आज राष्ट्रकवी माधवप्रसाद घिमिरेको १०२ औं जन्मजयन्ती

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

काठमाडौं । आज राष्ट्रकवी माधवप्रसाद घिमिरेको १०२ औं जन्मजयन्ती हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो ।

उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नरकिन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’का साथै तारादेवीले गाएको’मनको बाँधु’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।
१ सय १ वर्षको उमेरमा गत वर्ष भाद्र २ गते उनको निधन भएको हो । आज हामी माझ भौतिक रुपमा नरहेता पनि नेपाली संसारमा उनको व्यक्तित्व र कृतित्व चिरञ्जीवी छ । राष्ट्रकवी माधवप्रसाद घिमिरेको आत्माको चिर शान्तीको कामना गर्दछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु