७४ वर्षको उमेरमा मिरा राणाको एकल सांगीतिक साँझ, छ दशक लामो यात्रा गीतमार्फत सम्झिइन्

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०८३, सोमबार २०:०८

काठमाडौं । ख्यातिप्राप्त गायिका तथा संगीतकार मिरा राणाको एकल सांगीतिक साँझ आइतबार राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। छ दशक लामो सांगीतिक यात्राका लोकप्रिय गीतमार्फत ७४ वर्षीया राणाले आफ्नो जीवन र संगीत यात्रालाई सम्झँदै दर्शक तथा श्रोतामाझ प्रस्तुति दिइन्।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा खचाखच दर्शकका बीच सम्पन्न कार्यक्रममा राणाले आफूले स्वर दिएका तथा संगीत भरेका लोकप्रिय गीत प्रस्तुत गरिन्। उनको सांगीतिक यात्राका विभिन्न कालखण्ड र सहकार्यलाई समेट्दै अन्य गायक–गायिकाले समेत उनका चर्चित गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा शम्भुजीत बासकोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनी, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा, युनिशा देशारलगायतले मिरा राणाका गीत गाएका थिए। मनोहर सुनाम म्युजिक कन्डक्टरका रूपमा रहेका थिए।
प्रकाश सायमीद्वारा सञ्चालित कार्यक्रममा राणाले स्वर सम्राट नारायण गोपालसँग गाएका ‘तिमी देउ या नदेउ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’, ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरिन्।

त्यस्तै, शम्भुजीत बासकोटासँग गाएको ‘नाच्देउ मैच्याङ’, कुमार बस्नेतसँगको ‘मादल घनघन घन्काउँ कि’, ‘लेक फुल्यो लालीगुराँस’ लगायतका गीत पनि कार्यक्रममा गुञ्जिएका थिए। राणाका चर्चित एकल गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’, ‘मेरो फूललाई वसन्त भयो’ लगायत पनि प्रस्तुत गरिएको थियो।
क्यान्सरलाई जितेकी र यही रोगका कारण आफ्ना पति उदयजंग राणालाई गुमाएकी मिराले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले मिरा राणा क्यान्सर समाज स्थापना गरेकी छन्। सोही समाजमार्फत कोष स्थापना गरी क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले एकल सांगीतिक साँझ आयोजना गरिएको हो।

सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक समाजले गायक कुमार बस्नेत तथा संगीतकारद्वय शम्भुजीत बासकोटा र दीपक जंगमलाई सम्मान गर्ने घोषणा गरेको थियो। सो अवसरमा एक संस्थाले मिरा राणाको सांगीतिक योगदानको सम्मान गर्दै नगद ५० हजार रुपैयाँसहित उनलाई सम्मानसमेत गरेको थियो।
मिरा राणाको छ दशक लामो सांगीतिक यात्राका लोकप्रिय गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले उनको सांगीतिक योगदानलाई पुनः स्मरण गराउनुका साथै क्यान्सरपीडितलाई सहयोग गर्ने अभियानलाई समेत अघि बढाएको छ।

तस्वीर : बद्री थापा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26