इण्डियन आइडलमा ‘टप टेन’ सम्मको यात्रा गरेकी मेनुकालाई गृहनगर झापामा भव्य स्वागत र अभिनन्दन

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०८०, सोमबार

झापा । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् ।

टपटेनमै रोकिए पनि उनको गायिकीले इण्डियन आइडलमा अत्याधिक बटुलेको थियो । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए ।

प्रतिस्पर्धाबाट बाहिरिएपछि उनी आज (सोमबार) नेपाल फर्किएकी छन् । मुम्बईबाट बिहान साढे १० बजे बागडोगरा विमानस्थल ओर्लिएकी मेनुकालाई स्वागत गर्न झापाबाट प्रशंसक, शुभेच्छुक र आफन्तहरू बागडोगरा विमानस्थल पुगेका थिए । उनलाई प्रदेशसभा सदस्य छवि चुडालले खादा लगाएर स्वागत गरेका थिए ।
त्यहाँबाट उनलाई मेनुकालाई लिएर टोली आजै उनी गृहनगर आएको छ । पूर्वको मेचीपुल हुँदै नेपाल आउँदा उनलाई सर्वसाधारण देखि संघसंस्थाले भव्यरुपमा अभिनन्दन गरेको छ ।
उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले भव्य रुपमा स्वागत गरेका थिए । झाँकी र्र यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा पनि गराइएको थियो ।
धुलाबारी, धाइजन, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरे । गृहनगर चारआलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो ।
मेनुकाले पनि सबै शुभेच्छुकलाई धन्यवाद दिएकी थिइन् । अभिनेता विल्सनविक्रम राई तक्मे बुढाले नेपाली कलाकारको प्रतिनिधित्व गर्दै मेनुकालाई सम्मान प्रदान गरे ।


इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दीबारी र यहाँका सप्तक सङ्गीत विद्यालय सहित सङ्घसंस्थाले सम्मान गर्ने कार्यक्रमसमेत राखेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु