• अहिलेसम्मकै महङ्गो धनराशीको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’

    म्यूजिक खबर
    प्रकाशित: १४ पुष २०७९, बिहीबार
    intra foundation voice universe-dance universe

    काठमाडौं । इन्ट्रा– नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमा दुई वटा रियालिटी शो आयोजना हुने भएको छ । गायन र नृत्यमा आयोजना गरिएको ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ अहिलेसम्मकै महंगो धनराशीको भएको कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो ।
    यसअघि ‘मेरो डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेसनले अब विश्वभर छरिएर रहेका नेपालीभाषीलाई समेटर दुई रियालिटी शो एकैपटक आयोजना गर्न लागेको हो ।
    कार्यक्रममा इन्ट्रा फाउन्डेसन नेपालका अध्यक्ष दिलिप रायमाझीले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै इन्ट्राको अभियानमा सबैको साथ र सपोर्टको अपेक्षा गरेको बताएका थिए । होटल मेरियटमा आयोजना भएको उक्त कार्यक्रममा सिनेमा तथा संगीत क्षेत्रका चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
    दुवै रियालिटी शोका विजेताले एक–एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३०–३० लाख र सेकेण्ड रनरअपले २०–२० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    कार्यक्रममा विश्वभर रहेका १६ वर्षमाथिका नेपालीभाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । सहभागी हुन चाहनेले फाउण्डेसनको एप डाउनलोड गरेर आवेदन दिन सक्ने कुरा फाउन्डेसनका बोर्ड सदस्य पुरन गौतमले जानकारी गराएका थिए ।

    घोषणा समारोहमा दुवै रियालिटी शोका निर्णायक मण्डलको परिचय गराइएको थियो । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, पुष्पन प्रधान, सुजाता बर्मा र सुनिता थेगिम रहेका छन् ।

    यस्तै ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमान राई छन् । यी दुवै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् ।

    फाउण्डेसनले नेपालबाहेक भारत, म्यानमार, थाइल्याण्ड, भुटान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशबाट पनि नेपालीभाषी सहभागी हुने आशा राखेको छ । कार्यक्रमका प्रमुख अतिथिद्वय वरिष्ठ संगीतकार रञ्जित गजमेर र महानायक राजेश हमालले फाउण्डेसनले गर्दै आएका सामाजिक तथा सांस्कृतिक कामको प्रशंसा गरेका थिए ।

    फाउण्डेसनका संस्थापक अध्यक्ष डिल्ली अधिकारी हुन् । नेपाली भाषा, कला, संस्कृति बचाउन र नेपालीहरुको सुखदुःखको साथी बन्नका लागि अध्यक्ष अधिकारीको अभियानमा सम्पूर्ण बोर्ड सदस्यहरुको साथ समर्थन रहेको फाउन्डेसनका सचिव गोपाल धितालले कार्यक्रममा प्रष्ट पारेका थिए । फाउन्डेसनका प्रबन्ध निर्देशक रुद्र बानियाँ यही कार्यक्रमका लागि करिब तीन महिना अघिदेखि व्यवस्थापनमा जुटिरहेका थिए । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति भएको भन्दै कलासंस्कृतिमा नयाँ क्रान्ति ल्याउने अध्यक्ष डिल्ली अधिकारीको सपना साकार पार्नका लागि फाउन्डेसन लागिपरेको प्रबन्ध निर्देशक बानियाँले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु