• रोमान्टिक भावमा वर्षा र अमरको दमदार नृत्यमा चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २८ असार २०८१, बिहीबार

    काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। यो गीत इन्टरनेटमा ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।

    ’मोदीबेनी’को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ। एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।

    अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने। सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन्। गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्। नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे।

    “यो मेरो पहिलो प्रयास हो। मलाई यहाँहरूको साथको जरुरत छ। पछिल्लो समय नेपाली चलचित्रमा धेरै नयाँ अनुहारहरूको प्रवेश भइरहेको छ, त्यो मध्ये एक बनेको छु। कला सहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनी मार्फत डेब्यु गरेको छु,” अमरले भने, “म आम दर्शकको चाहना अनुसारको प्याकेज अभिनेता बन्न चाहन्छु। मेरो पहिलो फिल्ममा नै किरण थापा जस्तो कोरियोग्राफर पाउनु अहोभाग्य हो। को–एक्टरको रूपमा वर्षा सिवाकोटी जस्तो अनुभवी नायिकासँग अभिनय गर्न पाउँदा धेरै कुरा सिक्न पाएको छु। मलाई विश्वास गरेर आफ्नो पनि पहिलो फिल्म हुँदा हुँदै पनि मलाई डेब्यु गराउने निर्देशक शङ्कर कोइराला, पहिलो फिल्म बनाइरहेको समयमा पनि मलाई विश्वास गरेर लगानी गर्ने निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठलाई विशेष धन्यवाद दिन चाहन्छु।”

    अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र सुन्दर बनेको बताइन्। आफ्नो जोडीको रूपमा यस चलचित्रमा देखिने कलाकार अमरको कामको उनले तारिफ गरिन्। वर्षाले चलचित्रबाट आफूले निकै आशा बोकेको बताइन्। चलचित्रको बारेमा बोल्दै उनले भनिन्, “यो चलचित्रको टिम नयाँ भए पनि सशक्त छ। म यसको हिस्सा बन्न पाउँदा खुसी छु। चलचित्रले हाम्रै आफ्नो कथा भन्छ र यसमा विश्वासै नलाग्ने सामाजिक घटना देख्न सकिनेछ।” अभिनेता सरोज खनालले बिहानीले दिनको अवस्था दर्साउँछ भनेजस्तै यो गीतले चलचित्रको भविष्य देखाएको प्रतिक्रिया दिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु