• राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा राजसागर प्रथम, लक्ष्मी र सन्देश द्धितीय, ममता तृतीय

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

    काठमाडौँ । राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा गायनतर्फ भोजपुरका राजकुमार सुन्दास (राज सागर) प्रथम भएका छन् । यस्तै लक्ष्मी बि.क र सन्देश पौड्याल द्वितीय तथा ममता गुरुङ तृतीय स्थान ओगट्न सफल भए ।

    रेडियो नेपाल प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को ७२ औँ वार्षिक उत्सवको अवसरमा रेडियो नेपाल परिसर सिंहदरबारमा आयोजना गरिएको प्रतियोगितामा रमेश सुवेदी उत्कृष्ट सङ्गीतकार र महेश पौडेल उत्कृष्ट गीतकार घोषणाभए ।

    यसैगरी २६ जना प्रतियोगीमध्ये निर्मल दियाली, उत्तम बहादुर थापा, मधु विश्वकर्मा, कपिल सुनुवार, अम्बिका राई, अविशेक बराइली विश्वकर्मा, मेनुका आचार्य, करुणा गन्धर्व, सरोज परियार र उपेन्द्र लिम्बु उत्कृष्ट १० मा पर्न सफल भए ।

    रेडियो नेपालले वार्षिक उत्सवको पूर्व सन्ध्यामा हरेक बर्ष आधुनिक गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ६ वटा प्रदेशका २६ जना कलाकारको सहभागिता रहेको थियो ।

    वि.सं. २००७ साल चैत्र २० गते विधिवत् रुपमा स्थापना भएको रेडियो नेपालले यही चैत २० गते ७२ औँ स्थापना दिवस मनाउँदै छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु