तीजको मौलिकता भएको गीत ‘मिठो सम्झना’

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार

११ साउन, काठमाडौं । पछिल्लो समय तीजका गीत भन्दै रत्यौली गीतहरु हावी भएको हुँदा तीजको मौलिकता मर्न नदिने प्रयाससँगै ‘मिठो सम्झना’ निर्माण भएको हो, संगीतकार बी.बी. अनुरागीले भने । रत्यौली गीत रेडर्क गरिरहेको बेला स्टुडियोमा धेरैले तीज गीत भने, संगीतकार अनुरागीले ती दिन सम्झिँदै भने हामीले आफ्नो संस्कृति, चाडपर्व बिर्सिसकेका रहेछौं । त्यसैले तीजको मर्म सकेसम्म मर्न दिनुहुन्न भन्ने सोचमा मिठो सम्झना निर्माण गरेको छु, अनुरागीले भने ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार शान्तिप्रियले ‘मिठो सम्झना’को अडियो भिडियो सार्वजनिक गर्दै तीजका गीत सुन्दा तीजजस्तो लाग्न छाडेको बताए । बी.बी. अनुरागीको सांगीतिक परिवारले बजारमा ल्याएको ‘मिठो सम्झना’ मौलिकता बोकेको तीज गीत भएको बताउँदै शान्तिप्रियले भने – ‘तीजको मौलिकता हराएको देखिन्छ, रत्यौली, कमेडी बनाउँदै तीजका नाममा विभिन्न खाले गीतहरु बजारमा आएका छन् तर तीजकै गीतको भने खडेरी देखिन्छ ।’

कार्यक्रमलाई स्वागत गर्दै गायिका स्वरुपा रसाइलीले विगतका वर्षहरुमा जस्तै तीज गीत ‘मिठो सम्झना’ लिएर आएको हुँदा सबैले मन पराइदिने विश्वास व्यक्त गरिन् । गायिका रसाइलीले चेली र माइतीको दुःखसुख अभिव्यक्त गर्ने माध्यम भएको हुँदा तीज गीतले मौलिकता बोक्नुपर्ने बताइन् ।

 

मिठो सम्झनालाई विजयकुमार सुनारले लेखेका हुन् भने बीबी अनुरागीले संगीत भरेका छन् । संगीत संयोजनसमेत अनुरागीकै रहेको छ भने गीतमा लोकप्रिय गायिका स्वरुपा रसाइलीले स्वर दिएकी छन् । साथमा आमा पवित्रा रसाइलीले स्वरमा साथ दिएकी छन् । मिठो सम्झनाको म्यूजिक भिडियो शिव विकले निर्देशन गरेका छन् भने रविन्द्र बरालले छायाँकन गरेका छन् । रविन विकको सम्पादन रहेको मिठो सम्झनालाई ओपल अडियो भिडियोले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु