सुमन पण्डित÷म्यूजिकखबर
मिलन मोक्तान, सांगीतिक दुनियाँमा स्थापित नाम हो । २०२३ साल कार्तिक १४ गते जिर्मले गा.वि.स. २ इलाममा बुबा नरबहादुर र आमा आइतीमायाको कोखबाट जन्मिएका संगीतकार मिलन मोक्तानको सांगीतिक यात्राले तीन दशक पार परिसकेको छ । संगीत र पत्रकारिता विषयमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका संगीतकार मोक्तानले नेपाली संगीत उद्योगलाई अतुलनीय योगदान पु¥याएका छन् । २०३९ सालमा वाद्यवादन, गायन, रंगमञ्च, नृत्य र अभिनय विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट तालिम लिएका मोक्तानले वरिष्ठ संगीतकार अम्बर गुरुङ, गोपालनाथ योगी, शकुन्तला प्रधान, भगत सिंह बागदास जस्ता संगीतका विज्ञहरुसँग व्यक्तिगत रुपमा संगीतको अध्ययन गरेका छन् ।
संगीतको विषयमा आफूलाई पोख्त गराउँदै आएका उनले युवाअवस्थाबाट नै संगीतको क्षेत्रमा लगाव राखेका हुन् । गीतहरुमा संगीत सिर्जना गर्दै आएका उनले २०४६ सालबाट नै नेपाली कला, संस्कृति र सभ्यताको जगेर्ना तथा विकास गर्ने उद्देश्यले ‘साधना कला केन्द्र’को स्थापना गरेका थिए । २८ वर्षअघिदेखि हालसम्म निरन्तर साधना कला केन्द्रलाई संचालन गरिरहेका उनले नेपाली गीतसंगीतको क्षेत्रमा विद्यालय बन्नु पर्छ, इन्स्टिच्यूटहरु खोलिनु पर्छ र प्रतिभाहरुलाई उजागर गर्नुपर्छ भन्ने सोच राखेका थिए । गीतसंगीत, नृत्य तथा अन्य विधाहरुमा सरल तथा शुलभ शुल्कमा सिद्धहस्त प्रशिक्षकले मनोवैज्ञानिक तबरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा साधना कला केन्द्रको नामलाई उच्च बनाउँदै अगाडि बढेका हुन् । एकातिर आफ्नो संगीतको शोख पूरा गर्नु थियो भने अर्कोतिर संगीतमा पोख्त गायक, गायिका, संगीतकार जन्माउनु पनि थियो । त्यही अनुसार आफूलाई संगीतमा समाहित गराउँदै साधना कला केन्द्रको माध्यमबाट एक लाखभन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिएर व्यवसायिक कलाकार एवं प्रशिक्षक बनाइसकेका छन् उनले । त्यसो त उनले साधना कला केन्द्रमार्फत् प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएका छन् । त्यस्तै साधना सम्मान, राष्ट्रव्यापी लोकनृत्य प्रतियोगिता, सन्देशमूलक गीत प्रतियोगिता, राष्ट्रिय महत्वका विशेष कार्यक्रमहरुको पनि सफल आयोजना गर्दै आइसकेका छन् ।
नेपाली मौलिक संस्कृति तथा संगीत, गीत, गायन, वाद्यवादक र नृत्यको विकासमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यले २०५६ सालमा स्थापना गरिएको संस्था नेपाल सांगीतिक संघको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्दै आएका मोक्तान नेपाल तामाङ कला संस्कृति केन्द्रको अध्यक्षसमेत हुन् । २०४५ सालमा स्थापित तामाङहरुको यो संस्थामा रहेर महत्वपूर्ण कार्य गरिरहेका उनले आफ्नो पहिचान भनेकै कलासंस्कृति, भेषभूषा, बाजा, रितिरिवाज तथा धर्मलाई सामाजिककरण गर्दै आएका छन् । त्यस्तै यसै संस्थामार्फत् उनले सन् २००६ मिस तामाङ आयोजना गर्दै आएका छन् भने ९ वर्षदेखि निरन्तर रुपमा निःशुल्क एम्बुलेन्स सेवा डम्फू निर्माण र बितरणको कार्य पनि गरिरहेका छन् । सप्तक रेकर्डिङ एण्ड रिसर्च सेन्टरका संचालक, रोटरी क्लब अफ माउन्ट एभरेष्टका कोषाध्यक्ष एवं जनसम्पर्क निर्देशक, संगीतकार संघको कार्यकारी सदस्य, लायन्स क्लब काठमाडौं गोल्डेन आइका अध्यक्ष, ग्ल्यामर प्लस मासिकका अध्यक्ष समेत भएर उनले काम गरिसकेका छन् । त्यस्तै सन् २०१२ देखि २०१५ सम्म नेपाल टेलिभिजनको देश प्रदेश जस्तो सन्देशमूलक कार्यक्रमको निर्माता तथा निर्देशक भएर कार्य सम्हालिसकेका छन् ।
त्यस्तै राष्ट्रिय खेलकूद सांस्कृतिक संघका उपाध्यक्ष, नेपाल–भारत मानव विकास एवं मैत्री संघ केन्द्रीय सांस्कृतिक विभागका कोषाध्यक्ष, विश्व हिन्दू युवा परिषद्का सदस्य, इलाम टाइम्स मासिकका सल्लाहकार, श्री नवकिरण युवा परिवार बाहुन डाँगी झापा, समर्पण समाज सेवा काठमाडौंको समेत सल्लाहकार रहेर योगदान दिइरहेका छन् ।
चलचित्र निर्मोही, बदेनीमा संगीत दिएका उनले ४५ भन्दा बढी भिडियो फिल्म र दुई दर्जनभन्दा बढी टेलिसिरियलमा संगीत सिर्जना गरेका छन् । ६ सयभन्दा बढी गीतमा संगीत दिइसकेका उनले २०४५ देखि २०५२ सम्म निर्माण भएका भिडियो फिल्महरुमा आफ्नो एकछत्र राज गरेका थिए । त्यसो त उनले भारतीय च्यानल जीटीभीको हिन्दी सिरियल ‘माता’ ५३ भागसम्म संगीत निर्देशन गरेका थिए भने विभिन्न नाटकहरु, बाल गीत, राष्ट्रिय गीत र भजनहरुमा समेत उनको संगीत सिर्जना रहेको छ । उनको एकल संगीतमा साधना, समिप र हाम्रो मुस्ताङ जस्तो एल्बम बजारमा आइसकेको छ ।
२०५२ सालदेखि साधना कला केन्द्रको आयोजनामा कला साधकहरुलाई साधना सम्मान गर्दै आएका छन् भने २०५३ सालदेखि नेपाली मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले रु एक लाख पुरस्कार राशिको राष्ट्रव्यापी लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएका छन् । जुन प्रतियोगितामा मुलुकभरका विभिन्न समूहले सहभागी जनाउने गर्छन् ।
उनले एकातिर योगदान गरिरहेको देख्दा अर्कोतिर उनको सांगीतिक संघर्षका दिनहरु पनि सम्झनलायक छन् । समयअनुसार संघर्षको यात्रामा दौडिएका उनले सुरुका दिनमा धेरै आरोह अवरोह भोगेका छन् । तर एकातिर साधना कला केन्द्रको स्थापना गरे भने अर्काेतिर विभिन्न विद्यालयमा संगीत प्रशिक्षक भएर पनि उनले काम गरेका छन् । सिद्धार्थ बनस्थली, भीएस निकेतन, ब्राइट फ्यूचर मा.वि., लिटल फ्लावर मा.वि., बुद्ध प्रा.वि., महामन्जुश्री मा.वि., हिमाल विद्या मन्दिर, प्रभात मा.वि. जस्ता विद्यालयमा संगीत शिक्षक भएर विद्यार्थीहरुलाई संगीतको ज्ञान दिइसकेका संगीतकार मोक्तानले विभिन्न कार्यक्रममा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेका छन् । त्यस्तै मुलुकभित्र भएका राष्ट्रियस्तरका कार्यक्रमहरुमा व्यवस्थापन प्रमुखको भूमिका समेत निर्वाह गरेका छन् ।
संगीतकार मोक्तानको संघर्षसँगै उनका खुशीका दिनहरु यसरी फर्किए की एकपछि अर्को गर्दै उनलाई मानसम्मान पनि मिल्दै गयो । २०४७ सालमा राष्ट्रिय भिडियो चलचित्र महोत्सवमा सर्वश्रेष्ठ संगीत निर्देशनको सम्मान पाइसकेपछि गद्दि आरोहण रजक पदक, प्रबल गोरखा दक्षिण बाहु, राष्ट्रिय विशिष्ट सम्मान, राष्ट्रिय शिक्षा पदक, रंगराव पद्मा कादम्बरी कलानिधि राष्ट्रिय संगीत सम्मान लगायत विभिन्न अभिनन्दन र सम्मानले सम्मानित भइसकेका छन् ।
उनी यतिबेला भने मुलुकभित्र पश्चिमी संगीतको प्रवेशसँगै विकृति फैलिएको भन्दै मौलिक भेषभूषा, कला संस्कृति, बाजा, गीत, नृत्य र गरगहनाहरुलाई संरक्षण गर्नुपर्छ भन्ने अभियानमा जुटिरहेका छन् । मौलिक कलासंस्कृति रह्यो भने नै नेपालीको पहिचान रहन्छ भन्ने सोचले उनी अर्काको संगीत सुन्ने र आफ्नो पनमा रमाउने काम गर्नुपर्नेमा जोड दिएका छन् । जसका लागि उनले लोकसंस्कृति संग्राहलय निर्माण गर्नका लागि अभियान चाल्ने योजनामा रहेको बताए । नेपाली मौलिक गीतसंगीतलाई केही आधुनिकिकरण गरी सरल र सुलभ रुपमा विश्व बजारमा परिचित गराउनुपर्छ भन्ने अभियानमा जुटेका छन् ।