा र साहित्यको उत्थानका लागि नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशित दियालोले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै सम्मेलनका अधयक्ष चन्द्रकुमार राईलाई पुरस्कार अर्पण गरिएको त्रिपाठीले बताए ।


हालसम्म मदन–शीला स्रष्टा सम्मान मदनमणि दिक्षित, प्रेमा शाह, बालकृष्ण पोखरेल र किरण खरेललाई र मदन–शीला साहित्यिक पत्रकारिता सम्मान वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, हाम्रो पुरुषार्थ (गल्मी) का सम्पादक शशी पन्थी र भानुका सम्पादक शिवानी घिमिरेलाई प्रदान गरिसकिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु