• Shanidhya Trophy
  • अमर स्रष्टा मास्टर मित्रसेन थापाको जीवनी

    म्यूजिक खवर
    प्रकाशित: ९ बैशाख २०७७, मंगलवार
    Master Mitrasen Thapa

    साङ्गीतिक इतिहास केलाउने हो भने मास्टर मित्रसेन त्यस्ता व्यक्ति थिए, जसले आजभन्दा एक सय वर्षअघि नेपाली गीत गाएर अत्यधिक चर्चा बटुलेका थिए । ‘त्यसबेला आधुनिक र परिष्कृत सङ्गीतको विकास भइसकेको थिएन, त्यसैले मित्रसेनका गीत सबैको मुखमा झुन्डिने लोकगीतजस्ता भएका थिए । ‘मित्रसेनको योगदान साँच्चै लोभलाग्दो भएको संगीतकर्मीहरु बताउने गर्छन् ।’

    ‘मलाई खुत्रुक्कै पा¥यो जेठान तिम्रो बहिनीले’, ‘लाहुरेको रेलीमाई फेसनै राम्रो’, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’, ‘किन गर्छौ तानातानी दुई दिनको छ जिन्दगानी’, ‘अब त जाऊँ कान्छी घर बाटो छ, उकाली–ओराली’, ‘नजाऊ छाडी विदेश’, ‘चुइँचुइँ चुइँकिने जुत्ता’ जस्ता झ्याउरे लयका गीत अजर र अमर बनेका छन् । त्यतिबेलै मास्टर मित्रसेनले ग्रामोफोनमा रेकर्ड गराएका यी गीत आजसम्म पनि सदावहार छन् ।
    मास्टर मित्रसेनको जन्मस्थानबारे लेखक र इतिहासकारबीच भिन्न मत हुने गरेको पाइन्छ । सन् १९९९ नोभेम्बर २० मा रु. १ को मास्टर मित्रसेन चित्र अङ्कित संस्मरणात्मक हुलाक टिकट प्रकाशित भयो । यसमा उल्लेख गरिएअनुसार उनको खास नाम मित्रसेन सिञ्जाली थापा मगर र जन्ममिति २९ डिसेम्बर १८९५ हो । भारतको हिमाञ्चल प्रदेशको काँगडास्थित भाग्सु छाउनी धारा खोलानेरको धर्मशालामा उनको जन्म भएको हो । नेपाल सरकारले हुलाक टिकट जारी गरेपछि भारत सरकारले पनि सन् २००१ अक्टोबर ९ मा रु. ४ को हुलाक टिकट प्रकाशनमा मात्र ल्याएन कि मित्रसेन मार्ग, मित्रसेन विद्यालयजस्ता भौतिक संरचनाको नामकरणसमेत गरेको थियो ।
    बुवा मानवीरसेन थापामगर र आमा राधा थापामगरको एउटै सन्तान थिए मित्रसेन । उनी जन्मँदा बाबु फस्र्ट गोरखा राइफल्समा हवल्दार थिए । पुख्र्यौली जन्मथलो बाग्लुङ जिल्लास्थित राखुपुल्ला (हाल ः पर्वत राखुखोला) हो । पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा गोर्खालीहरू रणकौशल र वीरतालाई अगाडि सार्दै सतलजसम्म पुगेका थिए । यो अभियानमा मित्रसेनका बाजे सुन्दर थापा मगर पनि बडाकाजी अमरसिंह थापासँग पश्चिमतिर लागेका थिए । मालकण्डामा घमासान युद्ध भयो । तर, युद्ध परिणाममुखी नभएको र सतलजपारिका राजा संसार चन्दको काँगडा किल्लामा गोर्खाली फौजलाई घेराबन्दीमा राखेर अतन्तः २४ अगस्ट १८०९ मा युद्ध सन्धिमा टुङ्गियो । स्थानीयवासीका अनुसार यही युद्धमा गएका केही गोर्खाली काँगडा किल्लाभन्दा माथिल्लो थुम्कामा रहेको धर्मशालामा गएर बसेका थिए । अहिले पनि धर्मशाला नजिक ‘थापा गाउँ’ रहेको छ । त्यसबखत मास्टर मित्रसेनका बाजे सुन्दर थापा मगर लगायत गोर्खाली जवान पनि त्यतै बसेको भनाइ छ । मित्रसेनको सन् १९११ मा आठ कक्षा पढ्दापढ्दै कलावती थापासँग बिहे भयो । बिहे भएको केही महिनापछि नै ‘गोर्खा राइफल्स’मा उनी जागिरे भए । सन् १९१४ को प्रथम विश्वयुद्धमा फ्रान्सको तर्पmबाट उनी मेसोपोटामियामा टर्कीको फौजविरुद्ध युद्धमा लडे । सन् १९२० मा भारत फर्केपछि २५ वर्षको उमेरमा उनले सैनिक सेवाबाट राजीनामा दिए ।
    काम नभएपछि सन् १९२१ मा साथी श्रीरङ्ग शर्माको सल्लाह र साझेदारीमा आफ्नै पल्टनमा उनले क्यान्टिन खोले । जीविकोपार्जनका लागि यो काममा लागिरहेको बेला सन् १९२२ मा मित्रसेनले ठूलो पीडा खेप्नुप¥यो । तीनजना छोराछोरी (काकु, लुरी र काला) को हैजाबाट मृत्यु भयो । वर्ष दिनपछि श्रीमती कलावतीको पनि मृत्यु भयो । परिवार बितेको दुःख र पीडाले विरक्तिएका मित्रसेनले क्यान्टिन चलाउन सकेनन् । अनि समाजमा जागरण ल्याउने उद्देश्यले गीत, सङ्गीत र गायनको साधनातिर उनी लागे ।
    मास्टर मित्रसेनले जति बेला एउटा फूलको कोपिलाझैँ स्वच्छ जीवन बाँच्न चाहे, त्यतिखेर उनको घरसंसारमा आगो लाग्न आँटेको थियो । उनी सेनाजस्तो कठोर जीवन छाडेर नौनीघ्यूजस्तो जिन्दगी बिताउन घरमा आउँदा त्यहाँ एउटा राक्षसी नियति पस्नपस्न आँटेको थियो । एउटा सुन्दर र शान्त पारिवारिक जीवन धान्न अनेक कसरत गरी सेनाबाट छुट्टिएर स्वर्ग जस्तो घर आउँदा त्यहाँ एक्कै चोटि उनको जीवन इँटाभट्टीको भतभत पोल्ने रापमा पसेसरि हुन आँटेको थियो । कुरा के हो भने( उनी सेनाबाट फर्केको चार वर्ष बित्तानबित्तै उनकी श्रीमती र तीनजना सन्तानलाई हैजाले लग्यो । त्यस क्रूर, पापी र अन्यायी घटनाले उनी रित्तो भए, उनी एक्लो भए र उनी परिवारविहीन भए । त्यतिबेला उनी धुरुधुरु रोए । त्यो अकल्पनीय घटनाले उनी आफ्नी बूढी आमा राधा थापाको काखमा टाउको राखेर डाँको छाडेर रुन्थे ।

    आमाछोरा मात्रको संसारले मित्रसेनको घर उज्यालो हुन सकेन । त्यस घडी घरमा आमा र छोरा मात्र धुम्धुम्ती बस्ने गर्थे । मित्रसेनले बैरागी जीवन भोगिरहेको बेहोरा उनका परिचितहरूका आँखाबाट पनि लुक्न सकेन । त्यसैले उनकी आमा र आफन्तहरूको ढिपी र करबलले मित्रसेनले फेरि ३० वर्षको उमेरमा बिहे गरे । त्यतिखेर उनकी पत्नी लाजवन्ती बीस वर्षकी थिइन् ।

    बिहे भएको दुई वर्षमा मित्रसेन र लाजवन्तीबाट एउटा छोरो जन्म्यो, उसको नाउँ दिग्विजयसेन थापा राखियो । छोरो जन्मेको केही वर्षपछि थापा फेरि गायन भ्रमणमा लागे । भ्रमणदलमा उनकी आमा, श्रीमती र छोरा हुन्थे । उनीहरू जहाँ गए पनि छुट्टिदैनथे । धेरै दिन, धेरै महिना र धेरै वर्ष गीत गाउँदै उनीहरू चारचौरास हिँडे । अन्ततः मित्रसेनको टोली नेपाली गीत गाएर आफ्नै घर हिमाञ्चल प्रदेशमा नै फर्क्यो ।

    घरमा पुगेपछि मित्रसेन फेरि तीन छक्क परे । किनभने त्यतिखेरसम्ममा उनको घरको छाना पनि झरामझुरुम भइसकेको थियो । वास्तवमा गीतको सुरमा उनले आफ्नो घरबारी नै बिर्सेका थिए ।
    मित्रसेन आफ्नो घर नै लथालिङ्ग भएको देखेर झनै दुखित भए । तर पनि छयासी वर्षीय बूढी आमा, चालीस वर्षीय तरुनी स्वास्नी र बीस वर्षीय जवान छोराको प्राण धान्नका लागि उनी दूध र सिध्रा बेच्न थाले । त्यो काम थालेको पन्ध्र दिन लाग्न नपाउँदै उनी स्वर्गीय भए ।

    मित्रसेन साहित्य र सङ्गीतलाई एउटा संस्थागत स्वरूप दिएर जनसहभागिता जुटाउन पनि क्रियाशील थिए । परिणामस्वरूप उनकै नेतृत्वमा ‘हिमालयन थियट्रिकल कम्पनी’को पनि स्थापना भयो । त्यस संस्थामा उनीद्वारा लिखित र निर्देशित धेरै नाटकहरू पनि प्ररदर्शन भए । यसै कम्पनी मार्फत उनले अनगिन्ती नेपाली गीतहरू पनि गाए । त्यसै बेलाको ख्याति पनि जोडिएर सबैले उनलाई मास्टर भन्न थाले । केही वर्षसम्म गीतसङ्गीतमा क्रियाशील भएपछि उनी नेपालीहरू भएका भारतका अन्य ठाउँमा पनि गए ।
    मित्रसेनले जुन दिन नेपाली माटोमा आफ्नो पाइला टेके त्यस दिन उनले सर्वप्रथम आफ्नो पितृभूमिको माटो टिपेर निधारमा टीका लगाए ।
    मित्रसेन झर्रो नेपाली बोल्थे, त्यस्तै गाउँथे र त्यस्तै लाउँथे । उनी साँच्चै पर्वतकै लाहुरेजस्तै थिए । नेपालमा आएर पनि उनी सांस्कृतिक मञ्चनमा लागे । उनले नाटक, गीत र सङ्गीतबाट नेपालीहरूलाई आफ्नै भावनामा बेर्न थाले । नेपालमा उनका प्रशंसकको त्यत्तिकै ताँती लाग्न थाल्यो ।
    नेपाली साहित्याकाशका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि मित्रसेनको साहित्य र सङ्गीतबाट आल्हादित भएका थिए ।

    मित्रसेनले नेपाली भेष, नेपाली भूषा र नेपाली भाषामा आफूलाई पूर्ण रूपमा समाहित गराए । नेपाल पसेदेखि उनले सधैँ दौरासुरुवाल र बिर्के टोपी मात्र लगाए । त्यसपछि भारत पस्ता पनि यही पोसाकमै उनको औपचारिक यात्रा प्रारम्भ हुन्थ्यो । उनको नेपालप्रतिको झुकाव देखेर हिमाञ्चल प्रदेशका बासिन्दा छक्क पर्थे । त्यहाँस्थित नेपाली टोपीहरू मित्रसेनबाट गदगद हुन्थे ।

    सन् १९३४ मा जातीय जागरण र लोकभाका गीतका पोका बोकेर भारतको बङ्गाल, आसाम र नेपालको पाल्पा हुँदै उनी काठमाडौँ आइपुगे । बहादुरसिंह बराललगायतका समूह लिएर आएको हुनाले त्यसताका ‘बराल मण्डली’ भन्ने गरिन्थ्यो । काठमाडौँमा पशुपतिनाथको दर्शनपश्चात् प्रधानमन्त्री जुद्ध शमशेरलाई खुसी पारी ६÷७ महिना काठमाडौँमै बसेर आफ्नो समूहको गायन, नाटक प्रदर्शन गर्ने अवसर पाए ।
    काठमाडौँ बसाइमा मास्टर रत्नदासप्रकाशसँग मास्टर मित्रसेन र बहादुरसिंह बरालको भेट भएको कुरा इतिहासमा उल्लेख छ । त्यसपछि ‘अब त जाऊँ कान्छी घर’, ‘नौतल्ले बाउन्न ढोका’ आदि गीतका डिस्क रेकर्ड गर्ने निधो गरेर उनी भारत फर्के । उनले सन् १९३६ मा तयार गरेका ‘बालभक्त धुव्र’ लाई पहिलो नेपाली रेडियो नाटक मानिन्छ ।
    मास्टर मित्रसेनको हालसम्ममा फेलापरेका कृतिमा ११ वटा खण्डकाव्य, ९७ वटा गीतमध्ये ३२ वटा ग्रामोफोन रेकर्ड भएका गीत, १४ वटा नेपाली, हिन्दी र उर्दूमिश्रित भाषाका नाटक, पाँँचवटा डिस्क रेकर्ड भएका नेपाली नाटक छन् । सन् १९३७ मा सिलाङबाट प्रकाशित भएको ‘गोर्खा सेवक’ पत्रिकामा पाँचवटा कथा, छ वटा निबन्धलगायत अन्य केही लामो लेख प्रकाशित छन् भने नेपालबाट प्रकाशित ‘शारदा’ पत्रिकामा समेत दुईवटा कविता प्रकाशित भएको पाइन्छ ।
    उनका अप्रकाशित दर्जनौँ कृति निवासस्थान ‘मित्र झुप्रो’ मा धमिराले नष्ट गरेको अवस्थामा फेलापरेका थिए । सन् १९४४ सेप्टेम्बरमा बराल मण्डलीसहित मित्रसेन अन्तिमपटक आमा, पत्नी र छोरासाथ पाल्पा आए । यसपटक मित्रसेन रिडीको कालीगण्डकीमा सपरिवार स्नान गरी भारतको नौतनवा फर्किने कार्यक्रम थियो । तर एक्कासि बिरामी परेको कारण फर्किन सकेनन् । नेपालबाट फर्किने बेलामा मित्रसेनको स्वस्थ्य प्रतिकूल बन्दै गयो । सन् १९४६ मार्चमा उनी धर्मशाला फर्के । २००२ सालमा नेपाली गीतसङ्गीतका एउटा वरिष्ठ संवाहक मास्टर मित्रसेन थापालाई हामीले गुमायौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु