इण्डियन आइडलदेखी–पाश्र्व गायनसम्म मेनुका, कायल भए बलिउड सेलिब्रटीहरु

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

काठमाडौं । पछिल्लो समय नेपाली युवायुवतीहरुले गायन तथा नृत्य क्षेत्रमा अन्तराष्ट्रिय मञ्च खोज्ने क्रम बढ्दो छ । पछिल्ला केही बर्ष यता भारतका चर्चित रियालिटी शोहरुमा नेपालीहरुको उपस्थिती निकै हुने गरेको छ । भारतीय शोहरुमा नेपालीहरुले देखाएको चमत्कारी प्रर्दशन र त्यसपछिको चर्चाका कारण आजभोली भारतीय रियालिटी शो नै नेपालीहरु बिना अधुरो र अपुरो जस्तो हुने महशुष गर्छन् । एकातिर शोको चर्चा हुने र अर्कोतिर टिआरपी (टेलिभिजन रेटिङ प्वोईन्ट) पनि बढ्ने भएपछि ती शोहरुमा नेपालीलाई सकेसम्म समावेश गराएरै छाड्छन् । कन्फिडेन्सका साथ भन्न सकिन्छ कि, आजभोली प्रायः भारतीय शोहरुमा नेपालीहरु हुन्छन–हुन्छन् । सहभागी सबैले चर्चा कमाएकै छन् । नेपाल र नेपालीलाई गौरावन्दित बनाएकै छन् । यहि क्रममा पछिल्लो समयमा सोनि टिभीबाट प्रसारण भइरहेको इण्डियन आइडलको सिजन १४ मा भने नेपालकी मेनुका पौडेल भने चर्चा, प्रशंसा र सद्भावको शिखरमै पुगेकी छिन् । ।

झापा–हल्दीबारीकी मेनुका पौडेलले आफनो दमदार प्रस्तुतीको कारण पनि नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जितिरहेका छिन् । उनले इण्डियन आइडलको भव्य स्टेजमा उत्कृष्ट प्रस्तुती दिईरहेकी छिन् । अडिसनमा नै उत्कृष्ट प्रस्तुति दिएर उनले निर्णायकलाई प्रशंसा गर्न बाध्य बनाएकी थिइन् । जब मेनुकाले अडिसनमा उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाउन थालिन्, उनको ‘उठान’बाट नै जजहरु प्रभावित भइहाले । कोमल उनको आवाजमा जजहरु मन्त्रमुग्ध भए । मुटुमै छुने उनको प्रस्तुतिमा निर्णायकद्वय श्रेया घोसवाल र विशाल भावविह्वल भए र धर्धरी रोएका थिए । प्रस्तुति सकिएपछि सबै निर्णायकबाट उनलाई स्ट्यान्डिङ ओभेसन दिए । आइडलको अडिसनमा गोल्डेन माइक पाइन् र सीधै थियटर राउन्डमा स्थान बनाइन् ।

त्यसपछिका हरेक एपिसोडमा पनि उनले उत्कृष्ट प्रस्तुति दिंदै आएकी छिन् । लगातार जज र गेष्ट जजहरुबाट समेत प्रंशसा बटुलिरहेकी छिन् । हरेक एपिसोडमा मेनुकाले जजहरुबाट उच्च तारिफ सहित स्ट्यान्डिङ अवेसन पाउँदै आएकी छन् ।
उनको गेष्ट जजको रुपमा आएकी प्रख्यात एवं विशिष्ट गायिका गायिका साधना सरगमले गायकीको तारिफ गर्दै मेनुकालाई अंगालो हालेर रोएकी थिइन् । अभिनेता रणवीर कपुरले त साक्षात देबी भन्दै उनको खुट्टा छोएर आशीर्वाद मागे ।

सोही मन्चको अर्को एपिसोडमा जब उनले ‘जिए तो जिए’ गीत गाइन् उक्त गीतकी गायिका अनुराधा पौड्वालका पनि आँखा टिल्पिलाएका थिए । गायिका पौड्वालले मेनुकालाई भनिन् ‘साईबाबाको आशीर्वाद तिमीलाई छ । भन्दै प्रंशसा गरिन् । यतिन्जेल जति प्रशारित भएका एपिसोड र मेनुकाका प्रस्तुतिहरू उत्कृष्ट रहँदै आएका छन् । निर्णायक विशालले त मेनुकाको गीत सुन्न थालेपछि बल्ल संगीत सुन्न थालेको महसुस भएको बारम्बार बताउँदै आएका छन् । निर्णायकहरू भावुक मात्र होइन मेनुकाको गायकी सुनेर आश्चर्यचकित हुने गरेका छन् ।
‘इण्डियन आइडल’ स्टेजमा प्रतिस्पर्धा गरेर जादुमयी स्वरको चर्चा मात्र कमाएकी छैनन्े भारतीय फिल्ममा डेब्यू गायनको समेत मौका पाएकी छिन् ।
बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘सलार’ मा आफूले पाश्र्व गायन गरेका गायिका पौडेलले नै ‘इण्डियन आइडल’ को स्टेजबाट जानकारी गराएकी थिइन् । गायिका पौडेलले यो उपलब्धिका बारेमा इण्डियन आइडलको जानकारी गराउँदा कार्यक्रमका निर्णायकहरुले उठेर उनीप्रति सम्मान व्यक्त गरेका थिए ।
निर्णायक तथा गायिका श्रेया घोषालले मेनुकालाई बधाई दिँदै ‘केजीएफ’ जस्तो उत्कृष्ट फिल्म निर्माण गर्ने कम्पनीको नयाँ फिल्म ‘सलार’ ठूलो प्रोजेक्ट रहेको तथा यसमा गीत गाउन पाउनु खुशीको कुरा भएको प्रतिक्रिया दिइन् ।

उक्त गीत यतिबेला सार्वजनिक भइसकेको छ । बुधवार साँझ यूट्युबमार्फत सार्वजनिक भएको उक्त गीतले छोटो समयमै चौतर्फी प्रशंसा पाएको छ । अधिकांशले गायिका पौडेलको पाश्र्व गायनको खुलेर प्रशंसा गरेका छन् ।

‘सूरज हि छावोँ बन्के’ बोलको उक्त हिन्दी गीतलाई लिरिकल भिडियोको रुपमा हम्बेल फिल्म्सले आफ्नो यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । भिडियोमा प्रभास र पृथ्वीराज सुकुमारणका साथै उनीहरुको बाल्यकालको भूमिका निर्वाह गर्ने कलाकारहरुलाई चित्रण गरिएको छ । भिडियोमा आएका अधिकांश प्रतिक्रियाहरुमा गायिका मेनुका पौडेलको गायनको प्रशंसा गरिएको छ ।
यही गीतमार्फत गायिका पौडेलको भारतीय फिल्ममा पाश्र्व गायनको यात्रा प्रारम्भ भएको हो । गायिका पौडेलले इण्डियन आइडलका हरेक श्रृंखलामा दर्शकमात्र होइन निर्णायकको समेत मन जित्दै आएकी छि । उनको गायकीलाई भारतीय सञ्चार माध्यमहरुले समेत लता मंगेशकरसंग तुलना गर्दै प्रसंसा गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु